महिलालाई स्वरोजगार बनाउन ढाका बुनाइ तालिम

0
1083

युद्धबहादुर बोहोरा / पाँचथर।

फाल्गुनन्दमा सीपमूलक दिगो पेशा सम्बन्धी दुई महिने ढाका बुनाइ तालिम सम्पन्न भएको छ । महिलाहरुलाई स्वरोजगार तथा आयआर्जनको सीप विकास गर्ने लक्ष्यका साथ फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोग र नेपाल जनउद्धार संघ सुभाङको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

तालिममा गाउँपालिकाभित्रका १३ जना महिलाको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण सीता आर्यालले गरेकी थिइन् । संघका अध्यक्ष बालकृष्ण ओझाको अध्यक्षता तथा गाउँपालिका कार्यवाहक अध्यक्ष देवित्राकुमारी आङ्देम्बेको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि आङ्देम्बेले ढाकाका सामानबाट फाल्गुनन्द गाउँपालिकालाई देश–विदेशमा चिनाउन दीर्घकालीन सीपमूलक पेशालाई प्राथमिकमा राख्दै भावी दिनमा यसको कार्यविधिसहित अघि बढ्ने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, लेखा अधिकृत चन्द्रकुमार योङ्हाङ्ग, गैरसरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष नन्द नेम्बाङ, फाक्तेप आयुर्वेदिक औषधालयका प्रमुख राजु पराजुली, वेलफेयर संस्थाका प्रतिनिधि डोलकुमारी सुनुवार, पत्रकार महासंघ प्रदेश न.१ का सदस्य गणेश साङ्पाङ्ग, संघका निर्देशक क्षोमाया तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिममा सहभागीले टाइ, मफलर, साडी, कुर्ता सुरुवाल, रुमाल, कुर्ती, मेख्ली, बर्की चौबन्दी चोली, टोपी, कोट लगायतका विभिन्न प्रकार सामान र यसमा १२ प्रकारका बुट्टाका प्रकार बनाउन सिकेका थिए । कार्यक्रममा प्रशिक्षकलाई प्रशंसापत्र र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाले गत वर्ष तीन महिने प्रारम्भिक तालिम गराएको र हाल पुनर्ताजगी तालिम प्रदान गरेको बताइएको छ ।

वर्तमान समयमा लोकप्रिय बन्दै गएको ढाका निर्मित सामानहरु उपहारका रूपमा बढी चल्ने गरेको छ । युरोपियन मुलुक, अमेरिका, सिक्किम, दार्जिलिङ तथा विश्वको धेरै मुलुकमा नेपाली ढाका चर्चित छ । २०५५ सालमा स्थापना भएको जनउद्धार संघले जिल्लाका ६० वटा वडामा बहुक्षेत्रीय पोषणलाई सहयोग गर्दै सुआहारा कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै, संघले सम्बन्धित निकाय संगको साझेदारीमा सामाजिक सद्भावका कार्यक्रम, सहभोज, महिला सशक्तीकरणका कार्यक्रम गरेको छ भने घरेलु विकास उद्योगको सहकार्यमा हाउस वायरिङ्ग तालिम जस्ता कार्यक्रममा सम्पन्न गरेको छ ।
संघलाई तत्कालीन जिल्ला स्वास्थ कार्यालय, जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय पाँचथर र क्षेत्रीय स्वास्थ कार्यालयले सम्मान गरेको संघका अध्यक्ष ओझाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here