अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका स्रष्टाहरुको काँकरभिट्टामा स्वागत र सम्मानसहित विदाई

0
1168

लक्ष्मी उप्रेती / मेचीनगर ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाल सरकारले साहित्यको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको बताउनुभएको छ । शुक्रबारदेखि पश्चिम बंगालको दार्जिलिङमा शुरु ‘दोस्रो एशिया साहित्य सम्मेलन २०१९’ मा जाने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँसहित २३ जना स्रष्टाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । झापाको मेचीनगरमा उहाँहरुको सम्मानमा आयोजित स्वागत तथा विदाई कार्यक्रममा बोल्दैं साहित्यकार लेकालीले सरकारलाई नेपाली साहित्यको विकासका लागि कति प्रतिशत रकम खर्च गरिएको छ भनेर अब हरेक स्रष्टाले सरकारलाई प्रश्न गर्ने बेला आएको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालको व्यवस्थानमा काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समिति तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मुल आयोजक समितिले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लेकालीले सरकारले हरेक स्रष्टालाई परिचय पत्रको व्यवस्था गर्न र सोहि अनुसारको सुविधा प्रदान गर्न माग गर्नुभयो ।

नेपाली लेखक, कविलगायत विभिन्न स्रष्टालाई परिचय पत्रका आधारमा उपचारमा सवारी साधनमा, सरकारी कार्यालयमा विशेष छुटको व्यवस्था तथा स्रष्टाका छोराछोरीलाई उच्च शिक्षाका लागि निःशुल्क अध्ययनको व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो । यस विषयमा नेपाली साहित्यक संघ संस्था र प्रतिष्ठान पटक पटक सरकारलाई आग्रह गरे पनि कुनै सुनुवाई नभएको उहाँको गुनासो थियो ।

२०६२÷ ०६३ को ऐतिहासीक राष्ट्रिय जनआन्दोलन पश्चात नेपालमा साहित्यक संघ संस्था र प्रतिष्ठान खुल्ने क्रम तीव्र रहेको र त्यसपछि २ सय ५० भन्दा बढी साहित्यक संघ संस्था र प्रतिष्ठान गठन भएको उहाँले प्रष्ट पार्नुभयो । नेपालमा विभिन्न समयमा राज्य व्यवस्था परिवर्तनमा लागि भएका आन्दोलनमा नेपालका स्रष्टाहरुले खेलेको भूमिकाको चर्चा गदैं सरकारले यसको उचित मुल्याङ्कन गर्नुपर्नेमा समेत साहित्यकार लेकालीको जोड थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा विश्वभरबाट १७ सय आजीवन सदस्य रहेको र यी सदस्यकै माध्यमबाट एशियाको हरेक साहित्यलाई जोड्ने काम भएको उहाँको भनाई थियो । सम्मेलनमा भारतका सातजना स्रष्टाहरुलाई सम्मान गरिने छ । समाजको पहिलो सम्मेलन कोरयिामा भएको थियो ।

यो सम्मेलनमा कोरियाका दुईजना प्रतिनिधि रहेका छन् । आइतबारसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, कोरिया, कतार, जापानलगायतका मुलुकबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रमुख प्रतिनिधिसहित विभिन्न स्रष्टाहरु सहभागी भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालले देवकोटा पार्कको विगत तथा वर्तमानका बारेमा जानकारी दिनुहुँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार ऋषभदेव घिमिरेले नेपाली साहित्य विकासका लागि हरेक क्षेत्र लागनुपर्ने भन्दैं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पूर्वसन्ध्यामा काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समिति तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मुल आयोजक समितिले विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्यहरुप्रति देखाएको सदभाव र माया सधैका लागि स्मरण हुने प्रतिक्रिया दिनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार दुर्गा दाहाल, लयप्रसाद प्रसाईसहित अन्य सदस्यहरुसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीलगायतको सहभागिता थियो । देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद खरेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मुल आयोजक समिति अध्यक्ष बालकृष्ण थापा, सचिव निरबहादुर कार्की नेत्रलगायत अन्य पदाधिकारीहरुले खादा पहिर्याएर सम्मानसहित विदाई गर्नुभएको थियो ।

समितिका अध्यक्ष गणेशकुमार खरेलले देवकोटा जयन्तीमा उपस्थितीकालागि सवैलाई आग्रह गर्नुभएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मुल आयोजक समितिका अध्यक्षता बालकृष्ण थापाले देवकोटा पार्क संरक्षणका लागि सवैक्षेत्रको उत्तिकै सहयोग रहेको बताउनुभयो । उहाँका अनुसार देवकोटा जयन्ती भव्य र सभ्यरुपमा सम्पन्न गर्न सात सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here