झापा।

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले अन्ततः प्रहरीमा उजुरी दिएकी छिन् । आफुमाथि महराले बलात्कार प्रयास गरेको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा आफूलाई बलात्कारको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै महराविरुद्ध उजुरी दर्ता गराएकी हुन् ।
प्रहरीले भने अदालत खुले लगत्तै अदालतको आदेश लिएर महरालाई पक्राउ गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । असोज १३ गते राति आफ्नै कोठामा महराबाट आफुमाथि बलात्कारको प्रयास भएको र कुटपीटसमेत गरिएको भन्दै पीडित शाहीले सोमवार ‘हाम्रा कुरा डटकम’ लाई बताएपछि घटना सार्वजनिक भएको थियो ।
शाहीले यस्तो बताएलगत्तै नेकपाको सचिवलाय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न निर्देशन दिएको थियो । तर महराले सभामुखबाट राजीनामा दिएपनि सांसद पदबाट भने अझै पदत्याग गरेका छैनन् । सभामुखबाट राजीनामा दिएलगत्तै पीडित शाहीको बयान फेर्न महरापक्षले ठूलै कसरत गरेको देखिएको थियो ।
अघिल्लो दिन महराले आफुलाई बलात्कार गरेको भनेकी शाहीले भोलिपल्ट महरा पक्षका तीब्र दबाबमा उक्त दिन महरा आफ्नो कोठामै नआएको बताउन बाध्य पारिएकी थिइन् । अझ उनलाई तीनकुने प्रहरी वृत्तमा लगेर महराबाट आफुमाथि केही नभएको भन्दै निवेदन दिन लगाइएको थियो । रोशनीलाई उनका पतिले छोडपत्रका लागि सहमति गरेको भन्दै पत्र सार्वजनिक गरेका थिए ।
तर फेरि प्रहरीसमक्ष उनले उजुरी दर्ता गराएकी हुन् । उनको उजुरीसँगै महरामाथि छानबिन गर्न प्रहरीलाई सजिलो भएको छ । यसअघि पीडितको उजुरी नआएको र महराबाट आफुलाई केही नभएको भन्ने निवेदन परेकाले कार्वाही गर्न नसकिएको प्रहरीले बताएको थियो । यद्यपि घटना भएको तेस्रो दिन असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएको भनिएको रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान बरामद गरेको थियो ।
यसैबीच महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन र्दव्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरूको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।
प्रहरी स्रोतका अनुसार शाहीको तीनकुनेस्थित कोठाबाट बरामद गरिएका सामान, उनले आफू ‘डिप्रेसन पीडित’ भएको व्यहोरासहित प्रहरीमा दिएको निवेदन र र्दुव्यवहार प्रकरणमा सभामुख पदबाट महराले दिएको राजीनामालाई एकै ठाउँमा राखेर अनुसन्धान थालिएको छ ।
त्यसक्रममा आवश्यक परे शाही र महरा दुबैसँग बयान लिन सकिने प्रहरीले जनाएको छ । यसैबीच नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन र अनलाइन पत्रकार संघले पत्रकार अजयबाबु शिवाकोटीलाई समाचार लेखेकै भरमा धम्की आउन थालेकामा आपत्ति जनाउँदै उनको सुरक्षाप्रति ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गरेका छन् । काठमाडौमा शनिबार भएको एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप लगाए ।
उनले महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए । उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।
५ वर्ष जेल हुन सक्छ
निवर्तमान सभामुख महरालाई शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्छ ।
मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ ।
जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ । यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ ।
आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै शाहीले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी छन्।
प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको छ । त्यसपश्चात अदालतमा उपस्थित गराउने छ । अभियोग प्रमाणित भए कानुनअनुसार उनलाई ५ वर्षसम्म जेल सजाय हुनेछ ।































