डुँडामारी सिमसार आवश्यकता होः सेर्मा

0
506

झिलझिले।

नगरभित्र गौरवका आयोजना सञ्चालन गर्ने क्रममा नगरकार्यपालिकाबाट वडा जाने सिलिङ्ग बजेट वडाको माग अनुसार हुन नसकेको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले स्पष्ट पारेका छन् ।

नगरभित्रका गौरवका आयोजनाहरु सञ्चालन भइरहेकोले ती आयोजना पनि वडाभित्रै सञ्चालन हुने हुँदा सिलिङ्ग बजेट केही खुम्चिएको उनले स्वीकार गरे । नगरका शिवसताक्षी, दोमुखा, चिल्लागढ जस्ता पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण, नगरको रिङ्ग रोड, नगरका ११ वटै वडाले नगरकार्यपालिकाको कार्यालय जोड्ने ट्रङ्क रोड जस्ता पूर्वाधार निर्माण भइरहेकोले वडाको सिलिङ्ग बजेट साविककै स्थितिमा रहेको नगर प्रमुख सेर्माले नगरबासीलाई सुनाए ।

उनले भने– ‘नगरले सञ्चालन गर्ने योजना पनि वडाभित्रैका आयोजना हुन्, वाटो, पुल, कलभर्ट लगायतका स्थायी संरचना निर्माण भइरहेका छन्, अब नगरबासीले यहाँ पुल भएन, त्यहाँ पुल भएन भनेर माग गर्ने अवस्था रहँदैन ।’ उनले भने– ‘आगामी वर्षदेखि वडामा जाने सिलिङ्ग बजेट वृद्धि हुन सक्छ, नगर गौरवका आयोजना दिनदिनै निर्माण सम्पन्न हँुदै आएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले आइतवार आयोजना गरेको २०७६÷०७७ को वडाको गतिविधि, खेलाडी, ज्येष्ठ नागरिक सम्मान र चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख सेर्माले नेपाल सरकारबाट गठित झापा जिल्लाको महारानी झोडा, लखनपुर, तोपगाछी, धरमपुर, सतासीधाम, र शिवगञ्ज क्षेत्रको जग्गा सम्बन्धी समितिले जग्गाको लगत संकलन गर्ने कार्य गरिरहेको बताउँदै बास्तविक सुकुम्वासीले केही दिनमा जग्गाधनी प्रमाण पुर्जा पाउने बताए । उनले भने– ‘राजश्वका विषयमा किसानका केही गुनासा छन्, सरकारले यस विषयमा पुनर्विचार गरोस् भन्नेमा शिवसताक्षी नगरपालिका सकरात्मक छ ।’

नगरप्रमुख सेर्माले केही आफ्नै साथीले नगरका विकासे गतिविधिका विषयलाई लिएर सामाजिक सञ्जालमा गरेको कटु आलोचनाले नगरलाई समृद्ध नबनाउने बताए । उनले भने– करोडौ रुपैयाँ खर्चेर सञ्चालन भइरहेका आयोजनालाई कतिपयले सुँगुरको आहाल बस्ने ठाउँ भनेर गरेको टिप्पणी प्रति नगर प्रमुख सेर्माले दुःख व्यक्त गरे ।

उनले भने– निर्माणाधीन डँुडामारी सिमसार क्षेत्रलाई भैंसीको र सुँगुर आहाल भनेर टिप्पणी गर्नुभएको छ, यो नगरको रहर होइन आवश्यकता हो ।’ कतिपय ठाँउमा व्यसायिक रुपमा करोडौं खर्चेर व्यवसायीले पर्यटकीय क्षेत्र निर्माण गरेर आम्दानी गरिरहेका छन् । डँुडामारी सिमसार सरकारले लगानी गरेर निर्माण गर्ने पर्यटकीय पूर्वाधार हो, जसले वर्षेनि नगरको आम्दानी बढाउँछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सभापति पर्शुराम ढँुगानाले वर्षौंदेखि जोतभोग गरिरहेका किसानलाई उपभोग र अघिका आयोगले दिएका कागजी प्रमाणका आधारमा जग्गाको स्वामित्व दिन बिलम्व गर्न नहुने बताए । उनले भने– सरकारले तोकेको राजश्व वुझाउन नगरबासीसँग सामथ्र्य छैन, राजश्वको विषयमा तीन तहकै सरकार र जग्गा दर्ता समितिले पुनर्विचार गर्नुको विकल्प छैन ।’ ढुंगानाले जग्गा दर्ता सम्वन्धी बनेको समितिलाई पार्टीले खुलेर सहयोग गर्ने पनि बताए ।

वडाध्यक्ष केहरसिंह बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, जग्गा दर्ता समितिका अध्यक्ष राधाकृष्ण खनाल, नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराई लगायतले शिवसताक्षी नगरको वर्षौंदेखिको जग्गा सम्बन्धी समस्या विकराल बन्दै गएको भन्दै त्यसलाई तत्काल समाधान गर्न सुझाए ।

कार्यक्रममा वडाको बस्तुस्थितिमाथि वडाध्यक्ष बस्नेतले र वडा सचिव पुष्पलाल पाण्डेले भावी योजना सार्वजनिक गरेका थिए । कार्यक्रमको सञ्चालन वडा नम्बर ८का कर्मचारी कुमारसिंह साँवाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here