“सञ्चार क्षेत्रमा लैँगिक समानता र अवसर ”

1
1069

कुसुम तामाङ,

महिला हिंशा ,महिला मुद्धा समाजमा गहिरिदैँ गएको एउटा समस्या हो । महिला मुद्धा महिलाको मात्र सरोकारको विषय होइन यो सिँगो समाजकै सरोकारको विषय हो । हामीकहाँ शुरुदेखिनै महिला मुद्धालाई महिलाको मात्र चासोको विषय हो जस्तो व्यवहार गर्दै आएको पाइन्छ । समावेशी तथा समतामुलक समाज निर्माणका लागि महिला अधिकार लाई समाजका शबै क्षेत्रमा स्थापित गर्न आवश्यक छ । केबल नाराबाजी, विरोध प्रर्दशन र कानुन बनाएर मात्र महिला अधिकार सुनिश्चित हँुदैन । त्यसका लागि घरघरमा चेतनाको विकाश हुनुपर्छ । महिला सुरक्षा, शिक्षा र सँस्कृति सभ्यताको विषय हो । जबसम्म महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आँउदैन तबसम्म महिलाका लागि सुरक्षित समाजको परिकल्पना व्यर्थ छ तर विडम्बना आज पनि आजपनि महिला मुद्धाको विषयमा कुरा गर्न एउटा दिवशनै कुर्नुपर्ने अवस्था छ ।

परिवर्तनको कुरा गरिरहँदा वर्तमान महिलाको अवस्था र दश वर्ष अघि महिलाको अवस्थामा धेरैै परिवर्तन आइसकेको छ । आजको दिनमा महिला निकै सवल र सक्षम बनिसकेका छन् यद्पी कुनै पनि राजनितिक , शैक्षिक ,पत्रकारिता र अर्थ क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य रुपमा स्थापित हुन सकेको छैन । समग्र मुलुकलाईनै हेर्ने हो भने पनि थोरै मात्र महिला छन् जो समाजको नेतृत्व तहमा अवसर पाएका छन् । त्यस्ता उदाहरणीय महिलाको सँख्या भन्ने हो भने औँलामा गन्न सकीन्छ । महिला सहभागिताको कुरा गर्दा कुनै पनि क्षेत्रमा सङ्ख्या बढ्नुलाई मात्र पर्याप्त मान्न सकिदैन गुणात्मकता पनि त्यतीकै आवश्यक हुन्छ ।

हरेक क्षेत्रमा महिला सहभागिताको कुरा गरिरहदाँ मलाइ पत्रकारिता क्षेत्रमा महिलाको अवस्थाबारे अलि धेरै चर्चा गर्न मन लाग्यो । विगत केहि बर्षदेखि आफू पनि यहि क्षेत्रमा आबद्ध भएकोले गर्दा अन्य क्षेत्रमा महिला सहभागिताको अवस्था कस्तो छ त्यो मलाइ अलि ज्ञान नहोला तर जहाँसम्म लाग्छ केहि हदसम्म हरेक क्षेत्रमा महिलाको वर्तमान अवस्था मिल्दोजुल्दो नै छ । दसकौँदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याइरहने अग्रजका भनाइ अनुसार महिला यस क्षेत्रमा पहिला उत्साहीत भएर आउने तर त्यही उत्साहका साथ धेरै लामो समयसम्म टीकीरहन नसक्ने भनाइ छ ।

जसका कारण महिला कमजोर देखिन्छन् । यदि यो कुरा साँचो हो र यस क्षेत्रमा महिला सहभागिता बढोस् भन्ने हामी सबैको चाहना हो भने यस क्षेत्रका शबै जनाले के कारणले महिलाहरु यस क्षेत्रमा लामो समयसम्म टीक्न सकीरहेका छैनन् देखिने÷नदेखिने समस्याको पहिचान गर्न जरुरी छ । यो क्षेत्रमा स्थापीत हुन त्यती सजीलो भने चाँही छैन यसैपनि अरु क्षेत्रभन्दा नीकै चुनौतीपूर्ण क्षेत्र मानीन्छ पत्रकारिता । महिला यस क्षेत्रमा टीकीरहन नसक्नुको कारण पत्ता नलगाई महिला कमजोर हुन्छन् भन्नु र महिलाई सँधै कमजोर दृष्टिले हेर्नु पक्कै पनि गलत कुरा हो ।

