काण्डै काण्डमा प्रहरी

0
585

 

 

बिर्तामोड,
सात महिना अघि झापाको भद्रपुर – ९ मा रहेको मनषा सिमेन्ट उद्योगमा कार्यरत एक कर्मचारीको हत्या भयो । पर्शुराम अग्रवालले सञ्चालन गरेको सो उद्योगका म्यानेजन भारत घर भएका कमल दुगडको हत्या भएको यतिका समय बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।

हात खुट्टा बाँधिएको अवस्थामा दुगडको शव फेला परेपछि नेपाल प्रहरीले अनुसन्धानका लागि कुकुर शाखा धरानबाट समेत तालिम प्राप्त कुकुर ल्याएर हत्यारा पत्ता लगाउन प्रयार ग¥यो तर प्रहरीको प्रयास निरर्थक सावित भयो ।

२०७५ साउनमा झापा कारागारमा रहेका एक कैदी फरार भए । फरार कैदीलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । गौरादह नगरपालिका – ८ का २४ वर्षीय उमेश माझी कारागारमा विजुली मर्मतको काम गर्दै आएका थिए । १४ वर्षीया वालिका करणीको आरोपमा जेल परेका उनी विजुली मर्मतकै क्रममा दिउँसै फरार हुँदा समेत प्रहरीले सुइकोसम्म पाएन । उनी फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार वस्नेतको नेतृत्वमा छानविन समिति बन्यो तर, सो समिति समितिमै सिमित बन्न पुग्यो ।

कारागारको सुरक्षार्थ खटिएका एक प्रहरीले १४ साउण्ड गोली सहित इटलियन पेस्तोल नै हराउँदा समेत अहिले झापा प्रहरी मौन छ । कारागारको नेतृत्व सम्हालेका प्रहरी नायव निरीक्षक नरेश आचार्य विदामा रहेका बेला हतियार हराएको हो । आचार्य विदामा रहेका वेला प्रहरी सहायक निरीक्षक ंहिरण सिंलाई कारागारको नेतृत्व प्रदान गरिएको थियो । तर, उनकै नेतृत्वमा रहेको प्रहरीले हतियार हराउँदा समेत प्रशासन मौन छ ।

कारागार सुरक्षार्थ खटिएको प्रहरीले हतियार हराएपछि प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनाइएपनि सो समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

गत असोजमा इलाका प्रहरी कार्यालय अनारमनीको दुई सय मिटर परिसर भित्रै एक गहना पसलमा पेस्तोल देखाएर दिउँसो ३ बजे लुटपाट भयो । लुटपाटमा सम्लग्न सीसी क्यामेराको निगरानीमा परे । तर, गहना पसल लुट्ने लुटेरा अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । यो संगै बिर्तामोडमा रहेको एनएमवी बैंकबाट १७ लाख रुपैयाँ दिउँसै लुटियो । गत कात्तिक ११ गते दिउसो ताप्लेजुङ्ग याम्फुदिन १ का शेरवहादुर गुरुङले वैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा १६ लाख ९९ हजार रुपैयाँ सहितको झोला लिएर लुटेरा समूह फरार भयो । त्यसको समेत अहिलेसम्म प्रहरीले अत्तोपत्तो लगाउन सकेको छैन । रकम लुटेर भाग्ने व्यक्ति सीसी क्यामेराको फुटेजमा देखिन्छ तर, प्रहरीले अहिलेसम्म लुटपाटमा सम्लग्नलाई फक्राउ गर्न असफल हुनुले झापामा सुरक्षा चुनौति बढेको प्रष्ट हुन्छ ।

एक पछि अर्काे गर्दै लुटेरा समूहले वैंक तथा वित्तीय संस्था लुट्दा समेत प्रहरीले सुरक्षा रणनीति परिर्वतन नगर्दा झापाको घैलाडुब्बामा रहेको नेपाल वहुउद्देश्सीय सहकारी संस्थाबाट पनि गत असार महिनामा मात्रै १८ लाख ८० हजार रुपैयाँ चोरी भयो ।

एनएमसीको सेफ नै तोडेर दुई व्यक्तिले रकम चोरी गरेको सीसी क्यामेरामा देखिएपनि चोरीमा सम्लग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

यता गत असारमै बिर्तामोडस्थित अतिथि सदन नजिकैबाट एक वालिका अपहरणमा परिन् । अपहरणकारीले ८ वर्षीया वालिकालाई सीटी सफारिमा अपहरण गरी लगे । वालिकालाई अपहरण गर्दाको सीसी क्यामेराको फुटेज अनुसार विनायक होटल नजिकैबाट ती वालिकालाई पश्चिम वर्सपार्क तर्फ लाँदै गरेको दृष्य प्रष्ट देखिन्छ । तर, अपहरणमा सम्लग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बालिका भने अपहरणकारीको पञ्जाबाट फुत्किएर घर फर्किएकी छिन् ।

