होटलबाट सम्धी–सम्धिनी पक्राउ

0
869

विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलबाट छापा मारेर पक्राउ गरेको २७ जोडी र दुईजना होटल सञ्चालकलाई सेचत गराएर छोडेको छ ।

अनैतिक क्रियाकलापहरू बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले शुक्रबार दिउँसो प्रदेश १ को राजधानी रहेको शहर विराटनगरका होटल र लजहरूमा छापा मारेको थियो । चेकजाँच गर्ने क्रममा शङ्कास्पद रूपमा बसेका २७ महिला र २९ पुरूष गरी ५६ जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका जोडीलाई पहिलो पटक सचेत गराई छाडिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये केही जोडी नातामा आफन्त पर्ने पनि रहेको पाएपछि अनुसन्धान गर्दै जाँदा प्रहरी पनि चकित भयो । प्रहरीले अनुसन्धानका क्रममा एक जोडी नातामा सम्धी–सम्धिनी रहेको फेला पारेको थियो ।

प्रहरी स्रोतका अनुसार उनीहरू नोबेल अस्पतालअगाडिको होटल एण्ड लजबाट पक्राउ परेका थिए । उनीहरूसहित २६ जनालाई सचेत गराए शनिबार छोडिएको थियो ।

त्यस्तै प्रहरीले नियन्त्रणमा लिएको एक जोडी कलेज ड्रेसमा पनि रहेका थिए । उनीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ । त्यस्तै धरानका एक युवाले काठमाडौंदेखि एक किशोरीलाई आवत–जावत हुने गरी हवाईजहाजको टिकट काटेर विराटनगर ल्याएका थिए । प्रहरीले नियन्त्रणमा लिएको ती युवा विवाहित थिए भने किशोरी अविवाहित थिइन् । उनीहरूलाई पनि प्रहरीले सचेत गराएर छोडेको छ ।

अनैतिक क्रियाकलाप बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले लामो समयपछि विराटनगरका होटल र लजहरूमा एकै दिन छापा मारेको हो । सादा पोसाकमा प्रहरी परिचालन गरी छापा मार्दा ठूलो सङ्ख्यामा जोडी पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये दुई जना होटल सञ्चालक पनि थिए । उनीहरूले होटलमा आउने ग्राहकको सम्पर्क नम्बर नराखेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

तर फोन नम्बर नराखे पनि होटलमा आउने ग्राहकको नाम र ठेगाना राखेको पाइएपछि उनीहरूलाई शनिबार सचेत गराएर छोडिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेश राजधानी भएको शहरका विभिन्न होटल तथा लजमा विकृति हुने गरेको जनगुनासो बढेपछि प्रहरीले बसपार्क, नोबेल मेडिकल शिक्षण अस्पताल, विराट अस्पताल, लाइफलाइन अस्पताल क्षेत्रमा अवस्थित होटल तथा लजमा छापा मारेर २७ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

http://www.blastkhabar.com/news/2019/08/19/107779.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here