बिर्तामोड ।

स्थापनाको छोटो अवधिमा नै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको अन्तर्राष्ट्रिय झापाली समाजले झापाको विकासका लागि सदैव लाग्ने उद्घोष गरेको छ ।
सन् २०१७ मा स्थापना भएको समाजले झापाको कमल गाँउपालिका –१ का ९ परिवारका लागि ४० लाख रुपैंयाको लागतमा नमूना बस्ती निर्माण गरिदिएको छ । झापाको समृद्धिका लागि सामुहिक योगदान गर्ने संस्थाको उद्धेश्य अनुरुप करिब एक करोड रुपैंयाको सामाजिक कार्य तथा उत्तरदायित्व बहन गरेको समाजका अध्यक्ष दिनेशकुमार पोखरेलले जानकारी दिए ।
शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले दुई वर्ष भित्रमा आफूले गरेका कामहरुको बारेमा जानकारी दिएको छ । समाजले झापामा ५ वटा एम्बुलेन्स प्रदान गर्ने भएको छ । ३ वटा यसै आर्थिक वर्षमा हस्तान्तरण गर्ने अध्यक्ष पोखरेलले बताए । त्यस्तै पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैया शुक्रबार नै हस्तान्तरण भयो ।
विदेशमा बसेपनि आफूहरु झापाको बृहत्तर विकासका लागी सदैव लाग्ने भन्दै अध्यक्ष पोखरेलले अन्र्तराष्ट्रिय झापाली समाज ३२ वटा मुलुकमा गठन भइसकेको बताए । झापामा बाढी पिडितका लागि राहत वितरण, झापा गोल्डकपमा दोस्रो पुरस्कार लगायतको थुप्रै कामहरु समाजले गरेको पत्रकार सम्मेलनमा बताइयो ।

झापाली बीच आपसी सद्भाव र एकता बढाउँदै जिल्लाको विकासका लागि साझा प्रयास समाजको उद्धेश्य रहेको बताइएको छ । कतार र कोरियामा सम्पन्न क्षेत्रीय सम्मेलनले झापामा एक अर्ब रुपैंया लगानी गर्ने निर्णय गरेको अध्यक्ष पोख्रेलले बताए । रोजगारी, अध्ययन, ब्यवसाय लगायतको शिलशिलामा नेपाल बाहिर विभिन्न मुलुकमा छरिएर रहेका झापालीलाई संगठित गरी आपसी सद्भाव बढाउदै आफ्नो जन्म क्षेत्र झापाको समृद्धिका लागि सामुहिक योगदान गर्ने संस्थाको मुख्य उद्धेश्य रहेको संस्थाका संरक्षक भवानी ओलीले बताए ।
यसैबीच संस्थाको दोस्रो अधिवेशन बिर्तामोडमा शनिबार र आइतबार हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । अधिवेशनमा सहभागि हुन विभिन्न मुलुकहरुबाट प्रतिनिधिको आउने क्रम जारी रहेको बताइएको छ । त्यस्तै अधिवेशन शुरु हुनु अघि शनिबार बिहान नमूना बस्ती हस्तान्तरणको कार्यक्रम रहेको समाजका प्रवक्ता महेन्द्रप्रसाद चम्लागाईले बताए ।
समाजका वरिष्ठ उपाध्यक्ष छत्र सुब्बाले सञ्चालन गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष रुपराज मैनाली, इजरायल समिति अध्यक्ष सन्दीप भण्डारी लगायतको सहभागिता थियो ।






























