बाल विकासका शिक्षकलाई १३४००

0
1251

झापा,

झापाका १५ वटा स्थानीय तहमध्ये अझै पनि अधिकांश स्थानीय तहले बाल विकास शिक्षकलाई श्रम ऐनले तोके बमोजिमको तलब दिन सकेका छैनन् ।

तर, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले श्रम ऐनमै व्यवस्था भए बमोजिमको तलब प्रदान गर्न थालेका छन् । हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष शुरु भए यता बाल शिक्षकलाई १३ हजार चार सय रुपैयाँ दिन थालेका हुन् ।

तर, अझै पनि सबै स्थानीय तहले श्रम ऐनमा व्यवस्था भए अनुरुपको बालशिक्षकलाई तलब दिन सकेका छैनन् । पालिका पिच्छे बालशिक्षाको तलब अहिले पनि फरक–फरक छ । श्रम ऐनमा व्यवस्था भए अनुरुपको तलब पाउनुपर्ने माग राख्दै यसअघि बाल शिक्षक पटक–पटक आन्दोलनमा उत्रिएका थिए ।

संघीय सरकारले उनीहरुको माग सम्बोधन नगरे पनि झापाका केही स्थानीय तहले भने चालू आर्थिक वर्षबाट श्रम ऐनमा व्यवस्था भए अनुरुप बाल शिक्षकलाई समेत तलब उपलब्ध गराउन थालेका हुन् । बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत दिनेशप्रसाद आचार्यले बिर्तामोड नगरपालिकामा १८ वटा सामुदायिक विद्यालय रहेको र तीनमा ४७ जना बाल शिक्षक कार्यरत् रहेको जानकारी दिए ।

प्रारम्भिक बाल विकासका रुपमा रहेका सबै बाल विकासमा अध्ययनरत् विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बिर्तामोड नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत नगर शिक्षा अधिकृत आचार्यले बताए ।

उता हल्दिबारी गाउँपालिकाले यसअघि नै बाल शिक्षकलाई १३ हजार पाँच सय रुपैयाँ प्रदान गर्दै आएको र सबै प्रारम्भिक बाल शिक्षाका बिद्यार्थीलाई खाजासहितको व्यवस्था गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न लागीपरेको गाउँपालिकाका शिक्षा शाखा संयोजक तथा गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

उनले भने– ‘हल्दिबारी गाउँपालिकाभित्र रहेका बाल शिक्षक र बालशिक्षालाई मात्र होइन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्दै प्रविधिमैत्री सिकाइका लागि कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here