डोटी,
जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन् ।
अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दाबी छ । छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताउनुभयो ।
उहाँले भन्नभयो, “पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधि उपलब्ध भएकाले हामीले सेवाग्राही बिरामीको रोग निको पार्न सफल भएका छाँै, त्यसैले पनि बिरामीको सङ्ख्या थपिँदै गएको हो ।” डडेल्धुराको उपक्षेत्रीय अस्पातलमा सम्भव नभएपछि अमरगढी नगरपालिका–८ की हमेन्ती ओझा केही समय पहिले जिल्ला अस्पताल डोटीमा आउनुभएको थियो ।
सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल हस्पिटलका रुपमा रहेको उपक्षेत्रीय अस्पातलमा नसकिएको प्रसूति डोटी अस्पतालमा सफल भएपछि उहाँ हालै घर फर्किनुभएको छ । चिकित्सक नभएका कारण उपचार सम्भव नभएको भन्दै उहाँलाई डोटी सिफारिश गरिएको थियो । उपचार सफल भएपछि अहिले जिल्ला अस्पतालमा बिरामीको भीड लाग्ने गरेको डा अवस्थीले दाबी गर्नुभयो ।
उहाँले थपभन्नुभयो, “डडेल्धुराले डोटी पठायो, उपचार हुन्छ कि हँुदैन भन्ने चिन्तामा थियौँ, तर उपचार सफल भएको छ ।” ओझाको जिल्ला अस्पताल डोटीमा शल्यक्रियाबिना नै प्रसूतिको सफल उपचार भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
जिल्ला अस्पताल डोटीमा एक वर्षमा ६८ को प्रसूति शल्यक्रिया सफल गरिएको अस्पतालका प्रमुख तथा डा भुषण मिश्रले जानकारी दिनुभयो । सहज तरिकाले बच्चा पाउन नसकेका महिलाको शल्यक्रियामार्फत बच्चा निकालिएको उहाँले बताउनुभयो ।
३० महिलाले पहिलो बच्चा पाउँदा पनि शल्यक्रिया गरेको र उहाँहरुको पुनः दास्रोपटक शल्यक्रिया गरिएको जिल्ला अस्पतालका डा गिरिष अवस्थीले जानकारी दिनुभयो ।































