औषधि खरीदका लागि बजेट नहुँदा समस्या

0
624

झापा,

झापा कारागारका कैदीबन्दीका लागि औषधि खरीदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ ।

कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी एक हजार १२० कैदीबन्दी छन् । सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० भन्दा बढी बिरामी हुने गरेका छन् । कारागारमा दमका रोगी, मुटुरोगी, एचआइभीका बिरामी पनि छन् ।

यति धेरै कैदीबन्दी रहेको कारागारमा सरकारले औषधि उपचार खर्चका लागि चालू आर्थिक वर्षमा रु १३ लाख मात्र बजेट विनियोजन गरेको प्रमुख निरौलाको भनाइ छ । “यो बजेटले छ महीना पनि धान्दैन”, उहाँले भन्नुभयो, “साँघुरो बसाइँ, फोहरमैलालगायतका कारण उनीहरु बिरामी नभएको दिन नै हुँदैन ।”

उहाँले गत वर्ष सरकारले रु १८ लाख बजेट विनियोजन गरे पनि खर्च रु २० लाख भएको बताउनुभयो । चालू आव २०७६÷७७ मा पठाएको रु १३ लाख खर्चबाट गत वर्षको रु दुई लाख औषधिको बक्यौता तिरेको र बाँकी रहेको रु ११ लाखले मुस्किले छ महीना मात्र पुग्ने उहाँले जानकारी दिनुभयो ।

कैदीबन्दीमा प्रायःजसो छाला र भाइरल फिबरको समस्या भएको बताउँदै उहााले भन्नुभयो, “दुई सय बढीमा यो समस्या थियो, स्वास्थ्य कार्यालय झापा, भद्रपुर नगरपालिकाको औषधि सहयोग र ओमसाइ पाथीभरा अस्पतालको प्र्राविधिक सहयोगमा केही न्यूनीकरण भएको छ ।”

विभिन्न परिबन्दमा परेर कैदी जीवन बिताइरहेकालाई पाथीभरा अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले महीनामा एकपटक कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गरेर सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here