२४ वर्षमा पनि बनेन चक्रपथ

0
732

दमक ।

२४ वर्ष बितिसक्दा पनि झापाको दमकमा निर्माण शुरु भएको चक्रपथले अझै पूर्णता पाएको छैन । २० वर्षअघि तत्कालीन समयमा जनप्रतिनिधिकै पहलमा चक्रपथको योजना शुरु भएको थियो । तर, उनीहरूको कार्यकाल सकिएको २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदै जनप्रतिनिधि त आए तर, चक्रपथ निर्माणले महत्व पाएन । जसका कारण अहिले सो योजना अलपत्र छ ।

जनप्रतिनिधिविहीन हुँदा डेढदशक कर्मचारीले स्थानीय निकाय चलाए । अहिले स्थानीय सरकारको संवैधानिक मान्यतासहित जनप्रतिनिधि स्थापित भएका छन् । तर, यसको ट्रयाक खुलाउने काम अझै पूरा भएको छैन । ३३ किलोमिटरको दमक चक्रपथको पूर्वपश्चिम राजमार्ग दक्षिण खोला किनारमा नै सडक परेको छ । जसका कारण ट्रयाक पूरा हुन बाँकी रहेको सडक डिभिजन दमकले जनाएको छ । कार्यालयका इञ्जिनियर विपीन ढुंगानाका अनुसार राजमार्ग दक्षिणमा करिब एक किलोमिटर ट्रयाक पूरा हुन बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा पर्ने यो सडकले केही समयअघि राष्ट्रिय राजमार्गको मान्यता पाएको छ । यो मान्यतासँगै बजेटको पनि व्यवस्था भएकाले यो कार्य समेत चाँडै पूरा हुने सडक डिभिजनको भनाई छ । राष्ट्रिय राजमार्गको मान्यता पाएसँगै यसमा आवश्यक बजेट संघीय सरकारले विनियोजन गर्ने भएकाले अब स्रोतसाधन अभाव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पूर्वाधार क्षेत्र संयोजन गर्ने सचिवालय सदस्य होमबहादुर थापाले बताए । दमकको चक्रपथ पूरा गर्ने दायित्व अब संघीय सरकारको भएकाले अब कुनै पनि कारणले यसको निर्माण नरोकिने उनको भनाई छ ।

३३ किलोमिटरको चक्रपथ निर्माणका लागि यो आर्थिक वर्षमा १७ करोड रुपैयाँ बिनियोजन भएको सडक डिभिजनले जनाएको छ । यसअघि समेत चक्रपथको केही भागमा कालोपत्रे भएको छ । केही ठाउँमा कालोपत्रे हुने क्रम जारी छ । पशुहाटदेखि उत्तरी र दक्षिणी भागमा केही कालोपत्रे भएको छ भने तारावारी–डिपू खण्डमा पनि प्रदेश सरकार मार्फत कालोपत्रे भइरहेको इञ्जिनियर ढुंगानाले जानकारी दिए । त्यस्तै ताराबारी ढाट पश्चिम दक्षिणी भागमा समेत ठेक्का प्रक्रिया पूरा भइसकेको जनाइएको छ । यस वर्ष बिनियोजित रकमले गर्नुपर्ने काम र हालसम्मको अवस्थाबारे जानकारी लिन चक्रपथ निर्माण कार्यको अनुगमन पनि गरिएको छ ।

दमक चक्रपथको अवधारणा आएको दुई दशक भए पनि निर्माण सुस्त रहँदै आएको छ । यसबीचमा चक्रपथ निर्माणको काम केही भए पनि अपेक्षित गति लिन सकेको थिएन । तर, अब यसको निर्माण कार्यले गति पाउने नगरपालिकाले जनाएको छ । नगरको दीर्घकालीन विकास र शहरीकरणलाई विकेन्द्रीत गर्ने लक्ष्यसहित चक्रपथको अवधारणा ल्याइएको नगर प्रमुख रोमनाथ ओलीले बताए ।

तत्कालीन समयमा समेत नगर प्रमुख रहेका ओलीले भने– ‘नगरका सबै क्षेत्रमा सहरीकरण विस्तार, नदी नियन्त्रण लगायतका लक्ष्यसहित चक्रपथको अवधारणा यसअघि जनप्रतिनिधि कै कार्यकालमा ल्याइएको थियो । तर, पूरा हुन सकेको थिएन । अब यसको निर्माण कार्य तीव्ररुपमा अघि बढ्छ ।’ चक्रपथ दमकको एउटा महत्वपूर्ण योजना हो । यसले दमकको आर्थिक विकासमा पनि महत्वपूर्ण सहयोग पु¥याउने नगरकी उपप्रमुख गीता अधिकारीले बताइन् । चक्रपथ पूरा भएपछि नगरका उत्तरी तथा दक्षिणी क्षेत्रस्थित कृषि क्षेत्रबाट कृषि उपज मुख्य बजार क्षेत्रसम्म ल्याउन र अन्य उपभोग्य वस्तु ग्रामीण क्षेत्रसम्म पु¥याउन पनि सहज हुने उनले बताइन् । चक्रपथ बनेपछि स्थानीयस्तरमा स्वास्थ्य, शिक्षा लगायतका सेवाको उपभोग सहज हुनेछ ।

त्यस्तै चक्रपथ निर्माणले नगरको सहरीकरणको विकास समेत सबै क्षेत्रमा पुग्ने र जनघनत्वको व्यवस्थापनमा समेत यसले सहयोग पु¥याउने अधिकारीले बताइन् । नगरका तत्कालीन १९ मध्ये १५ वटा वडाहरूलाई छुने स्थान, रतुवा र मावा खोलाको कटान नियन्त्रण पनि हुने अपेक्षासहित चक्रपथको अवधारणा ल्याइएको थियो । तर, जनप्रतिनिधिको कार्यकाल सकिएको, द्वन्द्वको समय आएको र स्थानीय तह जनप्रनिधिविहीन भएका कारण यसले अपेक्षित गति नपाएको चक्रपथ निर्माण समितिका अध्यक्ष समेत भएका वडा नं. १० का अध्यक्ष बोधराज न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here