स्व. टुङ्गबहादुर बस्नेत व्यक्ति एक व्यक्तित्व अनेक

0
670

प्रा.डा. रेश बस्नेत,

वि.सं. १९८० भाद्र ११ देखि इलाम सांखेजुङ्गबाट शुरु भएको जीवनयात्रा अनेक दुःख–सुख भोग्दै तथा धेरै घुम्ती र मोडहरु पार गर्दै अन्तत ९६ वर्षको उमेरमा गत श्रावण २४ गते मध्यरातमा झापामा टुङ्गियो । स्व. पिता धनराज र माता धनमायाको कोखबाट कनिष्ट पुत्र रत्नका रुपमा जन्म लिएका युगपुरुष, कर्मठ योद्धा मेरा कान्छा बुबा स्व. टुङ्गबहादुर बस्नेतको बात्सल्यताबाट हुर्किँदै गर्दा धेरै थाहा पाएका वहाँका जीवनगाथाका धेरै आयामहरुबारे यहाँ वर्णन् गर्न स्थान अभाव होला भन्ने डरले सम्झना केही शब्दहरु मात्र पोख्न खोज्दैछु ।

हामी सबै ठूलाघर भन्थ्यौं हाम्रो पूख्र्यौली घरलाई– सांखेजुङ्गमा । जहाँ परिवारको सधैं जमघट भइरहन्थ्यो । पिताजीहरु आफ्ना पिता धनराज बस्नेतका सामिप्यमा बसेर समसामयिक राजनीतिक घटना, पारिवारिक तथा व्यवसायिक कामका बारेमा चर्चा गरिरहेको सुनिन्थ्यो । राम्रो एकता थियो उहाँहरुबीच । आफ्ना पिताजीसँगको बसाईको कारण संरक्षकत्व प्राप्त थियो विशेष रुपमा कान्छा बुबालाई । पिताजीको जग्गा जमिन खेती र व्यापार व्यवसाय झापादेखि पाँचथरसम्मै विस्तार भएको थियो । ती सब व्यवसाय सञ्चालन गर्ने काइदा पिताजी र अग्रज दाजुहरुबाट प्राप्त भएको थियो उहाँलाई । स्वर्गीय दाजुहरु जगत, लक्ष्मण, खम्म र रत्न उमेरले निकै माथि भएकोले साथ सहयोग थियो । अशिम प्रेम थियो उहाँमाथि । पुख्र्यौली सम्पत्तिको भागभण्डा हुनुपूर्व जेठा दाई जगत– वि.सं. १९८० देखि (९६ वर्षअघि) झापाको जग्गा जमिनको कारोबारमा संलग्न हुनुहुन्थ्यो । त्यतिबेला कान्छा बुबा जन्मदै हुनुहुन्थ्यो जस्तो लाग्छ । उहाँ लगायत अन्य दाजु तथा भतिजहरु मदन गंगा, इलाम लगायत पाँचथरसम्म कृषि, भेडा, घोडा पालन र पसल व्यवसायमा संलग्न हुनुहुन्थ्यो ।

सानो उमेर छँदै सबै दाजुभाइ–दिदीबहिनीहरुले गुरुद्वारा पुख्र्यौली थलो चमैता गाउँको गुरुकूल पाठशालामा गुरु ब्रह्मलालबाट शिक्षादिक्षा लिनुभएको थियो । गीता, रामायण, महाभारत, चण्डीजस्ता ज्ञानपयोगी पुस्तकहरुको अध्ययन राम्रोसँग गर्नुभएको थियो । ती पुस्तकका बारेमा खुलेर अर्थ लगाउनुहुन्थ्यो उहाँहरुले । कान्छा बुबा भने अध्ययन अघि बढाउन इलाम सदरमुकाममा अंग्रेजी पढाइ हुने प्राइभेट स्कुल भर्ना हुनुभयो । त्यहाँ स्व. पदम देवानबाट अंग्रेजी र अंकगणित विषयमा ज्ञान आर्जन गर्नुभयो । हामीसँग फाटफुट अंग्रेजीमा कुरा पनि गर्नुहुन्थ्यो । एकपटक अंकगणित सम्बन्धित कुरा गर्दा बाह्र हजार बाह्र सय बाह्र लेख्न लगाउनुभयो । मैले बाह्र–बाह्र–बाह्र मुखैले भनी दिएँ । तर, खासमा त्यो तेह्र हजार दुई सय बाह्र हुन्थ्यो । जो पछि बताइदिनुभयो । यसरी विषयगत ज्ञान छ कि छैन भनेर हामीलाई जाँच गर्नुहुन्थ्यो कान्छाबुबा । उहाँको जीवन वडो सरल र अनुशासित थियो ।

