पर्यटकीय गन्तव्यमा झापा

0
1201

झापा।

झापाको कमल गाउँपालिकाले सिमसारमा आधारित पर्यापर्यटनलाई समृद्धिको आधारको रुपमा अघि सारेको छ ।

सरकारले ओझेलमा परेका १०० नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने सूचीमा छनौट गरेकोमा गाउँपालिकामा दुई योजना समेटिएसँगै आवश्यक कामको शुरुवात भएको छ ।

गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले्ेका अनुसार कमल –१ को बाँसबारी सिमसार पूर्वाधार पर्यटन केन्द्र र कमल –३ को बाल्मीकि आश्रम क्षेत्र छनौटमा परेका हुन् । यसबाहेक जिल्लाको बिर्तामोडस्थित शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटकीय क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र सरकारको पर्यटन प्रवद्र्धन सूचीमा समेटिएका छन् । दुई वटा सिमसारको पूर्वाधार विकासमा सङ्घीय सरकारले चालू आवमा रु. एक करोड विनियोजन गरेको छ । बाँसबारीको पोखरी र बाल्मीकि सिमसारको पूर्वाधारलगायत विकासका लागि रु. ५०÷५० लाख बजेट विनियोजन भएको जनाइएको छ ।

प्रदेश सरकारको रकमले बाल्मीकि सिमसारको बाँध निर्माण लगायतका आधारभूत काम गरिएको थियो । पूर्वपश्चिम महेन्द्र राजमार्गको सानो केर्खा सडकदेखि दुई किलोमिटर उत्तर जङ्गल क्षेत्रमा अवस्थित बाल्मीकि आश्रम पर्यटकीय गन्तव्य र सिमसार क्षेत्र रहेकाले त्यस क्षेत्रको विकास गर्न गाउँपालिकाले संरचना निर्माण तथा प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको उपाध्यक्ष बेणु शिवाकोटीले बताइन् ।

आश्रमको प्रवद्र्धनकै लागि गत वर्ष प्रजातन्त्र दिवसमा प्रदेशस्तरीय साहित्यिक भेला गरिएको थियो । यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्गको केर्खास्थित अमलडाँगी मार्गदेखि करीब सात किलोमिटर दक्षिणमा बाँसबारी सिमसार पर्यटकीयस्थल सजिलै पुग्न सकिन्छ । वडा नं १ का अध्यक्ष केदार कटुवालका अनुसार बाँसबारी पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले यसअघि रु. १२ लाख खर्चिएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । करीब साढे तीन बिगाह क्षेत्रफलमा फैलिएको पोखरीमार्फत पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक पर्यटनलाई जोड्ने योजना छ ।

होमस्टेका लागि सन्थाल संस्कृति झल्कने घरहरु निर्माण गरिने छ भने उनीहरुको जीवनशैली झल्कने सामग्री र सांस्कृतिक नृत्य अवलोकनको व्यवस्था गरिनेछ । यो सँगै भ्युटावर, पिकनिक स्पट निर्माणका साथै डुङ्गा शयर, विज्ञान पार्कलगायतका संरचना स्थापना गरिने योजनाको कूल लागत अनुमान रु. १७ करोडको रहेको छ । गत आवमा समेत झापाको बाँसबारी सिमसारका लागि रु. ५० लाख विनियोजन भएको थियो ।

कमल–५ मा रहेको साधुहोली क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्राथमिक चरणका काम भइरहेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here