मद्यपान त्याग, नत्यागे पद त्याग

0
990

दमक।

मद्यपान तथा धुम्रपान प्रयोग गर्नेहरु दमकमा मेलमिलापकर्ता हुन नसक्ने भन्दै त्यस्तो कुलत भएको भए त्याग्नलाई दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताएका छन् ।

वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी तथा सदस्यहरुका लागि भएको कार्यक्रममा बोल्दै नगर प्रमुख ओलीले मद्यपान गर्ने भए मेलमिलापकर्ताको पद त्याग्न निर्देशन दिँदै अब एक रोज्नुपर्ने बताए ।

‘दमक नगरपालिकाले स्थानीय समस्या स्थानीय स्तरमा नै समाधान गर्नका लागि मेलमिलाप समिति बनाएर त्यहाँ नमिलेका बिषयहरुमात्र दमक नगर न्यायिक समितिमा ल्याउन अभिप्रेरित गर्दै आएको छ । तपाईहरु नै मद्यपान गर्दै हुनुहुन्छ भने तपाईहरुले गरेको निर्णय न समाजले पत्याउँछ न त त्यो निर्णय सुझबुझका साथ भएको हुन्छ’ –ओलीले भने । उनले आफूमा परिवर्तन ल्याउन र गाउँ समाजले पत्याउने हुनका लागि अनुरोध गरे ।

प्रदेश नं. १ का प्रदेश सभा सदस्य अर्जुन राईले निर्णय लिँदा कसैको प्रभावमा र नातागोताको रुपमा नलिन आग्रह गरे । ‘यस विषयमा तपाईहरुलाई कतिसम्म थाहा छ, आफन्तको मुद्दा पर्यो भने त्यस्ता मेलमिलापकर्ता निर्णय गर्दा बस्नुहुन्न’ –राईले भने । उनले पनि मद्यपान गर्ने बानीलाई छाड्न आग्रह गरे । ‘आचरण सुधार गरेर समुदायमा सबैले पत्याउने बन्नुभयो भने मात्र विश्वास बढ्छ’ –उनले भने ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले मेलमिलापकर्ता एवम् मध्यस्थताकर्ताले कानूनी ज्ञान राख्नुपर्ने जनाउँदै पढ्ने र कानूनी ज्ञान सिक्ने कुरामा ध्यान नदिएको भन्दै यसमा ध्यान दिन आग्रह गरिन् । उनले नगरपालिकाले कानूनी पुस्तकालय नै स्थापना गरेको बताउँदै त्यहाँ आएर अध्ययन गर्न आग्रह गरिन् ।

जिम्मेवारी पाएपछि त्यसलाई पालना गर्न कानूनी ज्ञान आवश्यक पर्छ र त्यो सिक्न पढ्ने बानी बसाल्नुहोस्’ –अधिकारीले भनिन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले मेलमिलाप गर्ने बहानामा गम्भीर अपराधका बिषयहरुमा छलफल नगर्न आग्रह गरे । उनले कुनै पनि विवादको बिषयमा छलफल गर्नुपर्दा समस्या आएमा वा अन्योल सिर्जना भएमा आफूहरुसँग बुझेमा त्यसको सही बाटो सिकाउनका लागि सधैँ तयार रहेको बताए । ‘सबैको सहकार्यबाट मात्र मेलमिलाप र कानूनी राज्यको स्थापना हुन सक्छ’ –सुब्बाले भने ।

त्यस्तै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले मेलमिलापकर्ताको जिम्मेवारी गहन भएको बताउँदै यसलाई सामान्य रुपमा नलिन आग्रह गरे । स्थानीयस्तर तथा वार्डस्तरमा सरकार भएको अनुभूत गर्नका लागि यसको भूमिका पनि निर्भर रहने उनको भनाइ थियो । ‘कुनै पनि समस्याहरु पर्दा वार्डबाट नै मिल्दा रहेछन् र न्याय पाइँदो रहेछ भन्ने भयो भने स्थानीय सरकारप्रति विश्वास बढ्छ’ –उनले भने ।

कार्यक्रममा सहयोग पुर्याइरहेको यु.एन.एच.सि.आरका कार्यक्रम अधिकृत जेम्स मान्डोले स्थानीय सरकारसँग मिलेर आफूहरु मेलमिलापकर्ताको क्षमता विकासमा सहयोग गर्न सधैँ तयार रहेको र यसभन्दा अगाडि पनि सहयोग गर्दै आएको बताए । उनले आफूहरु स्थानीय सरकारसँग मिलेर यस क्षेत्रका जनताको सुखका लागि काम गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।

न्यायिक समिति दमकका सदस्य कमल श्रेष्ठका अनुसार तीन दिनसम्म सञ्चालन भएको पुर्नताजगी कार्यक्रममा ६० जनाभन्दा बढि मेलमिलाप तथा मध्यस्थकर्ताहरु सहभागिता रहेको थियो । वडामा निर्वाचित जनप्रतिनिधि संयोजक रहने गरी सामाजिक अगुवा तथा राजनीतिक प्रतिनिधिहरु मेलमिलाप समितिमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here