विपक्षीको असन्तुष्टिका बीच अर्जुनधारा नागरपालिकाको बजेट सार्वजानिक

0
516

अमित खम्बु /अर्जुनधारा।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित नगरमा क्रियाशिल अन्य दलहरुको असन्तुष्टीकाबिच अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७को बजेट नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

नगरपालिकाले निर्धारण गरेको सम्पत्ती कर अव्यवहारिक भएको र तत्काल संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत् नेपाली काँग्रेससहित संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति र राष्ट्रिय जनमुक्ती पार्टीले उक्त कार्यक्रम बहिष्कार गरेको हो ।

नेपाली काँग्रेसकोतर्फबाट निर्वाचित तीन जना वडाध्यक्ष र सात जना नगर सभा सदस्यलाई पनि कार्यक्रममा सहभागी नहुन पार्टीबाट निर्देशन भएको पूर्वाञ्चलकर्मीसँगको फोन सम्पर्कमा एक वडाध्यक्षले बताए ।

यस अघि सम्पत्ती करको विषयमा गत साउन १९ गते नेपाली काँग्रेस नगर समितिले नगरपालिकाको सबै वडा कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको थियो । सम्पत्ती करको विषयमा पुनः नगरपालिकामा सबै दलकोतर्फबाट यही आइतबार ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राप्रपाका नगर अध्यक्ष छविलाल लम्सालले बताए ।

यता नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले सम्पत्ती करको विषयमा सामान्य प्राविद्यिक त्रुटी मात्र भएको हुँदा त्यसलाई सच्याउने बताइन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् संघीय सांसद् धर्मशिला चापागाईंले यस किसिमको बहिष्करणको कार्यले आगामी दिनमा नगरपालिकाको बजेट नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती हुने र नगरपालिकाको भविष्य अन्धकार हुने बताइन् । “समस्या भए छलफलबाट समाधान गर्नुपर्छ”–उनले भनिन् ।

अर्जुनधारा जलेश्वरधामको श्रवणहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आचार्यले पाँचौं नगरसभाबाट स्वीकृत एक अर्ब पाँच करोड ९० लाख ३९ हजार रुपैयाँ बराबरको बजेट नीति तथा कार्यक्रम उल्लेख प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रस्तावित बजेटमध्ये पूँजीगततर्फ ३४ करोड ३२ लाख रुपैयाँ र चालुतर्फ सात करोड ९० लाख विनियोजन गरेको छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकमहरुमध्ये आर्थिक विकासतर्फ दुई करोड ५० लाख, सामाजिक विकासतर्फ तीन करोड २० लाख, पूर्वाधार विकासतर्फ चार करोड ५० लाख, वन वातावरण तथा विपततर्फ एक करोड ४० लाख, सुशासन तथा संस्थागत विकासतर्फ एक करोड ८० लाख, नगर गौरवका योजनाहरु क्रमश खुदुनावारी आइतबारे बजार व्यवस्थापन तथा कृषि व्यापारीकरणमा ५० लाख, शनिश्चरे बजार सौन्दर्यीकरणतर्फ ५० लाख, वडागत योजनाहरुका लागि नौ करोड र अघिल्लो आर्थिक वर्षको दायित्व भुक्तानी गर्न आठ करोड ७२ लाख विनियोजन गरिएको छ ।

गत असार १० देखि २६ गतेसम्म सञ्चालन भएको नगर सभाले सार्वजनिक खरिद ऐन् २०६४, सडकहरुको नामांकन र सीमांकन, नदी नियन्त्रण तथा व्यवस्थापन, नगरपालिकाले बहालमा लगाएका घर, टहरा, पसल र जमिन, शनिश्चरे बजारको ठेक्का कर, यातायात सञ्चालन, करार नियुक्ति, सुरक्षा गार्डको नियुक्ति, पुराना घरहरुको नक्सा लगत कायम गर्ने, बजार व्यवस्थापन, कर्मचारी प्रोत्साहन र संगठन संरचना संशोधनलाई विशेष प्रस्तावकोरुपमा पारित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा संविधान सभा सदस्य भक्त खपाङ्गी, पूर्व सांसद् शेरबहादुर इङनाम, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रेमसागर सापकोटा, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चर्तुभूज काफ्ले, अर्जुनधारा जलेश्वरधामा व्यवस्थापन समितिका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन नगर कार्यपालिका सदस्य लोकनाथ गौतमले गरेका थिए । कार्यक्रम नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here