भूवन तामाङ,
को खाई बाबु को खाई । मिठो लिटो मेरो नानी बाबुले हाम्म गरेर खाई । नत्र बिरालोले खाई, कुकुरले खाई, स्यालले खाई । को खाई बाबु को खाई । घ्यू हालेको जाउलो मेरै नानी बाबुले खाई । लु छिटो गरेर खाई । नत्र अरुले नै खाई । को खाई बाबु को खाई मेरो नानी बाबुले खाई । नत्र भने मैले नै खाई ।
यस्तो अभिनय, हरेक आमाले आप्mनो काखको शीशुलाई खानेकुरा खुवाउन गरिने जुक्ति हो । शिशुले कारणवश खानेकुरा ग्रहण गर्न नमानेमा आमाले आप्mनो शीशुलाई लिटो, जाउलो या दूध खुवाउन फकाउने तरिका हो यो । नानी बाबुले खानेकुरा नखाए अरुलाई नै दिन्छु है भनेर गरिने अभिनय या एक प्रकारको घुर्की हो । घुर्की काखको नानीले बुभ्mछ पनि । अनि त नानी खानेकुरा ग्रहण गर्न राजी हुन्छ । यदि नानीले खानेकुरा खान मानेन भने आमाले, अरु (कुकुर या बिरालो, या चरा या अन्य) थोकलाई खान दिन्छु भनेर नखरा गर्दछिन् । तब काखको नानी या शिशु खानेकुरा खान मुख आँ गर्दछ । आमा र शिशुको यही संवाद र अभिनयलाई यस छोटो निबन्धमा हाम्रो देशमा विद्यमान ब्याप्त सरकारी आर्थिक अनियमितता, भ्रष्टाचारलाई बिम्बको रुपमा जोडेको छु ।
हाम्रो देशमा आर्थिक अनियमिता र भ्रष्टाचार ठूलो चर्चाको विषय बन्ने गरेको छ, तर राष्ट्र हाँक्ने जिम्मेवारी पाएका सरकार प्रमुख, मन्त्रीपरिषद् सदस्य र सांसदहरु समेत आर्थिक अनियमितता र भ्रष्टाचार, निर्मुल गर्ने हदसम्मको चिन्तन र कारवाहीमा उत्रेका देखिँदैनन् । यसको मतलब सरकार प्रमुख, मन्त्रीपरिषद् सदस्यहरु र संघीयदेखि प्रदेशसम्मका सांसदहरु लगायत जनप्रतिनिधि, कार्यकर्ता र कर्मचारीहरुलाई को खाई बाबु को खाईको अभिनय गर्दै देशको बजेट खाने छुट दिइरहेका छन् । को खाई बाबु को खाई नत्र अरुले नै खाई या मैले नै खाई भनेर घुक्र्याएपछि सबै तहतप्काकाहरुले देश विकासको बजेटलाई मीठो लिटो र जाउलो जस्तै गरीखाने सुनौलो मौका पाएका छन् ।
को खाई बाबु को खाई । देश विकास गर्ने बजेट मेरो नानी बाबुले खाई । जनकल्याणका लागि विनियोजित बजेट मेरा नानी बाबुले खाई । लु छिटो छिटो खाई नत्र बिरालोले खाई, कुकुरले खाई, स्यालले खाई, कि कागले खाई । त्यसैले को खाई बाबु को खाई । मेरै छुनुमुने नानी बाबुले हाम्म गरेर खाई । देशको भौतिक विकासको बजेट मेरै नानी बाबुले खाई । राजमार्ग, जनताको खेतमा सिँचाई गर्ने, बाँध, नहर, कुलो, खानेपानी, सडकको अलकत्रा समेतको पैसा सप्पै मेरै नानी बाबुले मीठो गरेर खाई । को खाई बाबु को खाई । राष्ट्रको धन सबै चाटीचुटी पारेर मेरै नानी बाबुले हाम्म गरेर खाई । नत्र जोगीले खाई । माग्नेले खाई ।
को खाई बाबु को खाई । दर्जनांै किलो सुन, वाईडबडी जहाज, ईन्धन आदि मेरै नानी बाबुले क्वाप्प पारेर खाई । बालुवाटारको सरकारी जग्गा, विभिन्न औद्योगिक प्रतिष्ठानहरु र जमिन्दारहरुले ओगटेका हदबन्दीभन्दा बढी जग्गा र सुकुम्बासीको जग्गा पनि मेरै नानी–बाबुले मीठोगरी खाई । केही पनि बाँकी नराखेर खाई । नत्र साधुले खाई, कागले खाई । लु लु छिटो गरी खाई । अबेर गरे अरुले नै खाई । को खाई बाबु को खाई । मन्त्रीहरु, साँसदहरु, स्थानीय निकायका पदाधिकारी र सिंगो देशका कर्मचारीहरु सबै मेरा नानी बाबुहरुले तलब र एकोहोरो सुविधा त जति पनि खाई । दोहोरो, तेहरो, चोबरो सुविधा पनि नानीबाबुहरुले मिलाई मिलाई जिब्रो पड्काउँदै स्वादले खाई । बस्दै नबसेको, गर्दै नगरेको, धेरै–धेरै बैठक, अनुगमन र भ्रमण भत्ताहरु पनि मेरा घुतुमुने नानी बाबुहरुले आँखा चिम्म गरेर खाई ।
