गुणस्तरहीन भन्दै भद्रपुरका मेयर दिए नाला भत्काउने आदेश

0
1158

भद्रपुर।

फिल्डमा इञ्जिनियरसहित टोली नखटिँदा झापाको सदरमुकाम भद्रपुरमा निर्माणाधीन योजनाका कामहरू गुणस्तरहीन भइरहेको पाइएको छ ।

भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौँ योजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसमध्ये अधिकांश निर्माणस्थलमा इञ्जिनियरसहितको अनुगमन टोली नखटिँदा ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको हो । भद्रपुर नगरपालिका कार्यालयले ठेक्का लगाएको सडक नाला निर्माण कार्य गुणस्तरहीन भइरहेको स्थानीयले नगरपालिकालाई जानकारी गराए लगत्तै नगर प्रमुख जीवनकुमार श्रेष्ठले सडक नाला भत्काउन लगाएका छन् ।

भद्रपुर वडा नम्बर ५, ६ र ८ जोडिएको संगम चोकदेखि जनता चोकसम्मको सडक नालाको काम धमाधम भइरहेको छ । तर, सो सडक नाला तोकिएको मापदण्ड विपरीत ठेकेदारले गुणस्तरहीन बनाउन लागेपछि नगर प्रमुख श्रेष्ठले निर्माणस्थल पुगेर आइतबार दिउँसो भत्काउन लगाएका हुन् । निर्माण गरिएको सो नाला दुई घण्टा नबित्दै भत्काइयो । माटो मिसिएको बालुवा, त्यसमाथि बालुवा र सिमेन्टको मात्रा मापदण्ड अनुसार मिसावट नगरी नाला बनाउन थालेको प्रत्यक्षदर्शी वडासदस्य प्रकाश शर्माले बताए ।

नाला बनाउने समयमा आएर हेर्दा बालुवा र सिमेन्टको मात्रा नमिलेपछि आफूले तत्काल कामदारलाई खबरदारी गरेर हिँडेको भन्दै उनले भने– ‘यस विषयमा अरूले पनि गुनासो गरेपछि नगर प्रमुख श्रेष्ठले इञ्जिनियर बोलाएर बनाइएको नाला भत्काउन आदेश दिएको हो ।’ सडक नाला पनि बाङ्गो बनाउँदै, त्यसमाथि गुणस्तरहीन काम भइरहेको स्थानीय बाबुलाल अग्रवालले बताए । ‘मापदण्ड बमोजिम ठेकेदारले काम नगरेको विषयमा जनगुनासो आइरहेको थियो’– स्थानीय दीपक अग्रवालले भने– ‘यस विषयमा जनप्रतिनिधि र स्थानीय दुवै पक्षले खबरदारी गर्न जरुरी छ, ।’

सो नालामा दुई नम्बरी इँटाको समेत प्रयोग भइरहेको स्थानीय बताउँछन् । मान्छेले देख्छ भनेर ठेकेदारले एक नम्बरी र दुई नम्बरी इँटा मिसावट गरेर निर्माण गरिरहेको देखिन्छ । इँटाको विषयमा निर्माण कम्पनीका इञ्जिनियर र नगरपालिका इञ्जिनियरले समेत खासै चासो देखाएका छैनन् । १ नम्बर प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५।७६ मा समपूरक कोषमार्फत संगम चोकदेखि भद्रपुर बजार हुँदै मेची किनारसम्म सडक पुनःनिर्माणका लागि सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरेको थियो ।

सोही बजेटमार्फत नगरपालिकाले न्यूनतम् अङ्क करिब एक करोड १८ लाख तोकेर सूचना प्रकाशन गरेको थियो ।
२०७६ असार १८ गते एबी निर्माण सेवा भद्रपुरका सञ्चालक सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएको नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । करिब ५४० मिटर सडकको दुवैतर्फ इँटासहितको सडक नाला यही यही पुस १९ गतेसम्ममा बनाइ सक्नुपर्ने सम्झौता भएको इञ्जिनियर रञ्जितकारको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here