पक्राउ परेका किशोरहरुलाई मनोसामाजिक परामर्श

0
531

दमक।

झापाको दमकमा दुई साताअघि भएको समूहगत भिडन्तमा परी एकजनाको ज्यान गएपछि पक्राउ परेका किशोरहरुलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

गत साउन ८ गते बुधबार साँझ झगडा हुँदा एक युवाको ज्यान गएपछि प्रहरीले यसमा संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ गरेकोमा एकजना बाहेक सबै १८ बर्षभन्दा कम उमेरका रहेको इलाका प्रहरी कार्यालय दमकका प्रम्ुख श्यामले सुब्बाले बताए ।

मुख्य अभियुक्त भनिएका व्यक्ति नै कक्षा ८ मा अध्ययनरत् १२ बर्षीय बालक रहेको पनि सुब्बाले बताए । ‘११ जना सबै कम उमेरका रहेका छन् र एक जनामात्र २० बर्षको पाइएको छ’ –सुब्बाले भने । उनीहरुलाई अन्य अभियुक्तसँगै हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि बताइएको छ ।

बालबालिकाहरुलाई बेग्लै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेमा त्यो अवस्था नरहेको जनाइएको छ । ‘बेग्लै राख्ने अवस्था नै छैन र सम्भव छैन, सकेसम्म बालबालिकामैत्री व्यवहार र अनुसन्धान गरिरहेका छौं’ –उनले भने । अपराधमा बालबालिकाहरु कसरी पुग्दा रहेछन् भनेर सुक्ष्म अध्ययन पनि भइरहेको उनले बताए ।

दमकको वडा नम्बर १ दुर्गामन्दिर पछाडि भृकुटी टोलमा २५ जनाभन्दा बढीको समूहमा भेला भएका युवाबीच झगडा भएको थियो । धारिलो हतियार प्रहारबाट दमक वडा नम्बर २ का १९ बर्षीय विक्रम लिम्बूको मृत्यु भएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेर झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । घटनामा गम्भीर घाइते दमक– २ का बिक्रम भण्डारी र दमक– ३ का सुजन भुजेलको उपचार भइरहेको छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको पहलमा युएनएचसीआरको प्राविधिक सहयोगमा हिरासतमा रहेका उनीहरुलाई मनोसामाजिक परामर्श प्रदान गरिएको र उनीहरुको मनोसामाजिक प्रवृत्तिको बिषयमा सूक्ष्मरुपमा बुझ्ने काम भएको बताइएको छ । मनोसामाजिक परमर्शदाता बिमल आचार्यसहितको टोलीले दुई दिनसम्म उनीहरुको मनोभावानालाई बुझेको थियो ।

दमक नगरपालिका उपप्रमुख अधिकारीका अनुसार आफूले गएर पक्राउ परेकाहरुसँग लामो समय कुरा गरेको जनाइन् । ‘उनीहरुलाई मनोसामाजिक परामर्श आवश्यक रहेको भन्ने महशुस भयो र यसका लागि पहल गरेको हुँ’ –उनले भनिन् । ‘सबै स्कुल पढ्ने साना बिद्यार्थीहरु भएकाले उनीहरुको भविष्यको विषयमा गम्भीर हुनुपर्ने अवस्था देखिएको छ’ –उनले भनिन् ।

१२ जनामध्ये पाँच जनाले चुरोट खाने गरेको, चार जनाले लागूऔषधको रुपमा लठ्याउने किसिमको औषधि खाने गरेको पाइएको पनि अधिकारीले बताइन् । ‘उनीहरु आवेग र उत्तेजनामा कसरी आएर यस्तो कार्य गर्छन् भन्ने लागेर बुझ्दा यस्तो पाइएको छ’ –अधिकारीले भनिन् । अहिले विद्यालय जाने उमेरका धेरै बालबालिका लागूऔषधको कुलतमा रहेको र त्यसले अपराध बढेको महशुस भएको पनि उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here