अख्तियारको छानविन, अध्यक्षलाई स्पष्टीकरण

0
663

बिर्तामोड।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले नियम विपरीत कर्मचारी नियुक्त गरेपछि अख्तियारले छनविन थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले समितिले नियम विपरीत कर्मचारी नियुक्त गरेको उजुरीको आधारमा छानविन शुरु गरेको आयोगले जनाएको छ ।

आयोगका लेखा अधिकृत भरतबहादुर ढुङ्गानाले कृषि बजार व्यवस्थापन समितिलाई १० दिनको समय दिएर कार्यालयमा नियुक्त गरिएका व्यवस्थापक सीताराम नेपाल र लेखापाल पवित्राकुमारी पौडेलको बिषयमा लिखित जवाफ दिन पत्राचार गरेका छन् ।

आयोगले गतसाउन २८ गते नै पत्राचार गरेको हो । अख्तियारको पत्रमा व्यवस्थापक नेपाल र लेखापाल पौडेललाई कुन पदमा ? कुन मितिमा ? कुन कानूनी ? व्यवस्था बमोजिम ? कुन प्रक्रियाबाट नियुक्त गरिएको हो, सो सम्बन्धि सत्यतथ्य विवरण पेश गर्न निर्देशन दिइएको छ ।

पूर्वाञ्चल दैनिकले यस अघि सो विषयमा कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३लाई लत्याउँदै आफू खुशी करारमा कर्मचारी नियुक्ति गरेको समाचार प्र्रकाशित गरेको थियो । समाचार प्रकाशन गरे लगत्तै अख्तियारमा लिखित उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको हो ।

नियुक्त भएका व्यस्थापक नेपाल कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख तथा कृषि बजार व्यवस्थापन समितिका सदस्य शालीकराम भट्टराईका भिनाजु र लेखापालमा नियुक्त गरिएकी बिर्तामोड–८ निवासी पवित्राकुमारी जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी लक्ष्मीप्रसाद खरेलकी साली हुन् । उनीहरुले समितिका अध्यक्ष तथा कृषि विकास फर्म चन्द्रडाँगीका प्रमुख समेत रहेका धनबहादुर थापाको मिलेमतोमा नियम विपरीत कर्मचारी नियुक्त गरेका थिए ।

यता कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समिति गठनका लागि दिएको समयावधि सकिँदा समेत समिति गठन गर्न नसकेपछि कृषि बिभागले तदर्थ समितिका अध्यक्ष थापालाई सो सम्वन्धी स्पष्टीकरण सोधेको छ । भदौ ५ गते कृषि वजार व्यवस्थापन समितिका नाममा लिखित पत्राचार गर्दै स्पष्टीकरण पेश गर्न कृषि अर्थविज्ञ श्यामराज विष्टले सात दिनको समय दिएका छन् । जसको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समेत पठाइएको छ ।

कृषि विभाग बजार विकास, आर्थिक विश्लेषण तथा तथ्याङ्क शाखाले नेपाल सरकार मन्त्रीस्तरको २०७५ ÷१० ÷२२ को निर्णयवाट गठित तदर्थ बजार व्यवस्थापन समितिको जिम्मेवारी थापालाई दिएको थियो । थापाले ६ महिना भित्र बजारको चुनाव गराएर नयाँ समिति गठन गर्नु पर्ने भए पनि सो काम नसकेको र विवादित रुपमा कर्मचारीलाई अवकास दिने तथा प्रक्रिया नपु¥याई कर्मचारी भर्ना गरेको भन्दै सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

बिभागले गत वर्ष माघ २४ गते बजार व्यवस्थापन समिति गठन गर्न भन्दै कृषि विकास फर्म चन्द्रडाँगीका प्रमुख थापालाई तदर्थ समितिको अध्यक्षको अख्तियारी दिएको थियो । विभागले व्यवस्थापन समिति गठन गर्ने भने पनि उनले आफू अनुकूलका कर्मचारी नियुक्त गर्दै तीन जना कर्मचारीलाई भने उमेर हदको कारण देखाउँदै सेवाबाट अवकाश दिने निर्णय गरेका थिए ।

विभागका प्रमुख राजेन्द्रप्रसाद मिश्रले पत्राचार गर्दै ६ महिनाभित्रमा बजार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएपनि उनले मन्त्रालयको निर्देशन नमानेपछि स्पष्टीकरण सोधेको हो । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा ५ अनुसार नयाँ वजार व्यवस्थापन समिति गठन गर्न पत्राचार भएपनि थापाले कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ लाई समेत लत्याउँदै आफू खुशी करारमा व्यवस्थापक नेपाल र लेखापाल पौडेललाई नियुक्ति गरेका थिए ।

