विज्ञान प्रविधि, मानवजाति र महावीर पुन

0
1074

तीर्थराज खरेल,

सुप्रसिद्ध बेलायती दार्शनिक तथा विश्वविख्यात लेखक बर्टे«ण्ड रसेलले भने झैं विज्ञानलाई मानवको सेवकको रुपमा लिनुपर्छ । विज्ञान र प्रविधिलाई मालिक हुन दिने होइन । विज्ञानले मानव जातिमाथि नियन्त्रण र शासन गरेमा त्यसको परिणाम भयावह हुन्छ । विज्ञान प्रविधिलाई मानवजातिको हितमा प्रयोग गर्न सकिएमा मात्र यसले काम गर्ने हो, नत्र यसले त विनाश नै गर्ने हो भन्ने संसारका इतिहासमा घटित अनगिन्ती युद्ध, लडाइँ र मानवता विरोधी ज्यादतिहरुले नै पुष्टि गर्न सक्छन् । विज्ञान र प्रविधिको दुरुपयोग हुँदा दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा लाखौंको संख्यामा नरसंहार भएको भयावह परिघटना मानवस्मृतिबाट धुमिल भएको छैन ।

यस सम्बन्धमा नेपाली भाषा–साहित्यका महान नाटककार बालकृष्ण सम भन्छन्– ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ । विज्ञान भनेको आगो जस्तै हो, सदुपयोग गर्न सकेमा लाभैलाभ छ, दुरुपयोग भएमा संसारकै सबैभन्दा बढी जोखिम यसैबाट छ । बम, बारुद र बन्दुकका विभिषिकाभित्रको कहालीलाग्दो भविष्यको कल्पनासहित त्रासद वर्तमानमा बाँचिरहेका छौं हामी । आणविक शस्त्रअस्त्रको अस्वस्थ र मानवता विरोधी प्रतिष्पर्धाको युगमा हामी बाँचिरहेका छौं हामी । शान्ति पक्षधरहरुको आवाज धीमा हुँदै गएको दुःखद् परिस्थितिको अनुभूत भइरहेको छ । युद्धपक्षीय सोचले विज्ञान र प्रविधिको दुरुपयोग मानवताविरुद्धमा गर्ने र विध्वंशको विद्रुप खेलको मञ्चन गर्ने हो । हो, अहिले यही भइरहेछ, मध्यपूर्वका देशहरुमा ।

विज्ञान र प्रविधिलाई आत्मसात नगर्ने मुलुक विकासको गतिमा सुस्त हुन्छ । अहिले नेपालीसँग विश्वका विभिन्न मुलुकमा काम गरेका, भ्रमण गरेका र आफ्नै आँखाले देखेका विज्ञान र प्रविधिले ल्याएका परिवर्तन र आविष्कारको अनुभव र प्रभाव छ । कृषि, शिक्षा, व्यापार, व्यवसाय, सूचना तथा सञ्चार लगायतका क्षेत्रमा विज्ञान र प्रविधिले ल्याएका अभूतपूर्व बद्लावहरुलाई उपयोग गर्न सक्ने हो भने विकासले फड्को मार्न सक्छ । मानव विकासका सूचकका प्रमुख आधार औसत आयु, साक्षरता प्रतिशत र प्रतिव्यक्ति आयलाई मान्ने विश्वव्यापी मान्यता छ । यी सूचकहरुमा सकारात्मक बढोत्तरीका लागि विज्ञान र प्रविधिका क्षेत्रमा भएका आविष्कार र नवप्रवर्तनहरुको उपयोग गरिनुपर्छ । शिक्षा, स्वास्थ्य, यातायात, सूचना, सञ्चार, उद्योग आदिमा विज्ञान र प्रविधिले ल्याएका परिवर्तनलाई प्रयोगमा ल्याउने हो भने मानव जीवनमा अति ठूलो परिवर्तन सम्भव हुन्छ ।

