लक्ष्मी उप्रेती / काँकरभिट्टा।

जिल्लामा प्रहरीले सक्रियता बढाएसँगै झापामा आपराधिक गतिविधिका घटना क्रमशः कम हँुदै गएका छन् । प्रहरीले आफ्नो सक्रियता बढाउँदा विभिन्न अपराधमा संलग्नहरु निरुत्साहित र निष्क्रिय हुने भएकाले पनि जिल्लामा यस्ता घटना कम हुँदै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झापालाई अपराधमुक्त जिल्ला बनाउने सोचका साथ काम गरिरहेको बताए । उनका अनुसार त्रिवर्षीय तथ्याङ्क हेर्दा झापा जिल्लामा हरेक वर्ष अपराधका घटना क्रमशः कम हुँदै गएका छन् ।
आर्थिक वर्ष २०७३÷०७४मा झापामा विभिन्न प्रकृतिका एक हजार ६ सय वटा मुद्दा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७४÷०७५ त्यो संख्या घटेर एक हजार चार सयमा पुग्यो भने आर्थिक वर्ष २०७५÷०७६मा एक हजार चार सय ६८मा उक्लियो । चालू आर्थिक वर्ष २०७६÷०७७मा दुई सय ३३ वटा मुद्दा दर्ता भएको प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कार्यालयमा मुद्दाको चाप घट्नुको पहिलो कारण प्रहरीको सक्रियता तथा समाजमा चेतना आउनु भएको प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रहरीले समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदायसँग चिया, पीडितको साथी प्रहरी तथा समुदाय प्रहरी साझेदारीलगायतका चेतनामूलक कार्यक्रम शुरु गरेको छ । यसले पनि समाजमा हुने आपराधिक गतिविधि कम गरेको उनको भनाइ छ ।
जिल्लामा ‘क’ वर्गमा रहेमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, अनारमनी, दमक, झिलझिले, धुलावारी र काँकरभिट्टा गरी सातवटा इकाईले मात्र मुद्दा चलाउन सक्ने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ । साउनमहिनामा जिल्ला प्रहरी कार्यालय झापामा विभिन्न प्रकृतिका २८ वटा मुद्दा भए पनि १५ वटामात्र फछ्र्याैट भई १३ वटा भदौ महिनामा सरी आएका थिए । यसैगरी सवैभन्दा बढी इलाका प्रहरी कार्यालय अनारमनीमा ३६ वटा दर्ता भएकामध्ये ३२ वटा मुद्दा किनारा लागेका थिए ।
इलाका प्रहरी कार्यालय दमकमा ३४ वटा मुद्दा भए पनि १४ वटा समयमै किनारा लाग्न सकेनन् । दमकमा साउन महिनामा दर्ता भएका कूल मुद्दामध्ये १४ वटामात्र फछ्र्याैट भएको कार्यालयले जनाएको छ । यसैगरी त्यो महिनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा १६ वटा मुद्दा दर्ता भए पनि १३ वटा फछ्र्याैट भई ३ वटा भदौमहिनामा सरी आए ।
इलाका प्रहरी कार्यालय धुलावारीमा १५, झिलझिलेमा ११ मुद्दा दर्ता भएका थिए । प्रहरी प्रधान कार्यालयले २०७५ माघ १ गतेदेखि कार्यालयलाई मुद्दा समेत दर्ता गरी थप अनुसन्धान गर्न अनुमति प्रदान गरेको थियो । त्यसअघि हरेक मुद्दा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा दर्ता हुने गरेका थिए ।
कार्यालयको मुद्दा शाखाले दिएको जानकारी अनुसार प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउन सक्ने अधिकारी दिएको पहिलो ६ महिनामा अघिल्लो आर्थिक वर्ष २०७४÷०७५मा ८८ वटा मुद्दा दर्ता भएका थिए । ती मध्ये ८७ वटा फछ्र्याैट भएको कार्यालयको भनाइ छ । कर्तव्य ज्यान सम्बन्धीको एउटा मुद्दा अहिलेसम्म अनुसन्धानको क्रममा छ । गत आर्थिक वर्ष २०७५÷०७६मा दर्ता भएका कूल एक सय ५० मुद्दामध्ये एक सय चार वटा फछ्र्याैट भएका छन् । बाँकी विभिन्न प्रकारका ४६ वटा मुद्दा चालू आर्थिक वर्ष २०७६÷२०७७मा सरी आएका छन् ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार भारतका विभिन्न शहर बजारमा नेपालमा प्रतिबन्धित लागूऔषध खुल्लमखुला विक्री हुनु र एक सय १८ किलो मिटर खुला सीमाना प्रहरीका लागि मुख्यः चुनौति हो । सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि कम गर्न झापा प्रहरीले भारतीय समकक्षीहरुसँग बेला बेला आवश्यक छलफल गर्ने गरेको छ । जिल्लामा विभिन्न अपराधमा संलग्न रहेर फरार अभियुक्त तथा अदालतबाट सजायको आदेश सुनाएका दोषीहरु पनि ठूलो संख्यामा फरार रहेको भन्दै प्रहरी उपरीक्षक मैनालीले झापा प्रहरीले त्यस्तालाई पनि पक्राउ गर्न सफल भएको बताए ।
मादक पदार्थका कारण समाजमा अपराध बढेको प्रहरीको निष्कर्ष छ । कूल घटनामध्ये करिव ८० प्रशित मादक पदार्थ सेवनका कारण भएका छन् । यसकारण झापामा मादक पदार्थको कारोवार शून्यमा झार्न प्रहरी सक्रियपूर्वक लागेको उनको भनाइ छ । झापालाई मदिरा नियन्त्रित जिल्ला बनाएर जिल्लालाई नै अपराधरहीत बनाउने प्रहरीको योजना रहेको छ ।
कार्यालयमा झुण्डिएर आत्महत्या, विष सेवन, पानीमा डुवेर मृत्यु, चट्याङ लागेर मृत्यु, मृत अवस्थामा फेला, लडेर भवितव्य मृत्यु, गोरुले हानेर मृत्यु, चोरी उद्योग, सवारी ज्यान, सवारी अंगभंग, दोहोरो नागरिकता लिएको, नागरिकता कीर्ते, झुठो विवरण पेश गरेर सरकारी ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान, शरीर बन्धक तथा अपराधिक, ज्यान मार्ने उद्योग, बम विष्फोट, बैकिङ कसुर, सार्वजनिक शान्तिविरुद्घ कसुर अभद्र व्यवहार, राष्ट्रसेवकलाई बाधा विरोध, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, बालयौन दुरुपयोग गर्न नहुने, भेदभाव तथा अन्य अपमानजनक व्यवहार, बहुविवाह, लागूऔषध, अप्राकृतिक मैथुन, ठगी हातहतियार तथा खरखजना तथा मानव बेचबिखन तथा ओसारपसार लगायतका ३५ वटा शीर्षकका मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।






























