ट्राफिक प्रहरी र प्रशासन बेखबर, बिरामीले रोजेको अस्पताल पुग्न पाउँदैनन्

1
743

बिर्तामोड ।

बिलाशिताका साधन अधिकतम् उपभयोग गर्दै आएका जनप्रतिनिधिले स्थानीय तहबाट छुट्टै एम्बुलेन्स सेवा सञ्चालन गर्न सकेका छैनन् ।

स्थानीय तहले एम्बुलेन्स सेवा उपलव्ध गराउन नसकेपनि गाउँ–गाउँमा खुलेका सहकारीदेखि धार्मिक संघ–संस्थाले भने अहिले झापामा एम्वुलेन्स सेवा उपलब्ध गराउँदै आएका छन् ।  तर, यसरी सञ्चालन भएका एम्बुलेन्सको सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । किनकि एम्बुलेन्स चालकले नै बिरामीलाई आफू अनुकूलका अस्पतालमा बेच्ने गरेको स्थानीयको आरोप छ ।

बिरामीलाई अस्पताल पु¥याए वापत अस्पताल सञ्चालकले एम्बुलेन्स चालकलाई विरामीको अवस्था हेरेर पाँच सयदेखि दुई हजार रुपैयाँसम्म दिने गरेको एक एम्बुलेन्स चालकले बताए । उनले भने –‘सामान्य औषधि उपचार गरेर घर फर्किहाल्ने बिरामी छ भने एउटा विरामी अस्पताल पु¥याएको पाँच सय रुपैयाँ अस्पतालले दिने गरेको छ, यदि उसको अपरेशन नै गर्नु पर्ने भयो भने हामीलाई दुई हजार रुपैयाँसम्म अस्पतालले छुट्याउने गरेको छ ।’

स्रोत भन्छ – एम्बुलेन्स चालकले विरामीलाई एम्वुलेन्समा राखिसकेपछि आफू अनुकूलका अस्पतालमा पु¥याउने गरेका छन् । जसबाट उनीहरुले मासिक रुपमा राम्रो ‘इन्कम’ गर्ने गरेका छन् । बाह्रदशी गाउँपालिकाका एक विरामीका आफन्तले भने–एउटा अस्पताल लैजा भनेको एम्वुलेन्स चालकले अर्कै अस्पताल पु¥याए ।’ हामी आतेसमा थियौं –उनले भने–‘बीच बाटामा आएपछि त्यो अस्पतालमा त राम्रो डाक्टर छैनन् भन्दै उनले सोझैं यो अस्पतालमा ल्याए ।’
एम्बुलेन्स चालकले विरामीका आफन्तलाई बाट्बाटै आफू अनुकूलका अस्पतालमा बेच्दा रहेछन् –नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने –‘आतेसका बेला ड्राइभरले जे भनेपनि हुन्छ भनिँदो रहेछ पछि थाहा हुन्छ उसले त हामीलाई आफ्नै स्वार्थले पो यो अस्पताल ल्याएछ भन्ने कुरा ।’

बिर्तामोडस्थित एक अस्पतालमा आफ्ना श्रीमानको उपचारमा संलग्न महिला भन्छिन् – मेरा श्रीमान् सवारी दुर्घटनामा पर्नु भयो, एम्वुलेन्सले नै सोझै यही अस्पतालमा ल्यायो । उपचार गरेको पनि लामो समय भयो, अहिलेसम्म उहाँलाई ठीक भएको छैन । हामीले विरामीलाई सोझै शिलगढी लान खोजेका थियौं तर, एम्बुलेन्स चालकले यहाँ राम्रो उपचार हुन्छ भन्दै यो अस्पतालमा ल्याइदियो । न अहिले मेरा श्रीमान ठीक हुनु भयो न त पैसा नै रह्यो, इन्स्योरेन्सले समेत पैसा नदिँदा हामी त घरको न घाटको भयौं ।’

उनीमात्र होइन अधिकांश बिरामीका आफन्तको भनाइ यस्तै छ । कतिपय एम्बुलेन्स चालकले अस्पतालमा डाक्टर नभएको, त्यो अस्पतालमा अस्ती लफडा भएको, आदि इत्यादि भन्दै आफू अनुकूलका अस्पतालमा विरामीलाई पु¥याउने गरेको बताइएको छ ।

