बिर्तामोड ।

झापाको बिर्तामोड १ स्थित साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा भीआईए परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोडस्थित अञ्जली हस्पिटलको प्राविधिक सहयोगमा कनकाई नगरपालिका वडा नं ७ दुर्गापूरस्थित भृकुटी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ३ सय ५० भन्दा वढीले स्वास्थ्य परीक्षण गराएको संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले जानकारी दिइन् ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कन्काई , बिर्तामोड र अर्जुनधारा नगरपालिकाका आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरेर सञ्चालन गरेको शिविरमा ७५ जना महिलाले पाठेघरको मुखको क्यान्सर भीआईए परिक्षण गराएको उनले बताइन् । संस्थाको आठौं स्थापना दिवसको अवसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा भीआईए परिक्षण गरिएको उनले बताइन् ।
शिविरमा अञ्जली हस्पिटलका वरिष्ठ फिजिसियनहरु डा. दिपेश पोखरेल, डा. प्रमोद कुमार साह, वरिष्ठ वालरोग विशेषज्ञ डा. प्रमोद कुमार राय, वरिष्ठ हाडजोर्नी , नशा, वाथ रोग विशेषज्ञ डा. प्रकाश कुमार श्रेष्ठ , वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. गौरीशंकर झा लगायतले जनरल फिजिसियन सेवा, स्त्रीरोग सेवा, वालरोग सेवा, हाडजोर्नी , नशा, वाथ रोग सेवा लगायतका सेवाहरु प्रदान गरेका थिए ।
शिविरमा तीन चार महिनाका वालवालिकाहरुदेखि ८० ९० वर्षका वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । उनीहरुलाई निःशुल्क औषधि समेत बितरण गरिएको थियो । शिविरमा सहभागिले एउटै छानामुनी विभिन्न डाक्टरहरुको परामर्शसहितको स्वास्थ्य परिक्षण र निःशुल्क औषधि पाएकोमा खुशी व्यक्त गरेका थिए ।
साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा कनकाई नगरपालिका वडा नं ७ का वडाध्यक्ष लिलाबहादुर कन्दङ्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रेमप्रसाद अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख आतिथि वडाध्यक्ष कन्दङ्वाले सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा कनकाई १ का वडाध्यक्ष रोशनराज पोखरेल ,भृकुटी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक अञ्जना सिटौला, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वालकृष्ण सिटौला, अञ्जली हस्पिटलका अध्यक्ष कुलप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले गरेका थिए ।































