सुरुङ्गा।

झापाको पर्यटकीय नगरी सुरुङ्गामा निजी लगानीमा अर्को फनपार्क सञ्चालनमा ल्याइएको छ ।
कनकाई नगर क्षेत्रमा सफल व्यवसायीको छबि बनाएका मिनाल तिम्सिनाको करिब ६ करोडको लगानीमा फनपार्क सञ्चालनमा आएको हो । हाल एक बिगाह क्षेत्रमा फैलिएको फनपार्क चाँडै १५ बिगाहमा फैलिने र यसको लगानी एक अर्ब रुपैयाँ पुग्ने सञ्चालक तिम्सिनाले बताए ।
कनकाई नगरमा महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु यस क्षेत्रमा धनुषकोटीधाम, कोटीहोम, जामुनखाडी सिमसार, सेल्फीडाँडा, जगन पाँडेको दरबार लगायतका पर्यटकीय स्थानहरु रहेका छन् ।
कनकाई–३ नयाँबस्तीमा रहेको फनपार्कमा दुई स्वीमिङ्ग पुल, चिसो र तातो पानीको स्नान गृह रहेका छन् भने फनपार्कमा निकट भविष्यमै भ्यूटावरसहितका कृत्रिम तथा प्राकृतिक पर्यटकीय स्थलको निर्माण गरिने अर्का सञ्चालक टीकाप्रसाद तिम्सिनाले बताए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र च्याम्बर अफ कमर्श प्रदेश नं. १का अध्यक्ष राजेन्द्र घिमिरेले संयुक्त रुपमा फनपार्कको उद्घाटन गर्दै सुरुङ्गामा पर्यटकीय गन्तव्य थपिएकोमा खुशी प्रकट गरे । कनकाई फनपार्क खुलेपछि सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सहयोग मिल्ने उनीहरुको भनाइ थियो ।






























