झापा।

झापाको भद्रपुरस्थित जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाहरुमा चिलाउने रोग दादको महामारी फैलिएको छ ।
एकमहिना यता फैलिएको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । अधिकांशको गुप्ताङ्ग लगायतका अप्ठेरो ठाउँमा दाद आएको बताइएको छ ।
कारागारका सिनियर अहेव बलदेव साहका अनुसार ११ सयभन्दा बढी थुनुवा र कैदी रहेको यहाँ आधाभन्दा बढीमा दादको समस्या रहेको छ । ५ सयभन्दा बढीलाई औषधि तथा मल्हम दिइएको छ तर पनि दाद नियन्त्रणमा आउन सकेको छैन– उनले भने । कैदी तथा थुनुवा कोचाकोच बस्नुपर्ने बाध्यताले गर्दा यसले महामारीको रुप लिएको समेत साहले बताए ।
दाद आएको मानिसले सरसफाईमा विशेष ध्यान दिनुपर्ने र आफ्ना सामान आफूले मात्र चलाउनुपर्नेमा यसो नहुँदा समस्या भएको छ– उनले भने । मल्हम् लगाउञ्जेल ठीक हुन्छ फेरि आइहाल्छ, यसले हामीलाई हैरान बनाएको छ– साहले भने । यस्तै अवस्था रहे कारागारभित्रका सबैलाई दादको समस्या हुनसक्ने उनले बताए ।
जिल्ला कारागारका जेलर राजेन्द्र निरौलाका अनुसार कारागारभित्र छालाको रोग अर्थात् दादको समस्या भएको थाह पाएपछि छाला रोग विशेषज्ञ ल्याएर जाँच तथा औषधि प्रदान गरिएको छ । औषधि प्रयोग भए पनि यो नियन्त्रणमा आउन सकेको छैन– उनले भने ।
गर्मीका कारण कारागारमा रहेका कैदीबन्दी दैनिक ५०देखि ६० जनासम्म बिरामी पर्ने गरेको र अहिले बिरामीलाई अस्पताल लैजानका लागि गाडीको व्यवस्थापन गरिएको समेत कारागारले जनाएको छ । एकपटकमा २० जनासम्मलाई लैजान मिल्ने गरी गाडीको ब्यवस्थापन गरेका छौं र यसबाट केही सहज भएको छ– जेलर निरौलाले भने ।
दाद अति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखापर्ने छालाको सङ्क्रमण भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । यो फङ्गस (ढुसी)का कारण आउँछ । यो यस्तो जीवाणु हो जसले जीवित तथा अजीव वस्तुको शरीरलाई सङ्क्रमण गरेर नष्ट गराइदिन्छ । सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुस्किल हुने बताइन्छ ।































