विशिष्ट संस्कृति र समय !

0
421

इन्दु पूर्वेली,

गत आइतबार नेपालका पर्यटनमन्त्री योगेश भट्टराईले १५ मिनेट ढिलो हुने पूर्व संकेत गर्दै प्लेन कुराए । १५ मिनेट ढिलो हुने बुझेका यात्रीले एक्घण्टा बढी प्लेन कुर्नु प¥यो । त्यसको दुई दिनपछि मंगलबार मणिपुरको एम्फाली एयरपोर्टमा भारतीय पर्यटन मन्त्रीका कारण ४० मिनेट प्लेन रोकियो ।

एम्फालीबाट इमर्जेन्सी कामका लागि पटना हिँडेकी एक महिला डाक्टरले पर्यटन मन्त्रीको गैरजिम्मेवारीप्रति जोडदार रुपमा कुरा उठाइन् र ख्ख्क्ष्ए कल्चरले सर्वसाधारणलाई पारेको पीडा र आफ्नो कामबारे बताउँदै मन्त्रीको समयको वेपरवाहप्रति प्रश्न गरिन् । यसअघि गत जेठमा आफ्नो उडानका कारण अरु यात्रीलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले पदबाट राजीनामा दिएकी थिइन् ।

सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा व्यावसायिक उडानको समयमा हेरेफेर भएर सयांै यात्रीले दुःख पाएपछि उनको आलोचना भयो । सोही आलोचनापछि विमानमा सवार यात्री र विमान चालकहरुलाई परेको असरको सम्मान गर्दै उनले राजीनामा दिएकी थिइन् । उनको राजीनामा त्यहाँका राष्ट्रपतिले स्वीकृत पनि गरेका थिए ।

यी तीन वटा घटना हेर्दा बेग्लाबेग्लै देशका तीन मन्त्रीले देखाएको उस्तै चरित्र हो– समयको वेपरवाह । अनि एक ख्ष्उ ब्यक्तिका लागि अरु सयौंले आफ्नो जतिसुकै जरुरी काम भए पनि घण्टौं पर्खनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना । यो प्लेनमा मात्रै लागू हुने कुरा होइन । सामाजिक संघ–संस्थाको अगुवाई गर्ने व्यक्तिहरुकोे पनि साझा समस्या हो यो । जुनसुकै सामाजिक संघ–संस्था हुन् वा निजी । व्यक्तिगत होस् वा सामाजिक उत्तरदायित्वको कार्यक्रम हुन्, ख्ष्उ कल्चरले जहाँकही अस्तब्यस्त बनाएको छ– त्यो हो प्रमुख अतिथिको पर्खाई ।

अधिकांश कार्यक्रममा प्रमुख अतिथिका लागि एकघण्टा पर्खनु सामान्य झैं मानिन्छ यहाँ । ख्ष्उ कल्चर र यसले पारेको असरको कुरा गर्नुपर्दा दुई बर्षअघिको तीज मिलन समारोहको सम्झना हुन्छ मलाई । प्रमुख अतिथि बोलाइयो ११ बजेका लागि । महिलाको कार्यक्रम, भर्खरै स्थानीय तहको निर्वाचन सकिएको । स्थानीय तहकै उपप्रमुखलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरियो । चार जना बृद्धा आमाहरुलाई सम्मान, तीजको दर खुवाउने, नाचगान र चेतनामूलक नाटक प्रदर्शनको कार्यक्रम थियो ।

निर्धारित समयमा प्रमुख अतिथि आइनपुगेपछि कार्यक्रम शुरु गरियो– निर्धारित समयभन्दा लगभग आधा घण्टापछि । विशेष अतिथिबाट उद्घाटन गरेर कार्यक्रम शुरु भयो । तीज गीतमा मनोरञ्जनपूर्ण नृत्य गर्ने अधवैंशे तथा युवा महिलाहरुको उल्लेख्य सहभागिता थियो । उल्लासपूर्ण रुपमा उनीहरु रमाइरहेका थिए । कार्यक्रम सञ्चालकको भूमिकामा म आफैं थिएँ । कार्यक्रम चल्दै जाँदा सम्मानका लागि बोलाइएकी ९२ बर्षीय आमाले भन्नुभयो– ‘नानी म जाँदा हुँदैन, मलाई त पिसाव अडिदैन, छिटो–छिटो पिसाव लाग्छ । म जानुप¥यो अब, मलाई यहाँ चर्पी जान सजिलो भएन ।’ उहाँ त्यतिञ्जेलमा निकै पटक भित्र–बाहिर गरिसक्नुभएको थियो । सम्मानका लागि ल्याइएकी आमाको यस्तो पीडा सुनेर म अक्क न बक्क भएँ र घडी हेरे, लगभग १ः३० बजिसकेको रहेछ । ११ बजेका लागि बोलाइएकी प्रमुख अतिथि पुग्नुभएकै थिएन । म असमञ्जसमा परें प्रमुख अतिथि आएरै सम्मान गरौं– बृद्ध आमाको पीडा कसरी कम गर्ने ? नगरौं– उहाँलाई त्यसै पठाउन पनि मिलेन । कसैसँग सोध्नेभन्दा पनि मेरो अन्तर्मनले भन्यो– ‘निर्धारित समयभन्दा अढाइघण्टा बितिसक्दा पनि नआउने प्रमुख अतिथिलाई नपर्खीउँ ।’

