काठमाडौँ,

सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रवद्र्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाएर बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने योजनका लागि सरकारलगायत सरोकार भएका निकायसँग छलफल गरी रणनीति तय गरिने जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच समझदारी तथा नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्न आज यहाँ आयोजि कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष अभियानलाई आउने दशकलाई उत्साहका साथ मनाउन सकेको खण्डमा आगामी १५औँ पञ्चवर्षीय योजनाको समाप्ति हुँदा कम्तिमा पनि ३५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको अपेक्षा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अबको दुई महिनापछि (सन् २०२० लाई) हामीले भ्रमण वर्ष मनाउँदै छौँ, त्यसलाई सफल बनाउन हरतवरले लागि परेका छाँै, तर २०२० मै भ्रमण वर्षको सम्पूर्ण अभियान सकिने हैन, यो त भ्रमण वर्षको थालनी हो । आगामी दशकलाई नै भ्रमण वर्षको दशकको रुपमा मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्यउने योजनाका साथ काम अघि बढाउछौँ ।” मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानको तयारीमा सिङ्गो मुलुक जुटिरहेको बताउदै अभियानलाई सफल बनाउन एनआरएनको सक्रिय भूमिकाको खाँचो औंल्याउनुभयो ।
उहाँले अथाह पर्यटकीय सम्भावना भएको नेपालमा भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउनु त्यति चुनौतिको विषय नभएपनि विश्वमा नेपालको प्रर्यटनबारे प्रभावकारीरुपमा प्रचारप्रसार हुननसकेका कारण पर्यटकीय लाभ लिन नसकिएको धारणा राख्नुभयो । पर्यटनमन्त्री भट्टराईले मुलुकको कुल गाह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पु¥याउने लक्ष्यका साथ सबैखाले तयारीमा सरकार जुटेको उल्लेख गर्दै पर्यटकीय पूर्वाधार विकास र कनेक्टिभिटिलाई जोड दिइएको बताउनुभयो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान चाप न्यूनीकरण गर्न क्षमता विस्तार र सेवा स्तरीकरणको कामलाई प्रभावकारी अघि बढाइएको तथा सन् २०२० को मार्च महिनाबाट निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलाई सञ्चालनमा ल्याइनुका साथै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई तीब्रताका साथ अघि बढाइने उहाँले बताउनुभयो । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई प्रभावकारी बनाउदै पूर्वाधार विकासलाई प्राथमिकताकासाथ अघि बढाइएको बताउनुभयो ।
मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति कनेक्टिभिटी महत्वपूर्ण भएकाले हवाई पूर्वाधारका साथै सडक सञ्जाल विस्तारलाई पनि जोड दिइएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल भ्रमण वर्ष अभियान राष्ट्रिय कार्यक्रमका संयोजक सुरज वैद्यले भ्रणण वर्ष अभियानको प्रवद्र्धनात्मक कामलाई थप गति दिएको र अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारको काम शुरु भइसकेको जानकारी दिनुभयो ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले नेपालमा अधिक विदेशी पर्यटक भित्र्याउन संस्थाले सद्भावनादूतका रुपमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको पर्यटनबारे विदेशमा हुने गरेको नकारात्मक प्रचारप्रसारलाई चिर्दै नेपाल गन्तब्य प्रवद्र्धनका साथै नेपालको आर्थिक समृद्धिको विकासका निम्ति पनि संस्थाले सक्रिय योगदान गर्ने उहाँले स्पष्ट पार्नुभयो ।






