कतिपय एम्बुलेन्स चालकले भने मनोमानी रुपमा भाडा लिने गरेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले एम्बुलेन्स सञ्चालनको नियमन गर्नु पर्ने भएपनि प्रजिअले यसतर्फ ध्यान नदिँदा एम्बुलेन्सबाट बिरामी र बिरामीका आफन्त ठगिने क्रम रोकिएको छैन । अहिलेपनि सबैजसो एम्बुलेन्स विरामी कुरेर अस्पतालको मूल गेटमा बस्ने गरेका छन् । एम्बुलेन्सले अस्पताल परिसरमा विरामी कुरेर बस्नु निर्देशिका विपरीत हो । तर, प्रजिअ यो विषयमा वेखवर छन् । ‘जुन उद्देश्यले जुन ठाउँका लागि एम्बुलेन्स सञ्चालन गर्न भन्सार छुटमा ल्याइएको हो, झापामा सञ्चालित एम्बुलेन्सले त्यसोे गरेको छैन भन्ने गुनासो म कहाँपनि आएको छ’ –पूर्वाञ्चल दैनिकको प्रश्नमा प्रजिअ जनकराज दाहालले भने– अब एम्बुलेन्सको अनुगमन हुन्छ, त्यसका लागि नेपाल रेडक्रस सोसाइटी र जनस्वास्थ्यसंँग समन्वय गर्छु ।’

यता सरकारले एम्वुलेन्स सञ्चालन निर्देशिका २०७३ जारी गर्दै एम्बुलेन्सलाई ‘क’, ‘ख’ र ‘ग’ गरेर सुविधा अनुसार एम्बुलेन्सको श्रेणी तोकिएको छ । तर, सञ्चालनमा रहेका एम्बुलेन्समा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् ।

के–के हुनुपर्छ “क” वर्गको एम्बुलेन्समा ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको निर्देशका २०७३ मा ‘क’ वर्गको एम्बुलेन्समा हुनु पर्ने क्षमता, सुविधा र भूमिकालाई यसरी उल्लेख गरिएको छ ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा– ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँ—बायाँको भाग हरियो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीको हुनुपर्छ । यस्तै विदेशी सरकार वा दातृ निकायले सहयोगस्वरूप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई प्रदान गरेको एम्बुलेन्स ‘क’ अथवा ‘ख’ वर्गको हुनु पर्नेछ ।

यस्तै ‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण र जनशक्ति हुनुपर्दछ । ‘क’ वर्गको एम्बुलेन्समा चालकले स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिएको हुनु पर्दछ । यस्तै ब्लडप्रेसर चेक गर्ने मेसिन, स्टेथोस्कोप, टर्चलाइट, १८ महिना चिकित्सा सम्बन्धी तालिम लिएको कर्मचारी हुनुपर्ने छ ।

“ख” वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधाहरू

‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग पहेँलो, त्यसबाहेक देखिने भाग हरियो र रातो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्ने छ । सुविधाको हिसाबमा ‘ख’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण, जनशक्ति हुनुपर्दछ ।

“ग” वर्गमा हुनुपर्ने सुविधा

‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग हरियो, त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको हुनु पर्नेछ । तर आर्थिक वर्ष २०७३÷०७४ सम्म सञ्चालन अनुमति लिने ‘ग’ वर्गका एम्बुलेन्सको हकमा आर्थिक वर्ष ०७८÷०७९ सम्मको अवधिका लागि सेतो रङ्ग हुन सक्नेछ भनेर उल्लेख गरिएको छ ।

सेवाको हिसाबमा ‘ग’ वर्गको एम्बुलेन्समा प्राथमिक उपचारका औषधि साथै सामानहरू, अक्सिजन सिलिन्डर, आईभी इन्जेक्सन दिन सक्ने व्यवस्था, स्ट्रेचर, बिरामी बस्न मिल्ने बेड, बी.पी. चेक गर्ने मेसिन, टर्चलाइट, स्वास्थ्य सम्बन्धी बेसिक तालिम लिएको चालक र आकस्मिक कक्षको जस्तै औषधिको पनि व्यवस्था हुनुपर्छ ।

सबैको हकमा लागू हुने विषय

निर्देशिकाको पहिलो बुँदामा उल्लेख गरेअनुसार सबै एम्बुलेन्सका लागि न्यूनतम मापदण्ड तोकिएको छ । राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको, एम्बुलेन्सको पहिचान हुने गरी आवाज (साइरन), निलो रङ्गको सङ्केतको बत्ती जडान भएको, फोर ह्वील ड्राइभ, सस्पेन्सनको चेन सिस्टम भएको, एम्बुलेन्समा ‘एम्बुलेन्स’ शब्द वा संस्थाको टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्छ, एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी ‘वर्ग’ उल्लेख भएको हुनुपर्ने, वर्गीकरण बमोजिमका सामान तथा सुविधा अद्यावधिक भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

