गाईको आयात रोक्न पहल गरौं

1
987

रामचन्द्र उप्रेती,

झापा, मोरङ र सुनसरीमा कति गाई पालिएका होलान् ? कति दूध उत्पादन हुन्छ ? कति दूधको खपत हुन्छ ? दूध बढी भएमा कसरी व्यवस्थापन गर्न सकिएला ताकि किसानले मिल्क होलिडे व्यहोर्नु नपरोस् । यी साधारण प्रश्नको तथ्यगत जवाफ सायद कसैसँग छैन । सबैले अन्दाज गर्ने मात्रै हो । मैले पनि यहाँ केही अन्दाज गरेको छु । अरु पहाडी दुई जिल्ला इलाम र धनकुलालाई पनि समावेश गर्ने हो भने के भन्न सकिन्छ भने यो क्षेत्रमा दूध उत्पादन अहिले पनि देशका अरु धेरै जिल्लाकोभन्दा राम्रो हुन्छ ।

देशमै दूध उत्पादनमा नाम कमाएका यी जिल्लामा पनि अवस्था कस्तो छ भने परम्परागत, निर्वाहमुखी मात्रै हो भन्दा फरक पर्दैन । दूधको उत्पादन बढेसँगै यहाँ डेरी उद्योगहरु पनि थपिँदै छन् । बजार पनि विस्तार भइरहेको छ । देशमा जम्मा कच्चा दूधबाट पाउडर बनाउने तीनवटा उद्योगमध्ये एक यहाँ छ र अर्को प्रदेश सरकारको सहयोगमा बन्दैछ । यो खुशीको कुरा हो । यो उद्योग समेत सञ्चालनमा आएपछि यो प्रदेशमा कच्चा दूध धेरै भएको समयमा पाउडर बनाउने र ड्राई सिजनमा प्रयोग गर्न सकिन्छ वा अरु प्रदेशलाई बिक्री गर्न सकिन्छ ।

दूध उत्पादनको पकेट क्षेत्र बन्दै गएको यहाँ उत्पादनको आधार कति बलियो छ भनेर हेरौं । सबैभन्दा पहिला दूध उत्पादनको लागि गाई कस्ता छन् र श्रोत के हो ? यहाँ दूध दिने गाई मुख्य त दुई किसिमका छन् । एक साधारण चोक्रे गाई र विकशित हुँदै गएका वा गरिएका जर्सी वा हलिस्टिन गाई । साधारण चोक्रे गाईमा उन्नत जातको गोरु लगाउने वा एआई गराउने किसानको चाहना र चेतना जाग्रित हुँदैछ । त्यसैले गाउँघरका साधारण गाईको क्रमशः सुधार हुँदै गरेको अवस्था छ, तर सन्तोष जनक सुधार छैन । कतिपय किसान उन्नत जातको ब्रिड नपाएर हैरान छन् । सरकारले उपलब्ध गराउने ब्रिडले कतिपय अवस्थामा माउकोभन्दा पनि कमशल बाच्छी दिएको गुनासो गर्ने गरेका छन् । गाईपालनको सन्दर्भमा यहाँ देखिएका कतिपय समस्या जस्तै पशु स्वास्थ्य, नश्ल सुधार, आहार, गोठ आदिका बारेमा क्रमशः सुधारका लक्षण देख्न थालिएको छ । अलि व्यवस्थित र योजना अनुसार हुन सके यीनमा अलि चाडो प्रगति हुने र राम्रो नतिजा देखिने अवस्था आउला भन्ने आषा गर्ने ठाउँ छ ।

गाईपालनमा खासै चर्चा नभएको अर्को र निकै ठूलो समस्या भनेको यहाँका गोठमा बाच्छी हुर्काउने क्रम योजनाबद्ध नभएको पाइयो । त्यसैले यहाँ बर्षेनि गाई भारतबाट अबैधरुपमा ल्याउने गरेको अवस्था छ । एक अध्ययन अनुसार नेपालमा बर्षेनि ६० देखि ७० हजार गाई भारतबाट ल्याइन्छ । गाईको यो आयात अबैध हो । भारतले बैधानिक रुपमा गाई निकासी गर्दैन । त्यसैले कति गाई ल्याइन्छ यसको रेकर्ड भन्सार बिन्दुमा हँुदैन । तर, यति हो कि गाई निरन्तर भारतबाट आयात भइरहेको छ । यदि एउटा गाईको सरदर मूल्य नेपाली एक लाखमात्र मान्ने हो भने पनि बर्षेनि आयात गरिएका गाईका लागि नेपालले बार्षिक छ अर्ब माथिको रकम भुक्तानि गरिरहेको छ । यसको अर्थ यदि हामीले बाच्छी हुर्काउने काम योजनाबद्ध रुपमा यहीँ गर्ने हो भने यो व्यवसायमा देशमा वार्षिक छ अर्बको व्यवसायको बजार सुरक्षित छ ।
बाच्छी हुर्काउने कार्यक्रम सञ्चालन गर्न के–के गर्नुपर्ला ? यस बारेमा प्रदेश सरकार र स्थानीय पालिका सरकारले किसानलाई प्रोत्साहित गर्नुपर्छ ।

