सुरेन्द्र भण्डारी
बिर्तामोड, झापाको बिर्तामोड नगरपालिका – २ चारपानेमा रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले भरतपूर महानगरपलिका १९ चितवनमा रहेको नेपालकै पहिलो सहकारी संस्था बखान वहुउदेश्यीय सहकारी संस्थासंग मैत्री सम्वन्ध विस्तार गरेको छ । 
वि.स. २०१३ साल चैत २० गते स्व.बखान सिंह गुरुङ्गले बखान सहकारी संस्था स्थापना गर्नुभएको थियो । सो सहकारीले अहिले आफैं तेल उत्पादन गर्दै आएको र तेल उत्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पु¥याउने उद्देश्यले सहारा नेपालले आज आयोजित कार्यक्रमकाबीच दश लाख रुपैयाँ सहयोग गरेको छ ।
दुई सहकारीबीच मैत्री सम्वन्ध स्थापित गर्दै सहकारीलाई थप व्यवस्थित बनाउन मैत्री सम्वन्ध विस्तार गरिएको र दश लाख रुपैयाँ सहयोग गरेको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
सहकारीका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले बखान सहकारी संस्थाका अध्यक्ष रमेशवहादुर गुरुङलाई दश लाख रुपैयाँको चेक हस्तान्तराण गर्नुभएको थियो । 
सहारा नेपाल सहकारी संस्थाले प्रदेश नम्वर १ मा ६५ वटा सेवा केन्द्रमार्फत एक लाख ४३ हजार ८ सय ५१ सदस्य माझ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै सहकारीका कार्यकारी निर्देशक गिरीले नेपालकै पहिलो बखान सहकारीसंग मैत्री सम्वन्ध स्थापित गर्न पाउँदा गर्ब लागेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालमा स्वर्गीय बखानवहादुर गुरुङ्को सहकारी क्षेत्रमा जुन उचाई छ , उहाँले देखाएको बाटोमा जो हिँडेको छ उसले कहिलेपनि दुःख नपाउने र सहकारीकै कारण धेरैले समृद्धि हासिल गरेका छन् त्यसको सबै देन उहाँमै जान्छ ।’
सहारा नेपाल सहकारी संस्था २०५२ सालमा स्थापना भएपछि प्रदेश नम्वर १ का ६ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई ऋण बचतको कारोवार सहित विभिन्न सामाजिक कार्य गर्दै आएको कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।
सो समारोहमा बखान सहकारीका तर्फबाट बोल्दै सहकारीका अध्यक्ष गुरुङले नेपालकै पहिलो सहकारी संस्था भएपनि आर्थिक हिसावले बखान सहकारी समृद्ध नभएको र सहकारी मार्फत धैरैलाई आत्मम निर्भर बनाएको बताउनुभयो । उहाँले सहकारीकै अगुवाईमा अहिले तोरी उत्पादनसंगै तेल मिल सञ्चालनमा ल्याएकाले त्यसलाई थप व्यवस्थित सहाराले गरेको सहयोग खेर जान नदिने बताउनुभयो ।

समारोहमा स्वं बखानसिंह गुरुङका नाती तथा सहकारीका संरक्षक चन्द्रध्वज गुरुङले बखान सहकारी वहुदल आएपछि तहसनहस भएको र अहिले मात्रै विस्तारै सुदृढ बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो – नेपालकै जेठो सहकारी भएपछि अन्य सहकारीको तुलनामा आर्थिक हिसावले बखान सहकारी संस्था पछि ,तर सहकारी अभियानमा मुलुककै पहिलो सहकारी भएकाले यसको छुट्टै महत्ब छ ।’
कार्यक्रममा बखान सहकारी संस्थाका सदस्य तथा सहकारी संग्राहलयका संयोजक सोम भण्डारीले मुलुकभर ३५ हजारको हाराहारीमा सहकारी रहेको र सहकारीले सबैलाई समृद्धिको बाटोमा लगेको बताउनुभयो । अहिले बखान सहकारीकै पहलमा चितवनमा नौ करोड रुपैयाँको लागतमा सहकारी संग्राहलय निर्माण भइरहेको बताउनुभयो ।
कार्यक्रममा बखान सहकारी संस्थाका संरक्षक सल्लाहकार तोयामानसिंह गुरुङ,सहारा नेपाल सहकारी सस्थाकी उपाध्यक्ष पबित्रा सुब्बा,सहकारीका सहायक निर्देशक दिनेश निरौला लगायतले बोल्नु भएको थियो ।


