झापामा घटेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । एक पछि अर्काे गर्दै झापामा अपराधका घटना दिनहुँ घटिरहेपनि जिल्ला प्रहरी कार्यालय झापा भने शान्ति सुरक्षामा भन्दा कमाउ धन्दामा लागेको बताइएको छ । प्रहरी स्रोत भन्छ– जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले तस्करसंग साठगाठ गर्दै लाइन मिलाउने काम गरिरहेका छन् । उनले प्रहरी चौकीदेखि तस्करबाट समेत अवैध असुली गरिरहेका छन् ।

तस्करीको संरक्षण गर्दै आएको झापा प्रहरीकै कारण कालोपत्रे गरिएको सडक रुङ्न झापा गाउँपालिकाले कर्मचारीकै व्यवस्थापन नै गर्नु प¥यो । झापा गाउँपालिका अध्यक्ष जयनारायण साह भन्छन्– गाई गोरु तस्करीमा सम्लग्नले कालोपत्रे गरिएको आलो सडक प्रयोग गर्दै गाई गोरु भारत निकासी गर्दा सडक भत्किएर हेरिसक्नु भएपछि सडक रुङ्न कर्मचारी राखेका हौं ।

अहिले दक्षिणी झापाको गौरीगञ्जदेखि कुमरखोद, घेरावारी, केचना नाका र पूर्वाेत्तर झापाको तिरिङ प्रहरी चौकी नजिकैबाट खुलेआम प्रहरीकै संरक्षणमा गाई गोरु तस्करी भइरहेको छ । यो संगै कपडा, हार्डवेरका सामान, मोटरपाट्र्स,फरेन गुड्स खुलेआम भित्रिरहेको छ । पूर्वी नाका काँरकरभिट्टा भन्सारले आर्थिक वर्ष २०७५÷०७६ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेपछि भन्सारमा कडाई गरेसंगै भद्रपुर भन्सार, केचना, घेरावारी, टाघनडुब्बा,कुमरखोल,गौरीगञ्ज लगायतका स्थान खुलेआम कपडा, हार्डवेरका सामान, मोटरपाट्र्स,फरेन गुड्स लगायतका सामग्री भित्रिरहेको छ । जसबाट प्रहरीले मोटो रकम असुल्ने गरेको प्रहरी स्रोतको दावी छ ।

उता मेची र तिरिङ नदीमा नदी जन्य सामग्री उत्खनन् गर्दा प्रहरी चौकी तिरिङले मासिक ८० हजार रुपैयाँ असुल गरिरहेको छ । उक्त रकम जिल्ला प्रहरी कार्यालय झापालाई समेत बुझाउनु पर्ने एक प्रहरीले बताएका छन् ।

यता विशेष परिस्थितिमा वाहेक घुमुवा प्रहरी राख्न नपाईने प्रहरी ऐनमा नै व्यवस्था छ । तर, जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी एने विपरत घुमुवा प्रहरी राखेको छ । झापामा रहेका घुमुवा प्रहरीले अहिले अबैध असुली गरिरहेका छन् । होटलदेखि तस्करसम्म खुलेआम अवैध रकम असुल्दा समेत रमिते बनेको जिल्ला प्रहरी कार्यालय झापाले भने अपराध नियन्त्रणमा उल्लेख्य सफलता मिलेको बताउँदै आएको छ ।

जिल्ला प्रहरी प्रमुख दीनेशराज मैनालीले झापा प्रहरीले पछिल्लो समय अपराध नियन्त्रणमा ठूलो फड्को मारोको र आचरण विपरीत काम गर्ने प्रहरीलाई समेत कारवाहीमा परेको बताएका छन् । तर, उनकै संरक्षणमा तस्करी हुँदा कतिपयले नाङ्लो ठटाएर हात्ती तर्छाएको शंज्ञा दिदै आएका छन् ।

यता नेत्र विक्रम चन्द विप्लव समूहले पनि झापामा श्रृङ्खलाबद्ध वम विष्फोट गराउनुले पनि झापामा झापामा सुरक्षा चाुनौति बढेको प्रष्ट हुन्छ । पछिल्लो समय बितामोड नगरपालिका – ७,८र९को संयुक्त वडा कार्यालयमा वम विष्फोट गराउने विप्लव नेतृत्वको नेकपा समूहको सुइकोसम्म नपाउनुले झापा प्रहरीको कार्यसम्पादन माथि नै प्रश्न उठेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here