नगरपालिका, गाउँपालिका, टोल, सबै ठाउँको बाटो, पुल, कल्भर्ट र कृषिदेखि लिएर लक्षित वर्गसम्मका कार्यक्रमका बजेट पनि मेरो नानी बाबुले खाई । उपभोक्ता समितिमा बसेर हुन्छ कि के गरेर हुन्छ कार्यकर्ता नानी बाबुहरुले लिटोरुपी पैसो अघौँजी खाई । खोला, नदी, बालुवा, गिटी, ढुंगा, जंगल, रुख, काठ जे जे भेटिन्छ ढकार आउन्ज्याल खाई । को खाई बाबु को खाई । सवारीसाधन, इन्धन, मर्मत, घोडा, मोबाईल रिचार्ज, इन्टरनेट, कोट, पंखा, भेन्जिस्ता, टाट सबै चिज ढिलो नगरी मेरै नानी बाबुले खाई । स्थानीय पदाधिकारीहरु एकैजनाले महिनाको नब्बे छाकभन्दा बढी भात सरकारी पैसाले खाई । मासुचिउरा त छेरुञ्जेल खाई । खाजाको प्याकेट घरमाभएका सानाठूला नानी बाबुले पनि खाई । भेटे जति सबै खाई । स्वदेश भ्रमण त जति गरेर पनि खाई । बाक्लैरुपमा समुद्रपार भ्रमण गरेर पनि भत्ता मेरो नानीबाबुले बिदेशी चकलेटसँगै चुस्तै खाई ।
अर्को चुनावपछि कुन–कुन पार्टीको सरकार आउला त्यसैले अहिले नै मौकामा चौका हानी बजेट खाई । के बेर र हो की ? अरु नै खालको अरिंगाल, बारुला, खागो आएर खाइदेला । चिहानबाट मसानहरु बिउँतिएर आउला अनि सबै चिज बांकी नराखी खाला । त्यसैले बेलैमा देशको बजेट मीठो मानी मानी मेरै घुतुमुने नानी बाबुहरुले खाई ।
को खाई बाबु को खाई । अवकाश प्राप्त पेन्सनर बृद्ध नानी बाबुहरुले पनि दोहोरो, तेहरो सुविधारुपी लिटो, जाउलो र घ्यू मीठो मान्दै लप्प लप्प हात चाड्दै खाई । देशलाई तिर्नुपर्ने सञ्चार तथा अन्य क्षेत्र लगायतका अर्बौ लाभकर पनि नानी बाबुले स¥याम् स¥याम् पारेर खाई । नत्र जोगिले खाई । ए झण्डै मेरो नानी बाबुलाई खुवाउन भुलेको । राष्ट्रिय गौरवका आयोजनाका पैसा पनि खाई । ठेक्कापट्टा लम्ब्याई बजेट थपि–थपि खाई । केन्द्रबाटै निगरानी गरिने नमूना कार्यालयहरुमा समेत कर्मचारी नानी बाबुहरुले घुस्रुपी लिटो खाई । मैले खुवाउन बिर्सेका मीठा–मीठा खानेकुरा मेरा नानी बाबुहरुले खोजीखोजी खाई । मिलेमतो सम्भव भएसम्म अरु पार्टीका नानी बाबुले पनि मीठोमानी खाई । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र चर्चाहरुले यीनै परिदृष्य उजागर गरिरहेका छन् । ती सबै असत्य होइनन् होला ?
असन्तुष्टिका केही परिदृष्यः
केही दिनअघि अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा गरिएको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । भ्रष्ट सरकार मुर्दावाद भन्दै डडेल्धुरामा विपक्षी पार्टी नेपाली कांग्रेसले प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला जलाएर असन्तोष व्यक्त गरेका छन् । यस्ता धेरै–धेरै असन्तुष्टिहरु विभिन्न माध्यमबाट व्यक्त भइरहेकै छन् । तर पनि सत्ताधारीहरु देशमा ब्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारहरुप्रति मौन देखिन्छन् ।
सबै तह र तप्काकाहरु कमाउ धन्दामा लिप्त छन् । अर्बांै खर्चिएर तयार पारिएको महालेखाको प्रतिवेदन मुसाले खाइरहेको होला । नजानिँदो तरीकाले आप्mनो मातहतका सबै–सबैलाई आर्थिक पाटोे सुरक्षित गर्न छुट दिइएको भान हुन्छ । त्यो पनि आमाले आप्mनो नानीलाई ‘को खाई बाबु को खाई’ भनेर गरिने अभिनय या घुक्र्याइ शैलीमा ।
कमसेकम स्वीकृत कार्यक्रम र नीति–नियमले दिएकोसम्ममात्र सुविधा लिने गरौँ । यही सुविधा मात्र पनि धेरै पर्याप्त छ । सबैले आचरण सुधारौँ र भ्रष्टाचार हुने देशहरुको सूचीबाट नेपाललाई हटाऔँ र इज्जतले बाँचौ र बाँच्न दिऔँ ।


