दाजुहरुलाई भेट्दा चरण पर्ने स्वभाविक बानी थियो । अन्य दाजुहरुमा समेत सो बानी थियो । अहंकारको अ समेत थिएन उहाँहरुबीच– प्र्रेम सिवाय अन्य केही थिएन । आफ्ना पिताजीबाट तालिम प्राप्त र दीक्षित उहाँ युवा अवस्थामा अरु दाजुहरुभन्दा अझ बढी राजनीति तथा व्यापारमा केन्द्रित हुनुहुन्थ्यो । समयअनुसार घीऊ, आलु, अलैंचीको थोक व्यापार इलाम जिल्लाको सदरमुकाम बजार र सांखेजुङ्ग दुबै ठाउँ–ठाउँमा केन्द्रित थिए । व्यापार फस्टाएको थियो । आफ्नो निजी जमिनमा पचासौँ मन अलैंची, आलु उत्पादन हुन्थे ।

सांखेजुङ्गमा हुर्किँदा बढ्दादेखि नै उहाँमा राजनीतिक चेतनाको बीऊ रोपिएको थियो । इलाम जिल्लामा कहलिएका शिक्षित व्यक्ति उसबेलाका म्याट्रिक पास भएका व्यक्ति मामा लप्टन खड्ग भट्टराई र उहाँका पुत्र के.वी. भट्टराई (मामली भाइ)सँग निकट हुनुहुन्थ्यो कान्छाबुबा राजनीतिको हिसाबले । भट्टराई र बस्नेत परिवार राणा जहाँनीया शासनको घोर विरोधी थिए । राणाशासन उखेल्न जनचेतना र जनतालाई शिक्षा दिन आवश्यक छ भन्ने कुराको बोध थियो– उहाँहरुमा । त्यसैले पिताजी धनराज बस्नेतको निजी जग्गा र संरक्षकत्वमा २००४ सालमा सांखेजुङ्गमा अंग्रेजी अध्यापन गराउने विद्यालय स्थापना गर्नुभएको थियो ।

दार्जिलिङ्गबाट शिक्षकहरु लगेर त्यहाँ पठनपाठन गराइन्थ्यो । २००७ सालको राणा विरोधी जनक्रान्तिमा कान्छाबुबा लगायत सम्पूर्ण बस्नेत र भट्टराई परिवार एक थियो । अझ २७ वर्षे युवा कान्छा बुबामा प्रजातन्त्रको पक्षमा अंकुरित बीजले सशक्त रुपधारण गरेको थियो । २०१८ सालमा नेपाली कांग्रेसले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र क्रान्ति घोषणा ग¥यो । उहाँ खुलेर प्रजातन्त्रको पक्षमा लाग्नुभयो । फलस्वरुप इलाम जेलमा कैद भुक्तान गर्नुप¥यो । इलाम जिल्लामा नै उहाँ राजनीतिमा सक्रिय रहनुभयो । २०६४ सालमा आफ्नी प्रिय अर्धाङ्गिनी गुमाएपछि र माओवादीले सांखेजुङ्गस्थित घर, धनसम्पत्ति कब्जा गरेपछि इलाम टाढिएर गयो । त्यसपछि सक्रिय राजनीतिमा नरहे पनि जीवन पर्यन्त प्रजातन्त्रको पक्षमा शतिसाल झैं उभिई रहनुभयो ।