संघीय वा प्रदेश सरकारले विशेषगरी उन्नत जातको सेक्स सिमेनको भरपर्दो व्यवस्था गर्नुपर्छ । यो त्यति ठूलो कुरा होइन । यस्तो सिमेन विदेशबाट झिकाउन पनि सकिन्छ र देशमै श्रोत केन्द्र स्थापना गर्न पनि सकिन्छ अथवा भएको श्रोत केन्द्रको स्तरोन्नति गर्ने, पूर्ण क्षमतामा चलाउने मात्रै गर्दा पनि धेरै काम हुन्छ ।

एक–दुई माउदेखि चार–पाँच माउसम्म गाई पाल्ने किसानले गोठमा बाच्छी हुर्काउने गरे पनि ती स्वस्थ र हिष्टपुष्ट भएका हुँदैनन् । ठूला भनिएका फर्ममा पनि बाच्छी हुर्काउने गरी योजना बनेको देखिँदैन । त्यसैकारण बाच्छीले सुरक्षित सेवा पाउँदैनन् । कमजोर स्वास्थ भएका अर्थात् आँत छिनेका बाच्छीमा बाली ढिलो लाग्ने, यस्ता बाच्छीमा धेरै उन्नत जातको गोरु वा ब्रिड लगाउँदा ब्याउन सकस हुने गर्छ । त्यसैले स्वास्थ कमजोर भएका बाच्छीमा एभरेज खालको साँडे वा ब्रिड लगाउनुपर्ने हुन्छ । यसबाट नश्ल सुधार चाहेको स्तरमा हुन सक्दैन । दुई पुस्तामै हुनुपर्ने सुधार पाँच पुस्तामा पनि नहुने अवस्था आउन सक्छ । अहिले त्यही भइरहेको छ ।

किसानका गोठमा किन स्वस्थ बाच्छी भएनन् भनेर अध्ययन गर्नुपर्छ । यसको कारण पत्ता लगाए पछि निराकरण गर्न सजिलो हुन्छ । एक अध्ययन अनुसार एउटा बाच्छीले स्वस्थ हुनका लागि उसलाई आवश्यक पर्ने दूध खान पाउनुपर्छ । बिरामी हुँदा उपचार पाउनुपर्छ, बस्ने गोठ सफा र सुरक्षित हुनुपर्छ । घाँसदाना प्रयाप्त खान पाउनुपर्छ । तातो–चिसो अर्थात् गर्मी जाडोको मौसममा उचित तापक्रम भएको सुरक्षित बासस्थानको आवश्यकता पर्छ । किसानले यो कुरामा कतिको ध्यान पु¥याएका होलान् ? हाम्रा किसान तत्काल अनुत्पादक रहेको बाच्छीको स्याहार सही तरिकाले गरिरहेका छैनन् । बाच्छीले समयसम्म अघाउँजी अर्थात् आवश्यकता अनुसारो दूध खान पाएको हुँँदैन । किसानले बाच्छीको भागबाट पनि केही दूध लिएर बेच्न चाहन्छन् । यसोगर्दा तत्काल पैसा आउँछ । प्रयाप्त दूध खान दिने हो भने एउटा बाच्छीले करिब आठ–नौ महिनामा रु.२५ हजारभन्दा बढीको दूध खाने हिसाब छ । किसानले सोच्ने गर्छन् दूध नै २५ हजारको खान्छ । त्यसपछि अरु २० महिना जति खान मात्रै दिएर पाल्नुपर्छ । अर्थात् बाच्छीलाई करिब अढाई वर्ष एकोहोरो लगानी गरिरहनु पर्छ । आम्दानी त त्यसपछि मात्रै दिने हो, त्यो पनि सबै हिसाबले ठिकठाक भएमा । किसान निरन्तर लगानी गरेर यति लामो समय पर्खन सक्दैनन् ।

