जग्गा विवाद झन बढ्दै

0
566

बिर्तामोड।

बिर्तामोड निवासी ढुङ्गाना परिवारले शिवाकोटी परिवारलाई आफ्नो १३ कठ्ठा जमिन अतिक्रमण गरेको आरोप लागाउँदै केही दिन अघि पूर्वाञ्चल दैनिक लगायतका केही स्थानीय सञ्चारमाध्यममै प्रेस विज्ञप्ति प्रकाशित भए ।

लगत्तै शिवाकोटी परिवारको तर्फबाट पनि त्यसको खण्डन गर्दै उल्टै ढुङ्गाना परिवारले दुई कठ्ठा ६ धुर जमिन मिचेको प्रेस विज्ञप्ति जारी भयो । आरोप लगाउने ढुङ्गाना परिवार शिक्षासेवी हुन् ।

कनकाई एजुकेशन फाउण्डेशनका संस्थापक समेत रहेकी अञ्जना ढुङ्गानाले बिर्तामोड निवासी रुची शिवाकोटीको नाममा दर्ता कायम रहेको जमिनमा आफ्नो सीमाना मिल्ने र सो सीमाना मिचेर शिवाकोटी परिवारले पर्खाल लगाएको भन्दै आपत्ति जनाइन् । यता शिवाकोटी पनि कञ्चनजंङ्घा नर्सिङ कलेजकी सञ्चालक हुन् । उनले पनि विज्ञप्ति जारी गर्दै आफ्नो कित्ता नम्वर १७२ र ५४८ नम्वरको जमिन मिचेर बिगतका वर्षदेखि नै विरुवा लगाएको आरोप लगाइन् । सीमाना विवाद अन्त्यका लागि पटक–पटक जमिन नाप्न प्रयत्न गरिए पनि ढुङ्गाना परिवार नै नआउने गरेको विज्ञप्तिमा भनिएको थियो ।

दुवै परिवार शिक्षा क्षेत्रमा काम गर्छन् । उनीहरु नै जमिन विवादमा रुमल्लिएका छन् । आरोप र प्रत्यारोपमा एक अर्कालाई मुछेपछि पूर्वाञ्चल दैनिकले स्थलगत अध्ययन गरेको छ । सो क्रममा जमिनको नापका लागि आएको टोलीका अमिन नारायण बस्नेतसँग जानकारी लिँदा उनले रुची शिवाकोटी र बिमलादेबी चौधरीको नाममा दर्ता कायम रहेको जमिनको सीमाना दुई÷चार फिट तलमाथि भएको र दुवैले आ–आफ्नो अडान छाडे विवादको समाधान हुने बताए । उनले भने – यो जमिन धेरैपटक नापियो तर, विवाद जस्ताको तस्तै छ ।’

४८ सयको ठूलो नक्सा भएकाले जमिन नाप्दा दुई तीन फिटको मात्रै फरक पर्छ तर ढुङ्गाना परिवारले देखाएको ठाउँबाट जमिन नाप्नुपर्ने भएपछि आफूहरुलाई जमिन नाप्न सहज नभएको अमिन बस्नेतको भनाइ छ । अमिन बस्नेतले जमिन नाप्ने क्रममा ढुङ्गाना परिवारले नै देखाएको पोइन्टबाट जमिन नाप्न नसकिने र बीच पोइन्टबाट नाप्दा शिवाकोटी परिवारको जमिन ढुङ्गाना परिवारले भोगचलन गर्दै आएको सीमाना भन्दा केही तलसम्म पर्ने बताए । छोरी रुची शिवाकोटीको नाममा दर्ता कायम रहेको जमिनमा बिर्तामोड नगरपालिका प्रमुख समेत रहेका ध्रुवकुमार शिवाकोटीले जमिन घेरावेराका लागि वाल उठाएपछि विवाद चुलिएको हो । यस अघि पनि सो जमिनमा विवाद नै रहेको बताइन्छ ।

यता ढुङ्गाना परिवारले जमिनको विवादमा प्रशासन गुहारेको छ । ढुंगानाले प्रमुख जिल्ला अधिकारीसम्मलाई आफूहरुमाथि अन्याय भएको भन्दै निवेदन दिएका छन् । त्यसमाथि निवेदनमा जिउज्यानको सुरक्षाको माग गरिएको छ । तर, शिवाकोटी परिवारले ढुङ्गाना परिवारले लगाएको आरोप जस्तो नभएको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । रुचीले विज्ञप्ति प्रकाशन गर्दै भनेकी छिन्– मेरो जमिन मिचेर विरुवा लगाउनु अनि उल्टै मलाइ अन्याय भयो भन्दै हिँड्नु आफैंमा लाजमर्दाे कुरा हो ।

घटनामा बिर्तामोड नगरपालिका–२ नम्वर वडा कार्यालय भने चुकेको छ । नगरपालिकाको न्यायिक समितिमा उजुरी परेपछि समितिले घटना मिलाउनका लागि वडा नम्वर २लाई पत्रचार गरेको थियो । तर, वडा कार्यालयले सो मुद्दालाई सोझै अदालत पठाएको छ । वडाले विवाद मिलाउन नसकेको खण्डमा पुनः न्यायिक समितिमा मुद्दा फिर्ता पठाउनु पर्नेमा वडा कार्यालयले सोझै ढुङ्गाना परिवारलाई अदालत पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here