प्रजातान्त्रिक योद्धाको घर–घरमा कांग्रेस

0
602

विर्तामोड।

दोस्रो चरणको देशव्यापी ‘हिपतम’ जागरण अभियान शुरु गरेको नेपाली कांग्रेसले अन्तरक्रिया, युवाकेन्द्रित कार्यक्रम, अग्रज प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जागरण अभियान अन्तर्गत शुक्रबार झापा क्षेत्र नं. १, २ र ४मा अन्तरक्रिया, प्रजातान्त्रिक योद्धासँग भेटघाट तथा जनप्रतिनिधिसँग छलफल कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ले मेचीनगरको वडा नं ४,६, ११ र १२मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पूर्वघोषित कार्यक्रम अन्तर्गत अग्रज प्रजातान्त्रिक योद्धाका घरपरिवारमा पुगिसकेको झापा क्षेत्र नं. १को प्रदेश क्षेत्रस्तरीय कार्यक्रम अन्तर्गत विशेष सामाजिक संवाद र सामाजिक विकृति÷विसंगतिबिरुद्ध जागरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका हुन् ।

मेचीनगर–१२ धाइजनमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधि विन्दिया कार्की, नेका झापाका उपसभापति राम कट्टेल, प्रवक्ता लोकराज ढकाल, क्षेत्रीय सभापति मणि उप्रेती, प्रदेश ख सभापति सीता पोखरेल लगायतले जागरण अभियानको उद्देश्य र सहभागीका जिज्ञासा समेटेर धारणा राखे । ने.का. मेनपा–१२का सभापति कालु मेचेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन टङ्क कार्कीले गरेका थिए ।

यसैबीच झापा क्षेत्र नं. १ प्रदेश क अन्तर्गत मेचीनगर–६, मेची बस व्यवसायी संघको सभाहल र मेनपा–४ बाहुनडाँगीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस मेनपा–६का वडा सभापति धनप्रसाद केरुङ र मेनपा–४का सभापति चन्द्र कोइरालाको सभापतित्वमा सम्पन्न बेग्लाबेग्लै कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधि रमेश रायमाझी, नेका झापाका उपसभापति राम कट्टेल, मणि उप्रेती, गोपाल तामाङ, प्रदेश क क्षेत्रीय सभापति हर्क फियाक लगायतले बोलेका थिए ।

यसैगरी झापा क्षेत्र नं. २ले प्रदेश र क र ख क्षेत्रमा रहेका प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेटघाट गरेको छ । दोस्रो जनआन्दोलनका शहीद राजन गिरी र जिउँदो शहीद घैलाडुब्बा निवासी सुरेश ढेना बास्केको घर–परिवारसँग भेटघाट गर्दै कार्यक्रमको प्रारम्भ गरेको कांग्रेस कार्यकर्ताको दुई बेग्लाबेग्लै टोलीले क्षेत्र नं. २ अन्तर्गत प्रदेश क र ख का प्रजातान्त्रिक योद्धासँग भेटघाट र भलाकुसारी गरेको हो ।

स्व. राजन गिरीको २०६२÷०६३को जनआन्दोलनका क्रममा २०६३ साल बैशाख ६ गते झापाको चन्द्रगढीमा सुरक्षाकर्मीको गोली लागि निधन भएको थियो । सोही दिन झापा भद्रपुरका सुरज विश्वासको पनि निधन भएको थियो ।

यसैगरी २०१८ सालदेखि नै नेपाली कांग्रेसको मुक्तिसेनामा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल, नेल, यातना भोगेका घैलाडुब्बाका सुरेश ढेना बास्केको घरमा पुगेर भलाकुसारी गरिएको प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

प्रदेश क मा प्रजातान्त्रिक योद्धाहरु डिल्ली सिटौला, उदयकान्त राजवंशी, विष्णु विमली, युवराज बिमली, चैतन्य पाठक लगायतलाई भेटेर कांग्रेसले प्रजातान्त्रिक योद्धा र उनीहरुका परिवारको विचार सुनेको हो । अभियानका केन्द्रीय प्रतिनिधि बसन्त भट्टराइ, नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटी, पार्टी प्रवक्ता लोकराज ढकाल, उमा शिवाकोटी, प्रदेश क क्षेत्रीय सभापति धर्म लक्सम्बा, लीला कटुवाललगायतको टोली प्रजातान्त्रिक योद्धाका घर–घरमा पुगेको थियो ।

यसैगरी झापा क्षेत्र नं. २को प्रदेश ख मा अभियानका केन्द्रीय प्रतिनिधि सुनिल शर्मा, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेश ख क्षेत्रीय सभापति किरण श्रेष्ठ लगायतको टोलीले प्रजातान्त्रिक योद्धाहरु नेपाली कांग्रेस झापाका संस्थापक उपाध्यक्ष दलकृष्ण श्रेष्ठ, २०१५ सालका सांसद फत्तेबहादुर बुढाथोकी, बुटन चौधरी, धर्मप्रसाद ढकाल, गोपाल टुडू, पूर्णवहादुर ढकाल कुलबहादुर पुलामी, लालबहादुर मगर, याम आचार्य लगायतको घर–घरमा पुगेर भेटघाट सम्पन्न गरेको छ ।

यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ को प्रदेश क अन्तर्गत बैगुनधुरामा जनप्रतिनिधि, स्थानीय, प्रदेश र संघीय निर्वाचनका उम्मेद्वार तथा पार्टी कार्यकर्ताबीचको अन्तरसम्बन्धका बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि दीपेन्द्र सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न छलफल कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फे, महासमिति सदस्य भक्ति सिटौला, ४ नं. क्षेत्रीय सभापति जयनारायण शाह, रोहित शाह लगायतले बोलेका थिए ।

कार्यक्रममा पार्टी र निर्वाचित जनप्रतिनिधिबीच समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको क्षेत्रीय सभापति जयनारायण शाहले जानकारी दिए । कार्यक्रममा दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले गरेको कर बृद्धि, महंगी, भ्रष्टाचार लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

मोरङमा पनि प्रजातान्त्रिक योद्धासग भेटघाट

यसैगरी जागरण अभियान अन्तर्गत शुक्रबार मोरङको क्षेत्र नं. ३को प्रदेश ख मा पनि प्रजातान्त्रिक योद्धाहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

अभियानका केन्द्रीय प्रतिनिधि खड्ग प्रसाईको नेतृत्वमा प्रदेश ख सांसद ललित श्रेष्ठ, प्रदेश सभापति गणेश खड्का, तरुण दलका अध्यक्ष छत्र सुब्बालगायतको टोलीले प्रजातान्त्रिक योद्धाहरुसँग भेटघाट र भलाकुसारी गरेको हो ।

उक्त टोलीले मणिकुमार गुरुङ, टङ्कप्रसाद सेढाई, तिलकबहादुर थापा, तेजप्रसाद ढकाल, बमबहादुर राई, गणेश चेम्जोङ लगायतको घरमै पुगेर भेटघाट गरेको केन्द्रीय प्रतिनिधि खड्ग प्रसाईंले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here