त्यस्तै एम्बुलेन्स एक हजार सी.सी.भन्दा बढी क्षमताको भएको हुनुपर्ने एम्बुलेन्स निलो रङ्गको अफ लाइन सङ्केत चिन्ह दाँया, बाँया र पछाडि तीनैतर्फ राखिएको हुनुपर्ने, एम्बुलेन्स चालकको पछाडिपट्टि कुनै पनि सिट नराखेको हुनुपर्ने, नेपाल सरकारबाट राजश्व छुट सुविधामा प्राप्त गरेको एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजश्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रष्ट देखिने गरी लेखिएको हुनुपर्छ ।

चालकले अनिवार्य तालिम लिनुपर्छ

निर्देशिका अनुसार एम्बुलेन्स चालकले पनि अनिवार्य स्वास्थ्यसम्बन्धी तालिम लिएको हुनुपर्छ । कुन रोगको बिरामी हो र उपचारका लागि कुन अस्पताल लैजानु पर्छ भन्ने बारेमा पनि चालकलाई जानकारी हुनुपर्छ । यस्तै एम्बुलेन्स चालक बन्नका लागि २५ वर्ष नाघेको तथा चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको ५ वर्ष भएको हुनुपर्छ । निर्देशिकाको पालना नगर्ने एम्बुलेन्सलाई चेतावनी दिने र आचारसंहिता पालना गर्न लगाउने भनिएको छ ।

यस्तै गैरकानूनी कार्य तथा आचार संहिता विपरीत एम्बुलेन्स सञ्चालन गरे दर्ता खारेजी गर्ने र कानून अनुसार कारवाही गर्ने निर्देशिकामा उल्लेख छ ।  तर, अहिलेसम्म झापामा कति एम्बुलेन्सले निर्देशिका विपरीत काम गरे र कतिलाई कारवाही भयो ? भन्ने न प्रमुख जिल्ला अधिकारीलाई थाहा छ न त स्वास्थ्य कार्यालयसँग नै तथ्याङ्क छ ।

नियमनकारी निकायले अनुगमन नगर्दा झापामा एम्वुलेन्स सञ्चालनमा वेथिति देखिएको सरोकारवालाले समेत बताउँदै आएका छन् ।

निर्देशिका हुँदैन कार्यान्वयन

निर्देशिका पालना नगर्ने एम्बुलेन्सलाई चेतावनी दिने र आचारसंहिता पालना गर्न लगाउने भनिएको छ । यस्तै गैरकानूनी कार्य तथा आचारसंहिता विपरीत एम्बुलेन्स सञ्चालन गरे दर्ता खारेजी गर्ने र कानूनअनुसार कारवाही गर्ने भनिएको छ ।तर, अहिलेसम्म झापामा नियम विपरीत एम्वुलेन्स सञ्चालन भएपनि एम्वुलेन्स चालकलाई कारवाही नभएको बताइएको छ ।

रमिते ट्राफिक

झापामा सञ्चालित अधिकांश एम्वुलेन्स नियम विपरीत सञ्चालन हुँदा समेत ट्राफिक प्रहरी भने रमिते जस्तै छ । गत वर्ष एम्वुलेन्सको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको थियो । कमल गाउँपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक्वुलेन्सको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि एम्बुलेन्स चालकले नै मृतकलाई झाडीमा फालेर एम्वुलेन्ससहित फरार भएका थिए ।

मादक पदार्थ सेवन गरेर सञ्चालन गर्ने सवारी साधनतर्फ मात्र ट्राफिक प्रहरीले ध्यान दिने गरेको छ । तर, एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको गुनासो बढेको छ । गत वर्ष पनि मादक पदार्थ सेवन गरेका चालकले पैदल यात्रीलाई ठक्कर दिएको बताइएको छ ।

उता गत वर्ष नै मादक पदार्थ सेवन गरेर एम्वुलेन्स चलाउने एक चालकलाई स्थानीयले नियन्त्रणमा लिँदै ट्राफिकलाई जिम्मा लगाएका थिए । कमल गाउँपालिकाको पाडाजुँगी चौकवाट स्थानीयले मादकपदार्थ सेवन गर्ने एम्वुलेन्स चालक र एम्वुलेन्सलाई ट्राफिक प्रहरीको जिम्मा लगाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले चेकजाँचलाई तीब्रता दिएका छैनन् । उनले बेलुका केहि घण्टा मापसे चेकजाँच गरेपनि अन्य समयमा भने कुनै ध्यान दिएका छैनन् ।

1 COMMENT

  1. यो नेपाल हो यहाँ यस्तै हुन्छ !! यहाँ कस्लाइ कस्को मतलब !!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here