नेकपा प्रदेश २ मा विवाद : सपथग्रहणमा कुर्सी तोडफोड

0
514

जनकपुरधाम,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रदेश २ को सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा विवाद भएको छ। जसमा नेकपाका कार्यकर्ताहरूले एकअर्कालाई कुर्सीले हानाहान गरेका छन्।

मंगलबार भएको शपथग्रहण कार्यक्रममा नेकपाका असन्तुष्ट नेता र कार्यकर्ताले कुर्सी तोडफोड गर्नुका साथै पार्टीका प्रदेश अध्यक्ष प्रभु साहमाथि हातपात गरेको बताइएको छ। शपथग्रहण समारोह शुरु हुनैलाग्दा बर्दिबासमा नेकपा नेता तथा पूर्वमन्त्री उमेश यादव लगायतका नेताहरूले कुर्सी तोडफोड गरेका छन्।

साथै प्रदेश अध्यक्ष साहमाथि हातपातको प्रयास हुँदा अवस्था तनावग्रस्त बनेको थियो। कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेकपाको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीको शपथग्रहण कार्यक्रम आजको लागि तय भएको थियो।

तर पदाधिकारी चयनमा पार्टीले एकलौटी गरेको भन्दै असन्तुष्टि बढेपछि अन्तिम समयमा आएर ६ जिल्लाको शपथ ग्रहण स्थगित गरिएको थियो। सिरहा र सप्तरीका पदाधिकारीको शपथग्रहणका लागि बर्दिबासमा आयोजित कार्यक्रममा समेत विवाद सृजना भएको हो।

नेकपा नेता जिवछ यादवले केही पूर्वएमाले र केही पूर्वमाओवादीका नेतासमेतले पदाधिकारी चयनमा असन्तुष्टि पोखेका छन्। उनीहरूले नै कार्यक्रममा विवाद सिर्जना गरेर तोडफोड गरेको उनले बताए। उनले भने, ‘अहिले अवस्था तनावग्रस्त छ। अहिले तत्काल कार्यक्रम स्थगित भएको छ।’-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here