मैले माथि लेखेको कुरा फेरि दोहोर्याउन चाहे “कुनै पनि क्षेत्रमा सङ्ख्या बढ्नुलाई मात्र पर्याप्त मान्न सकिदैन गुणात्मकता पनि त्यतीकै आवश्यक छ ।” भनेजस्तै हरेक क्षेत्रमा स्थापीत हुन निरन्तरता र क्षमतावान हुन त्यतीकै जरुरी छ । यदि क्षमतावान छैन भने महिला होस या पुरुष कुनै पनि क्षेत्रमा निरन्तर रहिरहन सक्दैन । तर कहिलेकाँहि क्षमता भएर पनि अवसर नपाउँदा र कार्यक्षेत्रमा साथीभाइको असहयोगका कारण पनि क्षमतामा प्रतिकुल प्रभाव पुग्ने भएकाले स्थापीत हुनुको साटो विस्थापीत भएको पनि देखिन्छ । महिलाको हकमा यो कुरा अलि बढी लागु भएको छ जस्तो लाग्छ ।

बिकासको कुरा गरिरहदा हामी नछुट्याइकन ठूलो आवाजमा भन्ने गर्छौ अरु क्षेत्रको तुलनामा शबैभन्दा छीटो फड्को मार्ने क्षेत्र हो सञ्चार क्षेत्र, तर अझैपनि हामीले भनेजस्तै गरी सञ्चार क्षेत्रमा साँच्चै बिकास भएको छ जस्तो लाग्दैंन । बिकासमा सञ्चार क्षेत्रले फड्को मारिसक्यो भन्नेहरुका लागि मेरो प्रश्न, सञ्चार क्षेत्रले साँच्चै फड्को मारेको हो भने कीन आज पनि हामीले यो क्षेत्रमा महिला सहभागिता आवश्यक छ भनीरहनुपरेको छ ? कीन हामीले यो क्षेत्रमा लैंँगीकमैत्री वातावरणको अभाव छ भन्ने नारा लगााइरहनुपरेको छ ? हो यिनै र यस्तै कुराले महिला पत्रकारको उत्साहमा बाधा पुगिरहेको छ । लैँगिकमैत्री वातावरणको कुरा गर्दा यस क्षेत्रमा अझैपनि धेरैजसो सम्पादकहरु महिले पत्रकारले कलम चलाउँदा होस या कार्यक्रम नीर्माण गर्दा महिला मुद्वा, बालबालीका , श्रृगाँर जस्ता विषयमा मात्र काम गर्न सक्छन् भन्ने सोचले ग्रसीत भएको जस्तो देखिन्छ ।

राजनिति, अर्थ जस्ता जटील विषयमा काम गर्न महिला पत्रकारलाई खासै विश्वास गरेको जस्तो देखिदैन अनि यसमा महिला पत्रकारलाई प्रोत्साहित गर्नुको साटो उल्टै हियाइन्छ । यस विषयमा कहीँकतै महिला पत्रकार आफैपनि कमजोर होला यो कुरालाइ नकार्न पनि सकिँदैन तर हदैसम्म चाँही महिला पत्रकारलाई कमजोर भनेर नै हियाइन्छ । हामी भन्ने गर्छौ “सञ्चार माध्यमको काम समाजमा सुचना सम्प्रेषण गर्ने मात्र होइन समाजलाई शिक्षित बनाउने पनि हो ।” तर यहि क्षेत्रभित्र लैँगिक विभेद हुनु, महिला भएकै कारण कम अवसर प्रदान गर्नु यो पक्कै पनि राम्रो कुरा होइन ।महिला पत्रकारले पनि पत्रकारिता गर्ने रहर मात्र गरेर हँुदैन, यो क्षेत्रमा स्थापीत हुन रहर गरेर मात्र पुग्दैन कार्यक्षेत्रमा आइपर्ने विभिन्न चुनौतीको सामना र धैर्यताको पनि नीक्कै खाँचो पर्छ ।

यस क्षेत्रमा हरेक तहमा निर्णायकदेखि सहकर्मी तहसम्म लैगिँकमैत्री सोचको बिकास हुन जरुरी छ र महिला सहभागिता अभिवृद्घिका लागि पहल गरिनुपर्ने आवश्यकता त छँदैछ ,यस क्षेत्रमा लागिरहेका महिलाहरु आफैले पनि पेशाको दायित्व निर्वाहमा आफू उदाहरणीय बनेर अगाडि आउन प्रयास गर्नुपर्ने जरुरी छ सँगसँगै यस क्षेत्रलाई बुझेका अग्रज महिला पत्रकारले भर्खर पाइला टेकेका नयाँ सिकारु पत्रकारलाई आफूले जनेका बुझेका कुरा सिकाउन कद्यापी कन्जुसाई भने गर्नुहँदैन ।