हुन त विज्ञान र प्रविधिका नकारात्मक पाटाहरु पनि छन् । विज्ञान र प्रविधिलाई मात्र अनावश्यक रुपमा जानेर वा नजानेर बढी महत्व दिँदा मानवीय मूल्यमान्यतालाई उपेक्षा हुन सक्दछ । मानवीय मूल्यमान्यतालाई ध्यान नदिँदा मानवताको मर्म मर्दछ । सदियौंदेखि चल्दै आएका परम्परा र मान्यता सबै राम्रा र नराम्रा दुवै हुँदैनन् । तिनीहरुलाई समयको सापेक्षतामा हेरिनुपर्दछ । परम्परागत मूल्यमान्यतालाई समयसापेक्ष परिवर्तन गर्न सक्नुपर्दछ । परम्पराभित्र रहेका असल पक्षलाई संरक्षण गर्दै र गलत र मानवताविरोधी पक्षलाई मिल्काउँदै अघि बढ्न जरुरी छ । एकपक्षीय रुपमा विज्ञान र प्रविधिलाई मात्र अघि बढाउँदा समस्या देखा पर्छ । तर विज्ञान र प्रविधिलाई जीवनका हरेक क्रियाकलापमा समावेश गर्नुपर्छ ।

हामीमा रहेका कु–संस्कार, कुरीति, अन्धविश्वास र मानवताविरोधी चालचलनहरुलाई धर्मको लेप लगाएर समाजमा बचाइएको हुन्छ । मानिस कुसंस्कारकाविरुद्धमा बोल्न नसकेर सहेर चुपचाप बस्दछ समाजको डरले । विज्ञान र प्रविधिले ल्याएका सर्वोत्तम परिवर्तनलाई पनि ग्रहण गर्न समाज र धर्मको मुख ताक्नुपर्ने दुःखदायी अवस्था हाम्रो समाजमा छ । समाजमा युगान्तकारी परिवर्तनलाई संस्थागत गरी मानव विकास सूचांकमा वृद्धि गर्न समाजका पश्चगामी मूल्यमान्यतालाई तिलाञ्जलि दिन आवश्यक छ, तर यो भने जति सजिलो छैन ।

संसारलाई बदल्नु छ, तर शुरु आफैंबाट गर्नुछ भने झैं हामीमा रहेका गलत संस्कार र मूल्यमान्यतालाई आगो लगाउन सक्नुपर्छ । हामीले आफ्नै टाउकोमा आगो लगाउन सक्नुपर्छ । यसको अर्थ हामीले गलत संस्कार र गलत मान्यतामा आगो लगाउनुपर्छ भन्ने हो । संसारमा दुःख छ भनेर ब्याख्या गर्नुभन्दा मुख्य कुरा संसारलाई बदल्नु हो भने यसका लागि हरेक क्षेत्रमा विज्ञान र प्रविधिको सदुपयोग गर्नुपर्दछ । विज्ञान र प्रविधिकै कारण आज विश्व एउटा सानो गाउँ जस्तो भएको छ । सूचना, सञ्चार, यातायात, औषधिशास्त्र, इञ्जिनियरिङ, कृषि, शिक्षण, बैंकिङ आदि क्षेत्रमा विज्ञान र प्रविधिका कारण अभूतपूर्व प्रगति भएको छ र यसले मानव सभ्यतालाई माथिल्लो उचाइमा लगेको छ ।

नेपालमा विज्ञान र प्रविधिलाई मानव हितमा उपयोग गर्ने एक सच्चा देशभक्त नागरिकको रुपमा महावीर पुनले आफ्ना राष्ट्रवादी, मानवतावादी अभियानहरु सञ्चालन गरिरहेका छन् । वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजना मार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मिएका हुन् । भेडाबाख्रा गोठाले बनेर आफ्नो बाल्यकाल बिताएका पुन गाउँमा एक जीर्ण अवस्थामा रहेको पूर्वाधारको अभाव भएको सरकारी विद्यालयमा पढेका थिए ।

