नेपाली भरिया भन्छन्– रोजगार पाए नेपाल नै फर्किन्छौ

0
1027

लक्ष्मी उप्रेती / सिक्किम,

हेमन्त रानाको स्वर, कालीप्रसाद बास्कोटाको संगीतमा रहेको सुन साइली सुन साईलीको यो अन्तरा निधारमा ‘नाम्लो वरियो भावीको खेलमा परियो’ सिक्किमका भारी बोक्न आइपुगेका नेपालीको जीवनमा ठ्याक्कै मिल्छ ।

खोटाङका शम्भु दाहालले २०७१ सालमा स्थानीय एउटा सरकारी विद्यालयबाट कक्षा १२ राम्रो अंकका साथ पास गरे । तर त्यस पछिको बाँकी पढाई उनले अघि बढाउन सकेनन् । कारण थियो उनको परिवारको आर्थिक अवस्था । शम्भुकै भाषामा गरीवी । पढाईमा पूर्णविराम लागेपछि साथमा एउटा नम्लो बोकेर पैसा कमाउन शम्भु भारतको सिक्किम राज्यको राजधानी गान्तोक छिरे ।

झण्डै तीनवर्ष अघि त्यस्तै एउटा नाम्लो बोकेर सोहि ठाउँ भासिएका दोलखा चरीकोट गौरीशंकर गाउँपालिका—३का ३५ वर्षीय गणेश नेपालीको पनि सिक्किमै भारी बोकेर कमाएको आम्दानी नेपालमा भएका आफ्नो परिवारको विहान बेलुकाको हात मुख जोड्ने प्रमुख माध्यम बनेको छ ।

१० कक्षाको पढाई उतिर्ण गरेर त्यहाँ पुगेका १८ वर्षीया दिनेश नेपालीले भारी बोक्न थालेको २ वर्षभयो । भारी बोक्न छाडे उनको पनि परिवारको मुखमा माड समेत लाग्दैन रे ।

आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण धन कमाउन भारतको सिक्किम राज्यको राजधानी गान्तोक छिर्ने त यी माथिका केही प्रतिनिधि पात्र मात्र हुन् । झण्डै सात हजार भन्दा बढी नेपाली त्यहा दिनभरी भारी बोक्दै नेपालमा भएका आफ्ना परिवार पालिरहेका छन् । यो कमाई उनीहरुको विहान बेलुकाको हातमुख जोड्ने माध्यममात्र होइन चाडपर्वका बखत एकछाक मिठो मसिनो र एकसरो नयाँ वस्त्र फेर्ने आम्दानीको मुख्यःस्रोत समेत बनेको छ ।

‘घरको आर्थिक अवस्था ज्यादैं कमजोर थियो, बाबु आमासँग मलाई उच्च शिक्षा पढाउने पर्याप्त स्रोत साधन थिएन, विहान बेलुका हातमुख जोड्न धौ धौ थियो, पहिला पहिला दोलखाका धेरै मान्छेले पैसा कमाउन सिक्किम जानुपर्छ तर एउटा नाम्लो चाँहि साथमा हुनुपर्छ सजिलै पैसा कमाइन्छ भनेको सुनेको थिए त्यसै भएर म पनि एउटा नाम्लो बोकेर यताछिरे’ शम्भुले भने—‘यहाँ लजाउनु चाँहि हुँदो रहेनछ भारी बोक्न सके राम्रै आम्दानी हुदो रहेछ ।’ भारी बोकेरै कमाएको पैसाले उनले कोरियन भाषा पढे । पास पनि गरे । ‘यहाँ सम्मान चाँहि नखोजे हुन्छ ’ उनले थपे— ‘भरिया, कान्छा, नेपाली, ठुले, जेठालगायतका उपनामले हामीलाई भारी बोक्न बोलाइन्छ ।’ भरिया काम गरेर मात्र मासीक न्युनतम २५ देखि अधिकतम ३५ हजार रुपैयाँसम्म कमाउने गरेका छन् नेपाली भरियाहरुले ।

यहाँ झण्डै २ सय देखि साढे तीनसयको हाराहारीमा दोलखा जिल्लाबाटमात्र आएका मानिस सिक्किममा भारी बोक्ने काम गर्छन् । उनीहरुलाई धरैले भरिया भनेर बोलाउछन । ‘जस्को हातमा नाम्लो हुन्छ सोचे हुन्छ उ नेपाली हो अनि सिक्किममा भारी बोक्न आएको र भरियाको काम गर्छ ’उनले थपे । सिक्किममा भारी बोक्नु अधिकाँशका लागि आफ्नो पुख्र्याैली पेसा सरह नै बनेको छ । धेरैको ३—४ पुस्ताको जिन्दगी सिक्किमै भारी बोकेर वित्यो । पछिल्लो पुस्ताले समेत यसलाई निरन्तरता दिइरहेको छ ।