समितिका अध्यक्ष थापाको अध्यक्षतामा गत जेठ २९ गतेको बसेको वैठकले विष्णुबहादुर राई (मुन्ना), सूर्यबहादुर घले र हरिप्रसाद कडरियालाई अवकास दिन निर्णय गरेका थिए । राई कार्यालय सहयोगी हुन् भने कडरिया र घले सुरक्षा गार्ड हुन् । उनीहरुलाई विना सूचना निकाल्ने निर्णय गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । उनीहरुले भने आफूहरुलाई विना कारण उमेरको हद देखाउँदै निकाल्ने निर्णय गरेको भन्दै त्यसको विरोध जनाएपछि पूर्वाञ्चल दैनिकले सो विषयमा समेत समाचार प्रकाशन गरेको थियो । कार्यालय सहयोगी राईले भने– २५ देखि ४० वर्षसम्मको मात्रै व्यवस्थापक नियुक्त गर्न पाइन्छ तर, ४८ वर्षीय व्यवस्थापक नियम विपरीत नियुक्त गर्दा हुने हामीले चाहिँ काम गर्दा किन नहुने उनले प्रतिप्रश्न गरेका थिए ।

बिभागले नै नयाँ बजार व्यवस्थापक नियुक्ति नभएसम्मका लागि कार्यरतमध्ये वरिष्ठतम् कर्मचारीलाई बजारको दैनिक, आर्थिक, एवम् प्रशासनिक कामकाजका निमित्त बजार व्यवस्थापकको हैसियतले कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । तर, तदर्थ समितिका अध्यक्ष थापा र समितिमा रहेका सदस्य शालिकराम भट्टराई, लक्ष्मीप्रसाद खरेल लगायतले नियम विपरीत कर्मचारी नियुक्ति गरेका थिए ।

कृषि उपज ५ किलो वा सोभन्दा बढी खरिद बिक्री गर्ने उद्देश्यले सञ्चालितस्थल नै कृषि थोक बजार हो । जुन बजारमा कृषकबाट उत्पादित कृषि बस्तु कृषक, व्यापारी, उपभोक्ता समेतलाई लाभान्वित हुने गरी विक्री वितरण गरिन्छ । व्यवस्थित तथा प्रतिष्पर्धात्मक बजार प्रणालीको विकास र व्यवस्थापन गर्न आवश्यक ठानेर सरकारले कृषि मन्त्रालयको मातहतमा रहेर देशका विभिन्न ठाउँमा कृषि बजार स्थापना गरेको छ । सरकारको सोही उद्देश्य अनुसार झापाको बिर्तामोडमा पनि २०५३ सालमा कृषिथोक बजार स्थापना भएको हो ।

पूर्बकै एक मात्र ठूलो र भारतीय तथा पूर्वी पहाडी क्षेत्रका किसानको प्रमुख थोक बजारका रुपमा चिनिएको यो बजार अहिले उद्देश्य अनुसार सञ्चालन हुन सकेको छैन । ६ वर्ष अघि कृषि बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष मोहन शिवाकोटीको निधन भए पछि बजार व्यवस्थापन समिति गठन नहुँदा अढाई दशक अघि स्थापना भएको कृषि थोक बजार अस्तव्यस्त छ । बजार सञ्चालनका लागि व्यापारी, किसान, नगरपालिका, कृषि ज्ञान केन्द्रलगायतका पदाधिकारी रहेको बजार व्यवस्थापन समिति गठन गर्नुपर्ने नियम छ । तर, व्यवस्थापन समिति गठन नहुँदा गोदाम घरहरू जीर्ण बन्दै गएका छन् ।

दैनिक निस्किने फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन । अहिले वर्षात्को समयमा पानीको निकास नहुँदा उपभोक्ता बजारमा गएर किनमेल गर्न सक्ने अवस्था नै छैन । कृषिथोक बजार भनिए पनि परिसरभित्र कृषि बाहेकका पसल थपिने क्रम बढेको छ । कृषि थोक बजारभित्रका सटरहरू बजार दरभन्दा ५ सय गुणा कम दाममा मासिक भाडामा लगाइएका छन् ।

कृषि थोक बजारभित्र रहेको कार्यालयका अनुसार बजारमा ३२८ वटा पसल छन् । बजारलाई पाँच सेक्टरमा विभाजन गरिएको छ । फलफूलका ३२, तेलहन दलहनका १९, माछामासुका ६०, खुद्रा सब्जीका १२०, थोक बिक्रेता ८६ र अन्य विविध ११ वटा पसल रहेका छन् ।

बिर्तामोडका समाजसेवी खनुपरुदे प्रसाई रामबाबुले चार बिगाह जमिन कृषि उपज बजार समितिलाई निःशुल्क प्रदान गरेपछि कृषि थोक बजार स्थापना भएको हो । हर्कलाल गिरीको अध्यक्षतामा गठित समितिले २०६० सालसम्म निरन्तर काम ग¥यो । २०६० सालदेखि मोहन शिवाकोटीले पनि तीन कार्यकाल नै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । तर, उनको निधनपछि ०६९÷०७० यता कृषि बजार व्यवस्थापन समिति नेतृत्वविहीन भएको छ । व्यवस्थापन समिति नेतृत्वविहीन भएसँगै कृषिथोक भित्रका समस्या एकपछि अर्को थपिएका थपियै छन् ।

२०५३ सालमा हर्कलाल गिरीको अध्यक्षतामा गठित समितिमा नारायण ढुंगाना, नारायण ओली, जीवन पनेरु, धर्मप्रसाद सुबेदी, दुर्गादेवी शर्मा, टेकेन्द्र शिवाकोटी, अमरदीप भेटवाल र सदस्य सचिवमा सुरजकुमार बिमली रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here