पाँचथरका पहिराबाट विस्थापित भएका परिवारको लागि एकीकृत बस्ती निर्माण गरिने

0
699

फिदिम,

पाँचथरको याङवरक गाउँपालिका–२ का पहिराबाट विस्थापित भएका परिवारको स्थायी पुनस्र्थापनाका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया शुरु भएको छ ।

गत असार १० गते गएको पहिराबाट विस्थापित भएका याङवरक गाउँपालिका–२ चिङ्मा र सेपी बस्तीमा १७ परिवारका लागि एकीकृत बस्ती निर्माण गरिने भएको हो । याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी एकीकृत बस्ती निर्माण कार्य चाँडै थालनी हुने जानकारी दिनुभयो ।

एकीकृत बस्ती निर्माणका लागि गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलको संयोजकत्वमा जग्गा खोजी समिति बनाएको छ । उक्त समितिले खोजी गरी सिफारिस गरेकामध्ये उपयुक्त स्थानमा एकीकृत बस्ती निर्माण कार्य शुरु हुने गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । जग्गा खोजी समितिले गाउँपालिका–१ को च्याङथापु बजारको ठीक माथि रहेको साँगाडाँडा वा वडा नं २ को नारायणी मावि वेतेनीको माथिल्लो पट्टि रहेको खाली जग्गामा एकीकृत बस्ती निर्माणका लागि जग्गा लिन पहल थालेको छ ।

समितिका संयोजक ढुङ्गेलले वेतेनीमा उपयुक्त जग्गा भेटिएको र जग्गाधनीसँग कुराकानी भइरहेको जानकारी दिनुभयो । “आधा जग्गा चलनचल्तीको मूल्यमा खरीद गर्ने र बाँकी जग्गा दान माग्ने प्रस्ताव अघि बढाएका छौँ”, वडाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “यहाँ बस्ती बसाउन सकियो भने चिङ्मामा जग्गा जमीन हुनेहरुलाई खेती लगाउनसमेत नजीक पर्छ ।”गाउँपालिका अध्यक्ष घिमिरेले वेतेनीमा १३ रोपनी जग्गा भेटिएको र सोही जग्गामा आकर्षक एकीकृत बस्ती निर्माणको प्रयत्न थालिएको बताउनुभयो ।

“जग्गाको प्रबन्ध गरेर प्रदेश र सङ्घीय सरकारलाई एकीकृत बस्ती निर्माणका लागि सहयोग गर्न आग्रह गर्छौं”, अध्यक्ष घिमिरेले भन्नुभयो, “चाँडै एकीकृत बस्ती निर्माण कार्य शुरु हुन्छ ।” पहिराबाट विस्थापित परिवारले सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणका लागि प्रजिअमार्फत पुनस्र्थापनाको मागसमेत गरिसकेका छन् ।

पहिराका कारण विस्थापित साबिक फलैँचा गाविस चिङ्मा र सेपी बस्तीका १७ परिवारका ४१ जना अहिले अस्थायी टहरामा दैनिकी गुजारिरहेका छन् । गत असार १० गते राति गएको पहिराका कारण घरमा बस्न सक्ने अवस्था नभएपछि उनीहरु चिङ्मा बस्तीभन्दा माथि जङ्गलको बीचमा रहेको समथर ठाउँमा त्रिपालमुनि बसोबास गर्दै आएका छन् ।

जिल्लाकै दुर्गम मानिएको यो बस्तीमा जताततै पहिरा गएपछि स्थानीयवासीले घर छोडेका थिए । विस्थापित भई टहरामा बस्दै आएका चन्द्रबहादुर राईले बस्तीमा फर्कन सक्ने अवस्था नरहेकाले तत्काल वैकल्पिक व्यवस्था गर्न आफूहरुले माग गर्दै आएको बताउनुभयो ।

उक्त स्थानमा बसिरहन समस्या रहेको तर तत्कालै अन्यत्र सार्न सकिने अवस्थासमेत नहुँदा आफूहरुले स्थानीयवासीलाई आश्वस्त पार्नसमेत नसकेको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राईको भनाइ छ । “तत्कालै अन्यत्र सार्न सकिने अवस्था छैन । यहाँ रहिरहँदा झनै समस्या आउँछ । हिँउद लाग्दैछ । चिसो बढिरहेको छ”, राईले भन्नुभयो, “त्रिपालमुनि बच्चा र वृद्धवृद्धालाई राख्दा अझै समस्या बढ्ला भन्ने पीर छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here