मैले सम्मानको कार्यक्रमलाई अघि बढाएँ । चारजनामध्ये एकजना आमालाई सम्मान गरिसक्दा प्रमुख अतिथि हस्याङ–फस्याङ गर्दै कार्यक्रम हलभित्र छिर्नुभयो । कुनै प्रतिक्रिया नगरिकन मैले खाली रहेको प्रमुख अतिथिको सम्मानमा उहाँलाई राखें र कार्यक्रम अघि बढाएँ । तर, मनमा प्रश्न उब्जियो र अहिले पनि कुनै कार्यक्रममा प्रमुख अतिथिले ढिलाई गर्दा उब्जन्छ– ‘यदि भ्याइँदैन भने सबै ठाउँमा म नै पुग्नुपर्छ भन्ने भावना किन राख्ने ? समय जुध्यो भने आफ्नो निर्णयमा बढी महत्वको कार्यक्रम छानेर गए त भइहाल्थ्यो नि । आयोजकले प्रमुख अतिथि नै नपाउने कुरा त हुँदैन । ख्ष्उ संस्कृतिको शिकार कतिञ्जेलसम्म बनिरहने ?’ त्यसो त आयोजक र सहभागीका रुपमा विभिन्न सामाजिक संघ–संस्थाका कार्यक्रममा प्रमुख अतिथि पर्खँदा अहिलेसम्म कति समय खेर फालियो ? त्यसको त कुनै हिसाब–किताब नै छैन ।

भनिएको छ– ‘एक सेकेण्डको महत्व सवारी दुर्घटनाबाट बचेको मानिसलाई सोध, एक मिनेटको महत्व बस छुटेको यात्रीलाई सोध, एक घण्टाको महत्व प्रेमी वा प्रेमिका पर्खिएर बसेका प्रेमी–प्रेमीकालाई सोध…..।’ बसको तुलनामा सुविधासम्पन्न र छिटोछरितो यात्राका लागि प्लेनमा पुगेकाहरुले नै एक–डेढ घण्टासम्म कुर्नुपर्ने ‘विशिष्ट संस्कृति’ को पद्धति कसरी र कहिले हट्ला ? साच्चै सबै मानिस रोजगार र घण्टैपिच्छेको श्रमको मूल्य पाइन्थ्यो भने वा पर्खिएवापत क्षतिपूर्ति भराउने व्यवस्था थियो भने एउटा प्रमुख अतिथिलाई पर्खिएर बस्ने सयौंको समयको मूल्य, एकजनाका लागि प्लेन डिले भएको यात्रीको मूल्य, कति हुन्थ्यो होला ?

सयौं यात्रीको आ–आफ्नै गन्तब्य थियो होला आइतबार र मंगलबार पनि । एक घण्टा प्लेन कुर्दा उनीहरुले कहाँ–कहाँ के–के गुमाउनुप¥यो त्यसको लेखाजोखा भएन । कतिको अन्तर्राष्ट्रिय उडान थियो कि ? कसैको निर्धारित समयमै बस भेटेर गन्तब्यमा पुग्नु थियो कि ? कोही विरामी थिए भने त झन् एक घण्टामा ज्यान नै जान सक्थ्यो । तर, त्यो संवेदनशिलतातिर ध्यान दिनुको सट्टा मन्त्रीले आफ्नो बारेमात्रै सोच्दा प्लेन चढ्नेबित्तिकै उनले जनआक्रोशको सामना गर्नुप¥यो । तर, एक घण्टा ढिलाइले बिग्रिएका जनताको कामका बारे…. ? कसैले केही सोचेनन् । फेरि तिनै मन्त्रीमाथि अपमान गरियो भनेरै सामाजिक सञ्जालहरु भरिए (नेपालको सन्दर्भमा ।