पुनका पिता एक अवकाशप्राप्त ब्रिटिश गोर्खा सेना थिए र उनले आफ्नो परिवारलाई देशको दक्षिण भेगमा बसाइँ सर्ने र छोराको शिक्षामा लगानी गर्ने निर्णय लिनाले पुनको जीवनमा ठूलो परिवर्तन ल्यायो । आफ्नो उच्च माध्यमिक शिक्षा सकेर पुनले १२ वर्षसम्म विभिन्न विद्यालयमा पढाउने काम गरे । सन् १९८९ मा पुनले संयुक्त राज्य अमेरिकास्थित नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे । स्नातकोत्तर सकेर २४ वर्षपछि आफ्नो गाउँ नाँगी फर्किदा उनले दिगो शिक्षाको आवश्यकता महशुस गरे र जसको शुरुवात उनले हिमाञ्चल माविको स्थापनाबाट सुरुवात गरे । कम्प्युटर शिक्षा र आयस्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउँदै देशलाई विकासको बाटातिर अग्रसर गराउन थाले ।

सन् २००१ महावीर पुनको जीवनको स्वार्णिम वर्ष रहन गयो जब विश्वव्यापी पहुँच भएको सञ्चार बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पु¥याउने महत्वाकांक्षी योजनालाई विश्वसमुदायमाझ पेश गरिदियो । बीबीसीको उक्त प्रस्तुतिले उनको लोकप्रियता ह्वात्तै बढाइदियो । युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरुले पुनलाई आर्थिक सहयोग गरे र त्यस सहयोगबाट उनले नांगी र राम्चे आसपासका गाउँहरुमा वायरलेस इन्टरनेट सञ्चालन गर्न सफल भए । यसबाट उनले ‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’ सहित एसियाको नोबेल पुरस्कार भने मानिने ‘रोमन म्याग्स्यासे अवार्ड’ जस्ता विभिन्न पुरस्कार तथा सम्मानद्वारा सम्मानित हुन पाए । उनको हौसला अझ बुलन्द हुँदै गयो । मुलुक र मुलुकबासीका लागि विज्ञानप्रविधिका क्षेत्रमा अझै केही गर्ने उनमा उत्प्रेरणा प्राप्त भयो । उनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरे । यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठूलो आर्थिक सहयोगको खाँचो भयो उनलाई । नेपाल सरकार लगायत देशविदेशका नेपालीहरुको सहयोगले आज उक्त आविष्कार केन्द्रको काम, अभियान र गतिविधि तीव्र रुपमा अघि बढिरहेको छ ।

विज्ञान र प्रविधिले मानव जीवनमा सकारात्मक रुपान्तरण ल्याउने हो । हामी परिवर्तन चाहन्छौं । हामी यथास्थितिबाट उन्मुक्ति चाहन्छौं । पश्चगमन र अन्धविश्वासले जकडेको हाम्रो समाज र हाम्रो मानसिकता त्यति सजिलै परिवर्तन हुने सम्भावना पनि हुन्न । बाहिरी सभ्यताको जतिसुकै कुरा गरे पनि, लगाउने, खाने र बोल्ने कुरामा परिवर्तन ल्याए पनि तबसम्म साँचो परिवर्तन सम्भव हुँदैन, जबसम्म हामी साँचो रुपमा हृदयबाटै परिवर्तन हुन्नौ । विज्ञान र प्रविधिले मानवजातिका लागि दिएका असल कुराहरुकै कारण आज विश्व सभ्यताको यति विकास सम्भव भएको हो । मानिस असभ्य र जङ्गली अवस्थाबाट आजको आधुनिक अवस्थामा आउन र मानव जीवन सुखी र समृद्ध बन्न विज्ञानको सहयोग रहेको छ । मानव समाजमा गतिशिलताका लागि विज्ञान प्रविधिको अहम् भूमिका हुन्छ । विज्ञानले आविष्कार गरेका हरेक वस्तुलाई मानव कल्याणका लागि उपयोग गर्न सकेर सृजनात्मक कार्यका लागि सदुपयोग गर्न सक्ने हो भने विज्ञान–प्रविधि हरेक मानव जातिका लागि सदासर्वदा बरदान हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here