ओम आचार्य,
नेपाली काग्रेस समय र परिस्थिति अनुसार आवश्यक समयमा आफ्नो क्रोध प्रकट गर्छ र कांग्रेसको क्रोधमा नेपालको राजनीति एवं व्यवस्था परिवर्तन भएका छन् । नेपाली कांग्रेसकै क्रोधमा १०४ बर्षे राणा शासनको अन्त्य भयो, नेपाली कांग्रेसकै क्रोधमा पञ्चायती व्यवस्था को अन्त्य भयो र नेपाली कांग्रेसकै क्रोधमा राजाको शाही शासनकाल अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।
नेपाली कांग्रेसमा वीपी कोइराला एक भैरव जस्ता थिए तिनको क्रोधको अगाडि व्यक्ति त के व्यवस्था पनि भयभित हुन्थ्यो । तिनै वीपी कोइरालाबाट नेपाली कांग्रेसमा थुप्रै दिक्षीत शिष्य छन् र ती सबै शिष्यहरुमा वीपीको शक्ति र भैरव रुप प्रवेश भएका छन् । अहिले नेपाली कांग्रेसमा यस्ता भैरवहरु थुप्रै छन् । तिनीहरुको क्रोध प्रकट हुन मात्र बाँकी छ कथंकदाचित त्यो क्रौध प्रकट भयो भने बुझ्नुहोस् हनुमानको क्रोधमा लंका तहसनहस, रामको क्रोधमा रावण सकियो, नरंसिम्हको क्रोधमा हिरण्यकस्यप सकियो, कृष्णको क्रोधमा कंश सकिए जस्तै सकिन्छन् ।
त्यस्तै अर्का भैरवस्वरुप गिरिजाप्रसाद कोइराला थिए तिनको क्रोधमा त नेपालको राजनीतिक प्रणाली आमूल परिवर्तन भयो र यिनकै क्रोधमा राजशाही पनि गयो । यस्तो इतिहास बोकेको नेपाली कांग्रेसलाई नेकपाको दुई तिहाइ सरकारले जिस्काउँदैछ, नेपाली कांग्रेसलाई बिच्काउँदै छ । लोकतन्त्रलाई संकुचनमा ल्याउन खोज्नु, प्रेस तथा वाक स्वतन्त्रता कठोर बनाउँदै जानु, नै नेपाली कांग्रेसलाई बिच्काउनु हो । नेपाली कांग्रेसलाई चिढाउनु छ भने क्रोधित बनाउनु छ भने केही गर्नुपर्दैन मात्रै लोकतन्त्र दमन गरे पुग्छ, कानूनी राज्यलाई तहस–नहस गरे पुग्छ । लोकतन्त्र र नेपाली कांग्रेसको अन्तरंग सम्बन्ध छ ।
लोकतन्त्रकै लागि नेपाली कांग्रेसको जन्म भएको हो र यो लोकतन्त्र नेपाली कांग्रेसमै सहज अनुभूति गर्छ, नेपाली कांग्रेसमै यो लोकतन्त्र रमाउँछ स्वतःस्फूर्त भएर यसको जीवन पल्लवित हुन्छ । नेपाली कांग्रेसमै लोकतन्त्रको जीवन हष्टपुष्ट हुन्छ, लोकतन्त्रको रगत बन्दै, हाडमासी बन्दै गिदी बनेर स्वस्थ्य लोकतन्त्र देख्न पाउँछौं ।
हो यही लोकतन्त्रको विपक्षमा प्रस्तुत हँुदा, यसको दमन हुँदा नेपाली काग्रेसमा क्रोध आउनु स्वभाविक र प्राकृतिक हो यो कुरा नेकपाले बुझेको छ कि छैन बुझेको छैन भने बुझोस् कि यसरी नेपाली कांग्रेसको क्रोध प्राकट्य गर्न चाहेको हो भने पुनः क्रोध जन्माउन खोजेको हो भने अब नेपाली कांग्रेस अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा आफ्नो क्रोध प्रकट गर्दैन, नेपाली कांग्रेस संविधानविरुद्ध क्रोध प्रकट गर्दैन, नेपाली कांग्रेसको क्रोध अब सरकारविरुद्ध, सरकारको अधिनायकविरुद्ध, सर्वसत्तावादविरुद्ध, सरकारको चरित्र र आचरणविरुद्ध सरकारबाट पोषित भइरहेको भ्रष्टाचार र बलात्कार एवं हत्याविरुद्ध हुनेछ । त्यतिखेर त्यो क्रोधको सामना गर्ने ताकÞत कसैसँग हुने छैन, त्यतिखेर क्रोधले आफ्नो लक्ष्य भेदन नगरी शान्त हुने छैन । त्यो क्रोधमा को–को खरानी हुन्छन् थाहा छैन !
अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यस्को अभ्यास र यसलाई क्रियाशील गराउने अवस्थामा रहेको स्थितीमा वर्तमान नेकपाको दुईतिहाइ सरकारबाट मित्रराष्ट्र चीनको (सि विचारधारा) लाई भित्र्याउने अभ्यासको कै प्रयोजनमा स्कूल विभागबाट प्रशिक्षण शिविर गराउनु नेपाली जनता र अन्य राजनीतिक दलहरु ससंकित छन् । यो प्रकरणबाट पनि नेपाली कांग्रेस क्रोधित भएको छ र नेकपासँग विश्वास हट्दै गएको छ ।
अहिले नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा नेकपाविरुघ अत्यन्त क्रोधित देखिएका छन् यसै क्रममा डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, डा. डिला संग्रौला लगायत नेताहरुको क्रोध प्रचुर देख्न पाइँदैछ । यी सबै क्रोधहरुलाई नेपाली कांग्रेसले एकत्रित गरोस् । यो कार्य गर्न केन्द्रीय सदस्य लगायत पार्टी सभापतिको बढी जिम्मेवारी र गम्भीर रहन आवश्यक देखिएको छ । यस्तो परिस्थिति निर्माण भएमा मात्र कांग्रेसको क्रोधले लक्ष्य भेदन गर्न सक्छ ।

























