बिर्तामोड।

लागूऔषध दुव्र्यसनविरुद्ध निर्माण भएको लघु चलचित्र ‘मिशन बिर्तामोड’को प्रिमियर शो बिर्तामोडमा गरिएको छ ।
बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण गरिएको लघु चलचित्र ‘मिसन बिर्तामोड’ को शनिवार बिर्तामोडको अतिथिसदनमा प्रिमियर शो गरिएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चलचित्रका निर्माता राजन थापाले चलचित्रबारे जानकारी गराएका थिए । उनले झापाको बिर्तामोड र बुधवारेमा चलचित्र छायांकन गरिएको र आठ लाख रुपैयाँको लगानीमा निर्माण भएको बताए ।
त्यस्तै चलचित्रका लेखक तथा निर्देशक राज सुब्वा लावतीले इलाम, पाँचथर, ताप्लेजुङबाट बिर्तामोडमा आएर अध्ययन गर्ने बिद्यार्थी र विभिन्न काम गर्ने किशोर किशोरी कसरी लागूऔषध दुव्र्यसनमा फस्छन् भन्ने बिषयमा चलचित्र केन्द्रीत भएको बताए ।
चलचित्र मिशन बिर्तामोडको निर्माता राजन थापा र समूह, कार्यकारी निर्माता एलसी श्रेष्ठ, सहनिर्माता अर्जुन मेचे, सन्तोष खवासको द्वन्द्व, सुवास लिम्बूको सिनेमाटोग्राफी, पदम तामाङको मेकअप रहेको छ ।
चलचित्र मिशन बिर्तामोडमा राजन थापा, रमेश बोहरा, राज शेर्मा, कृष्ण तामाङ, विक्रम गेलाल, प्रताप सुनुवार, सेजल कडरिया, पेम्वा लामा, राजु गौतम, एलसी श्रेष्ठ, रीना तामाङ, राज शर्मा, चेतन खतिवडा, चन्दन राजवंशी, आश्मा तामाङ, तुलसा प्रधान, सुनिल विक, मानिक रेग्मी लगायतका कलाकारह्रुको अभिनय रहेको छ । त्यस्तै विशेष सहयोगीमा रमेश चौधरी, प्रकाश गुरुङ र याम लिम्बू रहेका छन् ।
चलचित्र हेरेपछि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सचिव प्रकाश घिमिरे, अलैंची व्यवसायी महासंघका सचिव सुभास भट्टराई, वीरता जेसीजका अध्यक्ष विशाल थापा, कलाकार गोपाल एक्तेन, मोहन वेघा, टीका संग्रौला, रामचन्द्र पौडेल लिम्बू लगायतले चलचित्रले लागूऔषध दुव्र्यसन मुक्त बिर्तामोडको निर्माण गर्न मद्दत पुग्ने बताए ।
चलचित्र सचेतनामूलक भएको बताउँदै उनीहरुले विकराल समस्याको रुपमा रहेको लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न विद्यालय, कलेज तथा विभिन्न संघ–संस्थामा चलचित्र प्रदर्शन गर्न सुझाव दिए ।


