झापातर्फको शुरुवाती बसाई, पैतृक सम्पत्ति बाँडफाँडको दशकौंपछिबाट शुरु गर्नुभयो । खास गरेर २०२१ सालमा भूमिसुधार कार्यक्रम लागू भएपछि । त्यसअघि बस्नेत परिवारको सामूहिक घर (कामत घर) वर्षमा १÷२ पटक रेखदेख गर्न आउने घर जगतबस्ती तत्कालीन चारपाने–१ मा नै थियो । अरुबेला जमिनको सम्पूर्ण कारोबार कारोबारीद्वारा सञ्चालित थियो । हिउँदको बेला हामी सानो छँदा त्यहीँ आई बस्थ्यौं । सोही ठाउँ हाल बिर्तामोड नगरपालिका–१ भएको छ । त्यसबेला जगतबस्ती जेठादाजु जगत बस्नेतको नामबाट नामाकरण गरिएको बिर्ताबजारको पश्चिम करिब एक किलोमिटर उत्तरबाट हालको अर्जुनधारा नपाको दक्षिण सीमाभन्दा अझ उत्तरसम्म फैलिएको थियो । बिर्तामोडको जन्म २०२०÷०२१ सालमा महेन्द्र राजमार्गको रेखाङ्कन भएपछि मात्र भएको सम्झना कताकता आउँछ । त्यसबेला आफ्नो जग्गा राजमार्गमा पर्न गएकोले ठूलो नोक्सान पर्नेभयो भन्ने खैलाबैला परिवारमा भएको पनि याद आउँछ । २०२४÷०२५ सालतिर महेन्द्र राजमार्ग बनिरहेको अवस्था थियो । त्यसै सेरोफेरोमा आफ्नो पुख्र्यौली भाडबण्डाबाट प्राप्त जग्गामा निवास बनाई बसोबास शुरु गर्नुभयो ।

त्यसरी विस्तार–विस्तार सांखेजुङ्गबाट चारपानेलाई कर्मथलो बनाउनुभयो । त्यहीबेला बिर्तामोडस्थित हालको धनराज मार्केटमा आफ्नो जेष्ठ पुत्र गोपालकुमार बस्नेत र भतिज चन्द्र बस्नेतको नामबाट ‘गोपालचन्द्र आयल कम्पनी’ स्थापना गरी डिजेल र पेट्रोलको व्यापारिक व्यवसायमा हात हाल्नुभएको थियो । त्यसअघि २०२१÷०२२ सालतिरै शनिश्चरे बजारमा धानको थोक व्यापार तथा शनिश्चरे इलाम यातायात व्यवसायमा संलग्न हुनुभएको थियो । २०३०÷०३१ सालमा मेची बस यातायात सेवा, सयपत्री बस कम्पनी आदिको संरक्षकत्व ग्रहण गर्नुभएको थियो । परिवारका एकमात्र धरोहर र संरक्षक तथा मियो हुनुहुन्थ्यो कान्छाबुबा । परिवारमा कोही कमजोर छ भने उकास्ने बानी थियो उहाँमा ।

आफूले बोलेको कुरा पूरा गर्न कुनै अवस्थामा पनि चुक्नु हुन्न थियो । चट्टानी अडान राख्नुहुन्थ्यो त्यस्ता विषयमा । आवश्यक कुरामा मात्र खर्च गर्नुपर्छ भन्ने मान्यता राख्ने उहाँ आवश्यक पर्दा हीरा फोर्नुपर्छ भन्नुहुन्थ्यो । समाजसेवामा उहाँको योगदान अविस्मरणीय छ । इलाम र झापाका अनगिन्ती शैक्षिक एवम् धार्मिक क्षेत्रमा संरचनाहरुको निर्माण, सम्बद्र्धन र संरक्षण गर्नुभएको थियो र छ । यिनै जिल्लाहरुमा गरिब र जेहेन्दार छात्रछात्राहरुको निम्ति शहिदहरुका नाममा जय नेपाल प्रतिष्ठानमार्फत् छात्रवृत्ति तथा पुरस्कार उपलब्ध गराइरहनु भएको छ । सोको नियुक्ति धनराशी राखिदिनुभएको छ ।

यस्ता बहुआयामिक व्यक्तिको अवशान हुँदा देश, समाज र परिवारले ठूलो क्षति व्यहोर्नु परेको छ । अन्त्यमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको अजर, अमर अविनाशी आत्माले चिरशान्ति प्राप्त गर्न सकोस् यही प्रार्थना गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here