तर, सोही प्रकृतिको भारतको घटनालाई भने– सर्वसाधारणको बिग्रिएको कामको दृष्टिकोणबाट हेरियो अनि मन्त्रीको ढिलाईले सिङ्गो सरकारको ऐना देखाउँछ भनी विश्लेषण गरियो । सोचौं त हामीले कहाँनिर सर्वसाधारण नागरिकको विषय र अधिकारलाई उठान गरेका रहेछौं ? तर, नेपाल र भारतको समानताचाहिँ– पर्यटन मन्त्रीको मौनता रह्यो । जनताको सेवाका लागि जनताबाटै निर्वाचित प्रतिनिधि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले आफ्नो सानो गल्तीका कारण जनतालाई दिएको सास्तीलाई कति गम्भिरताका साथ लिइन् ! समयको महत्वको सम्मान र आफ्ना जनताले पाएको दुःखको प्रायश्चित गर्न राजीनामा नै दिइन् । यो जनताका दृष्टिकोणबाट हेर्दा सम्मानयोग्य छ ।

हामी पश्चिमा संस्कृतिको खुब अनुकरण गर्छौं । जन्मदिनमा अष्टचिरञ्जीवीको पूजा गरेर दियो बाली दानदक्षिणा गरेर शतायुको कामना गर्दै खाने÷खुवाउने हाम्रो पूर्वीय सभ्यता अनुकूलको जन्मोत्सव परम्परा अहिले बलि राखेको दिप निभाएर केक काट्नेमा पुगेको छ । यस्तै अरु–अरु सांस्कृतिक पक्ष र लवजमा हामीले गरेको पाश्चात्य शैलीको अनुकरणको त झन् कुरै नगरौं । आखिर सिक्नैपर्छ भने ख्क्ष्ए (विशिष्ट) संस्कृतिको अन्त्यका लागि जोसेफाको कदमलाई किन अनुकरण नगर्ने ? यहाँ त अरबौं भ्रष्टाचारको आरोप लाग्छ– सत्ताको नेतृत्वमा बसेका जनप्रतिनिधिलाई । आरोपको पुष्टी हुन्छ कि हुँदैन ? अनुसन्धानले समय लिन सक्छ, अनुसन्धान अवधिभर पदमा बसिरहने नैतिकता विश्व समुदायमा हुँदैन शायद । तर, यहाँ त राष्ट्र र जनताको सेवा र सम्मान विपरीत कलंङ्कित बिल्ला भिरेर ख्क्ष्ए बनिरहने संस्कृति हावी छ । यसमा हामी जनताको पनि धेर–थोर दोष त छँदैछ– आस्थाका आधारमा राष्ट्र र जनताको अहितमा काम गरी आफ्नै खल्ति भरेको व्यक्तिलाई पनि ख्क्ष्ए को विल्ला भिराइरहने, गुट खडा गरेर उसलाई टिकाउन दवाव दिइरहने, समयको पालना ग¥यो कि गरेन ? देश र जनताको हितमा काम गर्दै छ कि छैन ? भनेर कहिल्यै खबरदारी नगर्ने । अनि कसरी हुन्छ त समृद्धि र विशिष्ट संस्कृतिको अन्त्य ?

केही बर्षयता झापाका सहारा, एनएमसी, सिम्रिकसहितका केही सहकारीले समयको महत्वलाई पालना गर्न थालेका छन् । यो स्वागतयोग्य र अनुकरणीय छ, उनीहरुले आयोजना गरेको कार्यक्रममा समयमै पुग्ने ‘विशिष्ट’ व्यक्तित्वहरु अन्य कार्यक्रममा भने एक÷डेढ घण्टा ढिलै गर्छन् । साँच्चै अब चाहिँ निर्धारित समयभन्दा ढिलो गर्ने ‘विशिष्ट’लाई हर्जना वा कस्तो कारबाही गर्ने भन्ने नियम बनाउन ढिला भइसक्यो । बनिसकेको संविधान फेर्न त दुईतिहाई चाहिएला, दुईतिहाई मतकै सरकारका मन्त्रीले गरेको समयको वेपरवाह सच्याउने व्यवस्था गर्न सरकार तयार पनि नहोला– सायद । तर, प्रदेश सरकारले बनाउने थुप्रै ऐनहरुमा समयको पालना नगर्ने व्यक्तिलाई कस्तो कारबाही गर्ने ? भन्ने विषयले महत्व पाएन भने हामी नेपालीहरु यो विशिष्ट संस्कृतिबाट कहिल्यै मुक्त हुँदैनौं र निष्कलङ्कित नेतृत्व पाउन पनि मुश्किल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here