पौडी खेल्न प्रतिबन्ध !

0
716

दमक।

दमक नगरपालिकाले निर्माणाधीन पोखरी तथा पर्यटकीय स्थलहरुमा पर्यटक तथा जो कोहीलाइ पनि प्रवेश गर्न नदिन सम्बन्धित वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

नगरपालिकाले पोखरी तथा स्वीमिङ पुलहरुको समेत अनुगमन गरेर सुरक्षाका उपाय अपनाए÷ नअपनाएको हेर्नका लागि समेत भनेको छ । पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि निर्माणाधीन अवस्थाका दुईवटा बेग्लाबेग्लै पोखरीमा डुबेर दुई बालकको मृत्यु भएपछि दमक नगरपालिकाको बोर्ड बैठकले नै निर्माण सम्पन्न नभएसम्म नाउ सञ्चालन तथा आवातजावतमा समेत रोक लगाएको छ । पोखरीको डिलमा उभिएर सेल्फी खिच्नेदेखि लिएर नाउ कुदाउने र पौडी खेल्नेजस्ता कार्य गर्दा जोखिम बढेको जनाइएको छ ।

दमक नगरपालिका वडा नं. ३का वडाध्यक्ष नवीन बरालका अनुसार एकसाताको अवधिमा निर्माणाधीन अवस्थाका सिमसारमा डुबेर दुईजनाको ज्यान गएपछि सतर्कता अपनाउन शुरु गरिएको हो ।

नगरपालिकाको बोर्ड बैठकले मृतक परिवारलाई १० हजार रुपैयाँ नगरपालिकाको तर्फबाट काजकिरिया खर्च उपलब्ध गराउने निर्णयसहित यस्ता सिमसार र पोखरीमा आवतजावतमा प्रतिबन्ध गरेको हो– बरालले भने ।

दमक–३स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी उत्तर निर्माणाधीन पोखरीमा भुटानी शरणार्थी बालक सवनव मगरको गत साउन ३२ गते र दमक–३कै अर्को निर्माणाधीन सिमसारमा डुबेर भदौ ५ गते मदन श्रेष्ठको मृत्यु भएपछि नगरपालिकाको आलोचना भएको थियो । निर्माण नै पूरा नगरी र सुरक्षाका कुनै उपाय नअपनाइ पोखरी बनाइएकाले यस्तो घटना भएको भन्दै प्रहरीले समेत यसको आलोचना गरेको थियो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार जल पुनर्भरण तथा जैविक विविधता संरक्षण गर्नका लागि दमक नगरपालिकाले जलाशय तथा पोखरी निर्माण गरिरहेकाले तत्काल मनोरञ्जन एवम् पर्यटकीय प्रयोजनका लागि खुला गर्ने अवस्था छैन । निर्माण कार्य पूरा गरी सुरक्षाको प्रवन्ध नहुञ्जेल ती पोखरी तथा जलाशयहरुमा पौडी खेल्ने लगायत जलक्रिडा सम्बन्धि सबै कार्य निषेध गरिएको ओलीले बताए ।

होटलहरुले सञ्चालनमा ल्याएका तथा निजी तवरबाट मनोरञ्जन प्रयोजनका लागि खोलिएका पोखरी एवम् स्वीमिङ पुलहरुको समेत पर्याप्त सुरक्षा ब्यवस्था मिलाउन जानकारी गराउने नगरपालिका बोर्ड बैठकले निर्णय गरेको जनाइएको छ । यसको अनुगमन गर्न वडा कार्यालय मार्फत स्थानीय टोल विकास संस्थाहरुलाई समेत जिम्मेवारी दिइएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here