खाद्य अधिकार सुनिश्चित गर

0
839

आफू गर्न नसक्ने भएपछि जे उपलब्ध छ, त्यही उपयोग गर्नुपर्छ । अझ खाद्यवस्तु प्राणी मात्रका लागि अनिवार्य भएकाले पेट भर्नका लागि जस्तो पनि खानै पर्छ । ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’ नेपाली समाजमा चलेको यो उखानले पनि जाँगर नचलाउनेले राम्रो, मीठो छान्न र भन्न पाउँदैन भनेको छ । त्यही अवस्था छ अहिले नेपाली समाजमा, अझ बजार र शहरमा बस्नेहरुको मानसिकता जसरी होस (!) मीठो खाने भएको छ ।

त्यहीकारण बजारमा जे उपलब्ध छ, त्यसमै भरपर्नु पर्ने बाध्यता छ । स्वास्थ्यलाई सर्वोत्तम धन भनिन्छ । त्यसैले स्वस्थ रहन हावा, पानी र खानेकुारको शुद्धता र स्वच्छतामा सचेत रहनु पर्दछ । रोगका कारण तिनै भएकाले र मानव जाति प्राणी मध्येको सचेत रहेका कारण कस्तो सास लिँदैछ, कस्तो पानी पिउँदैछु र कस्तो खाना खाँदैछु भन्ने हेक्का राख्नु पर्दछ । तर, यो बेला शहर बजारमा बस्नेहरु ग्रामीण क्षेत्रका बासिन्दाको तुलनामा हावा, पानी र खानामा अशुद्धताको उपयोग गरिरहेका छन् । त्यसमा पनि ‘तिघ्रा नचलाउने’ अर्थात् परिश्रम नगर्ने, अल्छे र सुखभोगको लालसा मात्र बोक्ने भएका कारण सम्पूर्ण उपभोग्य वस्तु, गुणस्तरहीन, अस्वस्थकर र हानीकारक वस्तुको प्रयोग गर्ने ‘सुख लम्पट’ हुँदैछौं ।

स्वास्थ्यको ख्याल प्रत्येकले गर्नुपर्दछ । चेतना नपुगेको ठाउँ वा गाउँ कतै छ भने राज्यका तर्फबाट सचेतना प्रदान गर्नेदेखि वस्तुको उपलब्धतासम्म भूमिका देखिनु पर्दछ । हामी परावलम्वनको खाडलमा पुरिँदै जाँदा अत्यावश्यक वस्तु भारत लगायतका छिमेकी देशहरुबाट भित्रिँदैछन् । त्यसरी भित्रिएका वस्तुहरु मानव स्वास्थ्यका लागि हानीकारक रहेको तथ्यांकले परीक्षणको आधारमा सार्वजनिक पनि भयो । तर, सरकार जनताको अभिभावक भएर त्यस्ता हानीकारक खाद्यवस्तुको आयातलाई निरुत्साहित गर्दै आत्मनिर्भरउन्मुख जीवन पद्धति अंगिकार गराउनेतर्फ जिम्मेवारी देखिएको छैन ।

खाद्यवस्तुमा अत्यधिक मात्रामा विषादी प्रयोग भएको भन्दै परीक्षणपछि मात्र ल्याउनुपर्ने सरकारले निर्णय ग¥यो । त्यसैअनुसार सीमानाकामा खाद्यवस्तुको विषादी परीक्षण गर्न निर्देशन पनि भयो । झण्डै दुई साता आायत प्रभावित भयो तर परिणाम मूल्यवृद्धि, अभाव र हाहाकार बाहेक केही भएन । त्यही समय भारतीय पक्षको दवावमा परीक्षण कार्य फिर्ता भयो तर अदालतले बहस र छलफलपछि गुण परीक्षण पछि मात्र खाद्यवस्तु भित्र्याउन पाउने आदेश दियो । तर, त्यसको परिणाम नयाँ नाकाबाटै सागसब्जी, फलफूलको विषादी परीक्षण बिनै निर्वाध प्रवेश भइरहेको छ । फरक यति हो कि पुराना नााकाको सट्टा नयाँ नाका र पुरानाको सट्टा नयाँ माध्यमबाट ।

अर्थात् पूर्वीनाका काँकरभिट्टाको साटो यसबेला भद्रपुर नाका भएर विषादी परीक्षण नगरिएको खाद्यवस्तु निर्वाध प्रवेश भइरहेको छ । सर्वोच्च अदालतले दिएको आदेश विपरीत स–सानो परिमाणमा टुक्र्याएर त्यस्ता वस्तुले नेपाल प्रवेश पाइरहेका छन् । भद्रपुर नाका भएर भित्रिने यस्ता सागसब्जी, फलफूल सबै बजारमा बिक्रीवितरण भइरहेको छ जसका कारण हामी मन्द विष खाइरहेका छौं । त्यसैले संवेदनासँगै जोडिएका यस्ता वस्तुको आयातलाई नियन्त्रण गर्दै गुणस्तरीय खाना खान पाउने जनताको नैसर्गिक अधिकारको रक्षा गर्न राज्यले विशेष पहलकदमी गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here