ओडारी बन्धुद्वारा तीन विद्यार्थी सम्मानित

0
1450

सुरुङ्गा ।

ओडारी बन्धु सेवा समितिले झापाका ३ जना फरक क्षमता भएका विद्यार्थीलाई सम्मान गरेको छ ।
दिव्यश्वरा ओडारी (१९७१–२०४५) को ३२ औं स्मृति दिवसको अवसरमा शिवसताक्षी नगरपालिका–१० गैंडेस्थित दिव्यश्वरा धर्मशालामा आयोजित एक विशेष कार्यक्रममा ती विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा हल्दिवारी गाउँपालिका–१ गोलधाप निवासी सुरुङ्गास्थित कनकाई बुहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत दृष्टिविहीन विद्यार्थी अस्मिता शिवाकोटीलाई नगद २० हजारसहित सम्मान गरिएको थियो ।

त्यसै गरी, विर्तामोडस्थित मोहनमाया माविमा विशेष कक्षातर्फ कक्षा ४ मा अध्ययनरत सुस्तश्रवण तथा बहिरा छात्रा युनिशा स्याङ्बोलाई १५ हजार नगदसहित सम्मान गरिएको थियो भने शिवसताक्षी–४ स्थित सेभेनसिज पब्लिक इंग्लिस स्कूलमा कक्षा ८ मा अध्ययनरत एउटा खुट्टा नटेक्ने शारीरिक असक्षमता भएकी छात्रा प्रेरणा मगरलाई १० हजार नगदसहित सम्मान गरिएको थियो ।

उनीहरुलाई फरक क्षमता भए पनि साङ्गजतिकै अध्ययन यात्रालाई सहजतापूर्वक अघि बढाउन हौसला मिलोस् भनी नगदसहित सम्मान गरिएको ओडारी बन्धु सेवा समितिका सदस्य लक्ष्मीप्रसाद ओडारी (सुरुङ्गा) ले जानकारी दिए ।

झापाका चर्चित राजनीतिकर्मी समेत रहेका विर्तामोड निवासी स्व. दिव्यश्वराका सुपूत्र लक्ष्मीप्रसाद ओडारीले आफ्नी माताको स्मृतिमा स्थापित ५ लाख रुपैयाँको अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट उक्त पुरस्कार प्रदान गरिएको थियो ।

विशेष अवस्थालाई छोडेर आगामी वर्षहरुमा पनि समाजका कमजोर, दीनहीन र साँचो अर्थमा सहयोगको खाँचो रहेका प्रतिभालाई खोजी गरी पुरस्कार प्रदान गर्ने कार्यक्रमका संयोजक समेत रहेका अक्षयकोष दाता लक्ष्मीप्रसाद ओडारीले बताए । सो पुरस्कार तथा सम्मानपत्र अक्षयकोषदाताका दिदीहरु ९३ वर्षीय जानुका र ९१ वर्षीय सावित्राले प्रदान गरेका थिए ।

राजनीतिकर्मीहरु टेकनारायण राजवंशी र प्रजापति कोइराला, पूर्व प्रशासक पदम बराल, माईधार प्रहरी बिटका ईञ्चार्ज बिनोद कोइराला, समाजसेवी पूर्णप्रसाद प्रसाईं, मोहनमाया माविकी शिक्षक सृजना तिवारी लगायतको आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वार्ड नं. १० का वार्ड अध्यक्ष कर्णबहादुर थापा, विशिष्ट अतिथि साहित्यकार प्रेमप्रकाश फलाहारी, दुर्गा मावि गरामनीका शिक्षक खिलप्रसाद शिवाकोटी लगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले अक्षयकोषदाताले आफ्नी स्वर्गवासी आमाको स्मृतिमा उचित पात्र छनौट गरी पुरस्कारसहित सम्मान गरेकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा कृष्णमाया ओडारी, हरिमाया चिमरिया, ओडारी बन्धु सेवा समितिका कोषाध्यक्ष गंगाप्रसाद ओडारी, सम्मानित व्यक्तित्व अस्मिता शिवाकोटी लगायतले गीत तथा भजन प्रस्तुत गरेका थिए । ओडारी बन्धु सेवा समितिका अध्यक्ष श्रीप्रसाद ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा भीमप्रसाद ओडारीले स्वागत मन्तव्य राखेका थिए भने सचिव भरत ओडारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here