दमौली,
तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।
घाइते हुनेमा भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामी रहेकी छन् । छिमेकीको घरबाट फर्कदै गरेकी अछामीलाई चितुवाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
घाँटीमा घाउ भएकी उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमण बढेसँगै स्थानीयवासी त्रसित छन् ।
चितुवाको आक्रमणबाट भानु नगरपालिका–१, २, ३ र ४ नं वडामा अहिलेसम्म पाँच बालबालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।






