आफ्ना हजुरबुबा, बाबु दाजुहरुले गदैं आएको काम र सिको अहिले नयाँ पुस्ताले गदैं आएको दोलखाकै ४८ वर्षीय मकरबहादुर भुजेलको भनाई छ । उनका हजुरबुबा हेमबहादुर भुजेल सिक्किममा भारी बोक्दाबोक्दै विते । झण्डै १८ वर्षको उमेरदेखि सिक्किममा भारी बोक्न थालेका उनका हजुरबुबा चारकोरी उमेर पार हुन लाग्दासम्म सिक्किमै भारी बोक्दै थिए । बुढ्यौलीका कारण नेपाल फर्किएका हजुरबुबा ८७ वर्षको उमेरमा वितेका थिए । उनका बुबाले समेत लामो समय सिक्किममै भारी बोके । भुकम्पले क्षतविक्षत बनाएको मकरबहादुरको घर अझै सम्म पूर्णरुपमा बनिसकेको छैन् । सरकारले घर बनाउन दिएको रकम पर्याप्त नभएका कारण भारी बोकेरै कमाएको पैसाले भएपनि घर सम्म ठड्याउने उनको धोको छ ।

कतिको त भारी बोक्दा बोक्दै लडेर हात खुट्टा भाचिएको छ । कति विरामले थलिन्छन् । त्यसबेला सवै मिलेर उनीहरुको उपचारमा जुटछन् अधिकाँश भरियाहरु । उनीहरुकै भनाईमा हेमन्त रानाको स्वर, कालीप्रसाद बास्कोटाको संगीतमा रहेको सुन साइली सुन साईलीको यो अन्तरा निधारमा ‘नाम्लो वरियो भावीको खेलमा परियो’ सिक्किमका भारी बोक्न आइपुगेका नेपालीको जीवनमा ठ्याक्कै मिल्छ रे ।

बाबुसँगै २२ वर्षको उमेरमा सिक्किम छिरेका मकरबहादुरले भारी बोक्न थालेको २६ वर्ष भएछ । विशेषगरी चाडपर्वका बखत उनीहरु स्वदेश फर्किने गरेका छन् । अरु बेला समय परिस्थिति अनुसार घर फर्कने गरेको उनीहरुको भनाई छ । घरमा बुढा बा आमासहित सातजनाको परिवार छ मकरबहादुरको । २०७२ सालको भुकम्पले उनको घरवार तहसनहस पारेपछि आज उनको परिवार सुकुम्वासी झै छ । ‘सवै परिवार मेरै भरमा छ’ मकरबहादुरले भने —‘महिनामा ३० हजार जति कमाउछु केही खर्च आफुलाई राख्छु खान पनि प्रयो बचेको १५ देखि २० हजार रुपैयाँ घरमा परिवारकालागि आइएमई गरेर पठाउछु ।’

परिवारको गर्जाे टार्नकै लागि आफु यहाँ सकी नसकी भारी बोकीरहेको पीडा उनले सुनाए । ‘सिक्किमका मान्छे धेरै सुखी र सौखिन छन् सानो सम्म भारी आफु बोक्दैनन् भरिया लगाउछन’ गणेश नेपालीले भने—‘त्यही भएर हामीलाई रोजगारको अवसर मिलेको छ ।’ यसपटकको दशैंमा घर जाने सोच बनाएका नेपाली १७ महिनादेखि घर फर्किएका छैनन् ।‘ घर जान मन लाग्छ ,के गर्नु गएर नेपालमा काम पाइदैन्’ काम नगरे घरको चुल्होमा आगो बल्दैन् अनि मन थामेरै भएपनि यहाँ नै भारी बोकेर आनन्द लिइरहेको छु ।’ उनले गीतकै लयमा थपे ‘कुलोमा पानी कलल, गाउँघरको तस्वीर झलल ।’

नाम्लोकै भरमा मासीक २५ देखि ३० हजार कमाउने नेपालीले केहि दिनअघिमात्र ४० हजार रुपैयाँ घर खर्चका लागि पठाएको सुनाए । यहाँ मासीक तलव आउदैंन काम गर्न सके कमाइ हुन्छ भारी नबोके यही पनि बाच्न गाहे हुने उनले पीडा सुनाए । कतिले त मागे अनुसारको ज्याला समेत नदिनेको गरेको उनीहरु बताउछन् ।

कहिले काँहि त पैसा भन्दा बढी भनाई खानु परेको गुनासो नेपाली भरीयाको छ । दिनभरि जो जहाँ भारी बोकेर पुगे पनि साँझमा सवै एक ठाउँमा भेला हुन्छन र दिनभरिको कथा एक अर्कामा सुनाउछन् । उनीहरुकै भनाईमा यहाँ भारी बोक्न अधिकाँश २०५२ सालपछि छिरेका छन् । त्यसबेला नेपालमा सशस्त्र द्वन्द शुरु भएको थियो । त्यस बेलाको नेकपा माओवादी र राज्यको भयका कारण धेरै युवा नाम्लो बोकेर विदेशिएको उनीहरु बताउँछन् ।

नेपालमा रोजगारको अवसर पाए धेरै नेपाली त्यतै अल्मिलिने उनीहरु बताउँछन् । नेपालमा रोजगारको अवसर नभएकै कारण आफुहरु विदेशमा भरिया काम गर्न बाँध्य भएको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here