पूर्वीनाकाबाट धमाधम अवैध सामान पक्राउ पर्दै

0
729

काँकरभिट्टा।

पछिल्लो समय पूर्वीनाकाबाट हुने चोरी निकासी पैठारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले निगरानी बढाएको छ ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य असुलीमा असफल भएपछि प्रहरी अवैधरुपमा हुने धन्दा नियन्त्रणमा लागीपरेको प्रहरी अधिकारीको भनाई छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाले लगत्तै प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले अवैध धन्दा पुरै शून्यमा झार्ने प्रतिबद्घता व्यक्त गरेका थिए । प्रहरी नायव उपरीक्षक कार्कीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेतृत्व सम्हालेको करिब दुई महिनाको अवधिमा १४ लाख रुपैयाँभन्दा बढीको अवैध सामान पक्राउ गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जानकारी दिए ।

मेचीनगर तथा आसपासका क्षेत्रबाट गएको असार ६ देखि साउन २२ गतेसम्म अवैधरुपमा आयात निर्यात गर्दै गर्दाको अवस्थामा कूल १४ लाख ३५ हजार ६ सय ७५ रुपैयाँ सरकारी प्रतिवेदन मूल्य अनुसारको सामान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी १६ असारमा एकैदिन तीन लाख एक हजार रुपैयाँ मूल्य बराबरको सामान पक्राउ गर्न सफल भएको छ ।

सबैभन्दा कम २२ साउनमा ४९ हजार दुई सय ५० रुपैयाँ मूल्य बराबरको सामान पक्राउ गरेको प्रहरी निरीक्षक सुभाष खनालले बताए । प्रहरीको तथ्याङ्क अनुसार ६ असारमा दुई लाख ९६ हजार तीन सय ८० रुपैयाँ, २६ असारमा ६० हजार ८० रुपैयाँ, ७ साउनमा ९५ हजार एक सय ८० रुपैयाँ, ८ साउनमा ५९ हजार एक सय १५ रुपैयाँ, १४ साउनमा ८० हजार छ सय रुपैयाँ, १७ साउनमा दुई लाख एक हजार नौ सय ७० रुपैयाँ, १९ साउनमा ९९ हजार सात सय ६० रुपैयाँ मूल्य बराबरको सामान पक्राउ गरेको थियो ।

सो अवधिमा सुपारी, लत्ताकपडा, मरिच, मटर, इलेक्ट्रोनिक्स सामान, जुत्ता चप्पल, खाद्यान्न सामग्री फलफूल लगायतका सामान पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार नगरको नकलबन्दा, बाहुनडाँगी, दुर्गा मन्दिर, ज्यामिरगढी, सतिघट्टा, भान्साखोला, कालीका बगान आसपास लगायतका क्षेत्रबाट साँझपख, बिहान र रातिको समयमा यसमा संलग्नले धन्दा चलाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here