अब अलीकती अवसरको पनि कुरा गरौँ, कुनै पनि क्षेत्रमा स्थापीत हुन अवसरको निक्कै खाँचो पर्छ यद्यपी निरन्तर कर्म नै पूजा हो भन्ने ढृड सँकल्पका साथ लगनशिल भएर धैर्यतापूर्वक काम गर्ने हो भने अवसरहरु धेरै भेटीन्छन् । अझैपनि महिलाको हक अधिकार, हरेक क्षेत्रमा महिलले भोग्नुपरेका समस्या र महिला मुद्याको कुरा गर्न कुनै एउटा दीवश आउनुपर्छ । कती लाजमर्दो कुरा छ ,यहिँबाट प्रष्ट हुन्छ आजको दीनमा हाम्रो समाजमा महिलाको अस्तित्व । कुनै पनि क्षेत्रमा काम गर्न सुरु गरिसकेपछि आफूले काम वरेबापत राम्रै पारिश्रमिक पाए हुन्थ्यो भन्ने आश जो कोहिमा पनि हुन्छ ।

आज पनि हरेक क्षेत्रमा पुरुषको हकमा महिलालाइ केहि मात्रामा कम पारिश्रमिक दिने गरेको गुनासो धेरै आइरहेको बेला यो कुनै नौलो कुरानै भएन । अब सञ्चार क्षेत्रको कुरा गर्ने हो भने धेरैजसो सञ्चार माध्यममा आपसी समझदारिमा काम गरिरहेको पाइन्छ । महिला होस् या पुरुष आज पनि श्रमजिवि पत्रकारले पाउनुपर्ने पारिश्रमिक नपाएको कुरामा हामी जानकार नै छौँ यसो भनिरहदा मलाई डा.तारानाथ शर्माको एउटा भनाई सुनाउन मन लाग्यो “नेपालमा सत्यको पूजा हुँदैन , न्यायको सम्मान हुँदैन र प्रतीभाले कुँजीनुपर्छ , शिष्टताले ठाडै सुक्नुपर्छ , सभ्यताले जिउँदै सती जनुपर्छ र योग्यताले हिरिक–हिरिक हुँदै ढुनमुनिनुपर्छ ।” साँच्चै यस्तै नै छ आज मेरो देशमा हरेक क्षेत्रको अवस्था ।

अन्त्यमा फेरि पनि महिलाले भोगिरहेका देखिने–नदेखिने हरेक समस्याको पहिचान नगरी सँधै महिलालाई कमजोर देखाउनुभन्दा पनि समस्याको पहिचान गरि समाधानको उपाय अबलम्बन् गर्नु निँकै खाँचो छ । अन्ततः सञ्चारक्षेत्र मात्र नभइ हरेक क्षेत्र लैंँगीकमैत्री वातावरणको हुन जरुरी छ ।

सप्तरङ्गी एफ.एम दमक झापा

1 COMMENT

  1. संचार क्षेत्र मा कार्यरत महिला हुनु भएको नाता ले प्रत्यक्ष-अप्रत्यक्ष रुप मा महिला पत्रकारहरु लाई हुन सक्ने अवरोध के के हुन भन्ने कुरा लेख मा भेटिएन।
    त्यस्तो अवरोधहरु लाई चिर्दै अगाडि कसरी बढ्ने भन्ने कुरा पनि उल्लेख गरिएको भेटिएन।
    संचार क्षेत्र मा मात्र नभएर हरेक क्षेत्र मा महिला हरु उलेख्य अनुपस्थिति देखिन्छ। यो सबै लाई जानकारी भएको कुरा हो। त्यही कुरा ( गुनाशो?) दोहोर्याएको मात्र देखिन्छ लेख मा।
    अलिक गहिरो अध्यान र अाफ्नै पनि भोगाई र बुझाई ले सिकाएको कुराहरु लाई समेटिएको भए र स्थानीय तह मा पत्रकारिता गर्दा अाउने व्यावहारिक अवरोधहरु समेटेर लेखीएको भए अझ राम्रो हुन्थ्यो कि?
    सिदान्तगत रुप मा लेखिएको लेख पढ्दा कहिलेकाहिँ उपदेश वा दिशानिर्देश पो गरेको हो कि जस्तो लाग्दोरछ: सम्पादकिय पढे जस्तो। फेरि पनि सर्सर्ति पढ्दा राम्रै छ… धन्नेवाद।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here