किसान तुरुन्तै आम्दानी दिने दूधालु गाई किनेर ल्याउन चाहन्छन् । त्यो पनि धेरै दूध दिने । यस्ता गाई हाम्रो परिवेशमा हुँदैनन् र भारतमा गएर त्यहाँको गोठमा छनौट भएका २० लिटर हाराहारीमा दैनिक दूध दिने गाई खरिद गरेर ल्याउँछन् । किसानले हिसाब लगाउँछन् गाईले २० लिटर दैनिक दूध दिन्छ, १० लिटर दूधको आम्दानी उसैलाई अर्थात् दानापानीमा, १० लिटरको आम्दानी आपूmलाई । करिब नौ–दश महिनामा गाईले दाम उठाउँछ । गाई र बाच्छो वा बाच्छी जे हुन्छ त्यो पनि फाइदा । यो सोझो हिसाबमा किसान हुन्छन् । तर, गाईले ठाउँ सरे पछि, मालिक अर्थात् हेरचाह गर्ने मानिस फेरिएपछि, साथी फेरिएपछि, वातावरण फरक परेपछि, खानपिनमा परिवर्तन भएपछि, हावापानी र मौसम फेरिएपछि जस्ता कारणले गाईको उत्पादन घट्छ । गाई विरामी हुन थाल्छ । सधै दूध एकनासले आउँदैन । यस्ता कारण किसान मार्कामा पर्ने गर्छन् । अर्को एक अध्ययन अनुसार यस्ता गाईमा बाँझिने र ढिलो बाली लाग्ने समस्या पनि धेरै हुन्छ । यदि गोठमा हुर्किएको वा स्थानीय जातमा नश्ल सुधार हुँदै आएको भए यस्ता गाईमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने थियो । बिरामी कम हुने थिए । खानपिनमा सहज हुने, वातावरण अनुकूल हुने, स्थानीय गोठमा बस्न अभ्यस्त हुने आदि कारणले उत्पादनमा धेरै उतारचढाव हँुदैन । तर, आयातित गाईमा यो समस्या धेरै हुन्छ ।

किसानले सोच्ने गर्छन् बाच्छी हुर्काउने यति लामो र खर्चिलो प्रकृया अपनाउनुभन्दा बरु दूध छुटेपछि बाच्छी जतिमा बिक्छ बेची दिने सोचमा हुन्छन् । यस्ता बाच्छी धार्मिक मान्यता अनुसार गौदानका लागि तयार हुन्छन् । धेरथोर दाममा बिक्छन् नै । पाउनेले सित्तैमा पाउने भएकाले जस्तो भए पनि स्वीकार्नु पाउनेको बाध्यता हो भने दान दिने बाच्छी किन राम्रो, बलियो चाहियो । जस्तो भए पनि बाच्छी भए पुग्छ । सस्तो चाहियो । बस् । यो सोचका कारण हाम्रा बाच्छी र बाच्छी पाउने सबैले दुःख पाएका छन् । उत्पादन न्यून हुनु स्वभाविकै भयो ।

अब के गर्ने ?:

स्थानीय पालिकाहरुले आफ्नो क्षेत्रका गाईपालक किसानलाई बाच्छी हुर्काउन प्रेरित गर्न सक्छन् । यसका लागि ठूलो लगानी चाहिँदैन । हरेक पालिकाले वर्षमा एक सयदेखि दुई सयको संख्यामा बाच्छी हुर्काउने गरी किसानलाई बाच्छीको लागतमा सहभागिता जनाउन प्रतिबाच्छी १० देखि १५ हजार अनुदान दिने व्यवस्था मिलाउने । अनुदान पाउने बाछी कस्तो हुनुपर्छ ? मापदण्ड तयार गर्ने । जस्तै उमेर (महिना) अनुसारको तौल, मोटाई, उचाई निर्धारण गरेर मापदण्ड पुगेका बाच्छीलाई तोकेको अनुदान दिने हो भने किसानले बाच्छीलाई तत्काल आम्दानीको श्रोत मानेर राम्रो हेरचाह र स्याहार गर्ने छन् । यस्ता बाच्छी किसानले अनुदानपछि आफ्नै गोठमा पाले पनि भयो र बिक्री गरे पनि भयो । पालिकाभित्र खास गाईगोठलाई बाच्छीको श्रोतकेन्द्रका रुपमा विकास गर्ने । पूर्वाधार निर्माण र आहारका लागि केही अनुदान (प्रतिबाच्छी करिब पाँच हजार पर्ने गरी) दिने हो भने अब माउबाट दूध छुटेका यस्ता बाच्छी मात्रै संकलन गरेर हुर्काउने गाई फार्मको विकास गर्न सकिन्छ । यस्ता फर्महरु गाईको श्रोतकेन्द्र बन्न सक्छन् ।

