केरा बिक्रीबाट मासिक ५० हजार आम्दानी

0
746

उदयपुर /हरिकुमार राई,

पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् ।

साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती गरेर केरा बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी कमाई गर्न थालेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहाडको भिरोलो बारी र त्यसमा पनि सामान्य मकै र कोदोबाहेक केही नफल्ने र बारीको अन्नले वर्षभरि खान पनि नपुग्ने भएपछि आफ्नो सबै खेतबारीमा केराखेती शुरु गरेपछि केही वर्षयता घरपरिवार र जीवन राम्ररी चलेको छ ।” तीन रोपनी क्षेत्रफलमा केराखेती शुरु गरेपछि अहिले मासिक ३० घरीदेखि ५० घरीसम्म केरा बिक्री हुने गरेका कारण अहिले सजिलै मासिक रु ५० हजारसम्म र वार्षिक रु पाँच लाख ५० हजारदेखि सात लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

गाउँमा सडक पुगेदेखि नै अहिले प्रत्येक हप्ता साउनेदेखि गाईघाट बजारमा १० घरीभन्दा बढी केरा आफूले बिक्रीका लागि लैजाने गरेको र महीनाभरिमा सजिलै ५० घरीसम्म केरा आफूले गाईघाट लगेर बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । साउनेका अर्का ६० वर्षीय कृषक हर्कबहादुर राईले पनि अहिले मासिक रु ४० हजारसम्मको केरा बिक्री हुने गरेको बताउनुभयो । सात वर्ष अघिसम्म सामान्य मात्रै केरा उत्पादन गर्ने राईले त्यसयता आएर आफ्नो सम्पूर्ण जग्गामा केराखेती शुरु गरेपछि अहिले आर्थिक अवस्थामा सुधार भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पहिला–पहिला सामान्य मात्र केराखेती गर्दथेँ र वार्षिक रु ५० हजारसम्मको मात्र केरा बिक्री गर्ने गरेको थिएँ, अहिले व्यावसायिक केराखेती शुरु गरेपछि वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुन्छ ।” चामल तेल, दाल तरकारी गरेर डेढ लाख भए वार्षिक रुपमा घरपरिवार चल्ने र अन्य रकम अहिले छोराछोरी पढाउन खर्च गर्न सहज भएको राईले बताउनुभयो । अहिले साउने गाउँका धेरै कृषकले केरा उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि जग्गामा अन्नबालीभन्दा व्यावसायिकरूपमा केराखेतीमा लागेका स्थानीय ज्ञानबहादुर मगरले बताउनुभयो ।

साउने क्षेत्रमा उत्पादित केरा बिक्री गर्न जिल्ला सदरमुकाम गाईघाट सहज भएको मगरले बताउनुभयो । वडाध्यक्ष कुरुङ राई भन्नुहुन्छ, “पहिला–पहिला साउनेका कृषकलाई घरबारीमा उत्पादन गरेको अन्नले वर्षभरि धान्दैन थियो, तर केही वर्षयता आएर व्यावसायिक केराखेतीमा लागेपछि गाउँले कृषकको मुहार फेरिएको छ, आम्दानी राम्रो हुन थालेपछि अहिले उनीहरुको पारिवारिक अवस्था दिनानुदिन सुदृढ भएको छ ।”

गाईघाट बजारका केरा व्यापारी रामु साहका अनुसार साउने क्षेत्रबाट आउने केराको माग बढी हुने गरेका कारण आफूहरुले नै रु ५० प्रतिदर्जनमा खरीद गरेर रु ८० सम्म प्रतिदर्जन ग्राहकलाई बिक्री गर्ने गरेका छौँ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार विगतमा साउने क्षेत्रमा परम्परागत केरामा झप्री, मालभोक, मुङ्ग्रे, मर्चेजस्ता केरा मात्र उत्पादन हुँदै आए पनि अहिले चिनियाँ चम्पा, रोबस्टा, कृष्णभोग, विलियम हाइब्रिड प्रजातिका केरासमेत उत्पादन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here