झापा गाउँपालिकामा शिक्षकलाई मासिकरुपमा तलब

0
1077

सुरुङ्गा।

झापा गाउँपालिकामा सामुदायिक विद्यालयमा कार्यरत् शिक्षकको तलब मासिकरुपमा प्रदान गर्न गाउँपालिकाले पहल शुरु गरेको छ ।

सामुदायिक विद्यालयका शिक्षकको तलबभत्ता चौमासिक रुपमा निकासा हुँदै आएकोमा झापा गाउँपालिकाले अब मासिक रुपमा प्रदान गर्ने तयारी गरेको हो । गाउँपालिकाले आफ्नो सामाजिक विकास सम्बन्धी नीतिमा सरकारी विद्यालयका शिक्षकलाई मासिक भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

निजामती कर्मचारीलाई मासिकरुपमा तलब भुक्तानी भए पनि शिक्षकले तलब पाउन लामो समय कुर्नुपर्ने बाध्यता थियो । समयमा तलब नपाउँदा कार्यसम्पादनमा पनि प्रभाव पर्दै आएको छ । झापा गाउँपालिकाले हालै सार्वजनिक गरेको आफ्नो चौथो गाउँसभाबाट पारित आ.व. २०७८÷०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा शिक्षा सम्बन्धी नीत पनि सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि कार्य सम्पादनमा आधारित अनुदान÷सहयोग प्रदान गर्ने, सामुदायिक विद्यालय लगायत यस क्षेत्रका सवै कार्यालयको गतिविधि अनुगमन गर्न प्रत्येक विद्यालय÷कार्यालयमा क्रमशः विद्युतीय हाजिरी तथा सीसीटीभीको व्यवस्था गरी गाउँपालिकाबाट अनुगमनको व्यवस्था गर्ने, समग्रमा गाउँपालिकाभित्रबाट सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक मावि लाई पुरस्कृत गर्ने नीति पारित गरिएको झापा गाउँपालिकाका शिक्षा अधिकृत खड्गप्रसाद खरेलले जानकारी दिए ।

सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई नगद र कदर–पत्रसहित पुरस्कृत तथा सम्मान गर्ने, मुस्लिम समुदायबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने छात्रालाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयहरूको पूर्वाधार निर्माणका लागि पहल गर्ने र खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको चौतर्फी विकासका लागि प्रतिष्पर्धात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गाउँपालिकाको पहलमा समेत गर्ने लगायतका नीतिहरु अघि सारिएको अधिकृत खरेलले बताए ।

साथै विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालयलाई पूर्ण सरसफाईयुक्त र वातावरणमैत्री स्वरुपमा रुपान्तरण गर्ने, सबै सामुदायिक विद्यालयमा कम्प्युटरहरूको प्रबन्ध गर्ने पहल गर्ने, गाउँपालिका क्षेत्रबाट कुनै विषयमा कसैले विद्यावारिधी गरेमा बढीमा त्यस्ता दुई जना शोधकर्तालाई जनही एक लाख सहयोग प्रदान गर्ने, गाउँपालिका क्षेत्रबाट कृषि÷पशुपालनसँग सम्बन्धित बिषय अध्ययन गर्न चाहने विपन्न, दलित, आदिवासी, जनजाति र सिमान्तकृत समुदायका विद्यार्थीलाई बढीमा १४ जनालाई मासिक एक हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्ने नीति अघि सारिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here