पालिकाबाट अनुदान पाउन चाहने किसानहरु पालिकामा सूचीकृत हुन जरुरी छ । पालिकाले सूचना गरेर किसानलाई सूचीकृत गर्ने पहिलो काम हुनुपर्छ । त्यसपछि गाई ब्याएको बखत (१० दिनभित्र) गाई सुत्केरी भएको सूचना दिने । यस्तो सूचना दिएर पञ्जिकृत भए वापत गाईधनीलाई गाईको सुत्केरी भत्ता प्रतिगाई रु. एक हजार दिने । यसो गर्दा गाई ब्याएको सूचना पाइन्छ । बाच्छीको वास्तविक लागत राख्न मद्दत पुग्छ । बाच्छीको माउको बारेमा जानकारी हुन्छ । अनुदान लिन चाहने किसानले बाच्छीको राम्रो हेरचाह र स्याहार गरेर तोकिएको मापदण्ड अनुसारको शारीरिक विकास भएको हुनुपर्छ । तब मात्रै तोकिएको अनुदान पाइने व्यवस्था गर्नुपर्छ । नौ–दश महिनामा यस्तो अनुदान दिने र बाच्छी किसानले बिक्री गर्न चाहेमा मापदण्ड पुगेको बाच्छी स्थानीय श्रोतकेन्द्रले खरिद गरिदिने व्यवस्था गर्नुपर्छ । किसानले आपैmले पाल्न चाहेमा पाल्न दिनुपर्छ । यस्ता मापदण्ड अनुसारका स्वस्थ बाच्छी २० देखि ३० हजारमा किनबेच हुँदा किसान बाच्छी हुर्काउन उत्साहित हुनेछन् । बाच्छी हुर्काए वापतको लागत बाच्छीले बोक्छ र अनुदानमा पाएको रकम नाफा हुन्छ ।

तोकिएका श्रोतकेन्द्रले जम्मा गरेका बाच्छीको सामुहिक हेरचाह र स्याहार हुन्छ । यस्ता बाच्छीले विज्ञको सेवा पाउने छन् । यस्ता श्रोतकेन्द्रहरुमा पशुविज्ञ राखेर अनुसन्धान गर्न सहज हुन्छ । विज्ञको रेखदेखमा हुर्किन पाएका यस्ता बाच्छीमा उनीहरुलाई अनुकूल हुने जातको ब्रिड दिएर थप हुर्काउने गर्नाले स्वस्थ, सूचीकृत यस्ता बाच्छी वा पहिलो बेते गाई किन्न इन्छुक किसान श्रोतकेन्द्रमा आउने छन् । यो सम्बद्ध सबैका लागि उपयोगी हुन्छ । यस्तो श्रोतकेन्द्र झापाका १५ पालिकामा एक–एक वटा गर्न सके झापाले क्रमशः देशलाई नै गाई उपलब्ध गराउने काम गर्न सक्छ । झापाको यो सिको अरु जिल्ला र पालिकाहरुले गर्दै जाँदा केही वर्षपछि देशले भारतबाट गाई ल्याउनुपर्ने अवस्था नहुन सक्छ । देशको बार्षिक छ–सात अर्ब रुपैयाँको बचत हुन्छ । देशमा रोजगारी बढ्छ । किसानलाई यस किसिमको कार्यक्रमबाट अप्रत्यक्ष रुपमा समेत राम्रो फाइदा हुन्छ । हरेक वर्ष गाई खरिदका लागि जति पैसा देश बाहिर जान्छ त्यति पैसा सबै मिलेर योजनाबद्ध काम गर्ने हो भने केही वर्षमा देशले गाई विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । लौ न केही गरौं ।

1 COMMENT

  1. उन्नत जातको सिमन आयात गर्ने र वाच्छी हुर्काउनका लागि दानमा अनुदान दिने कार्यक्रम आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here