झापा।

राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको पुष्टि नभएको ठहर गरेको छ ।
आयोगका प्रवक्ता एवम् सचिव वेद भट्टराईका अनुसार आयोगको अनुसन्धानबाट पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको पुष्टि हुन नसकेको हो । आयोगको सोमवार बसेको बैठक त्यस्तो ठम्याइमा पुगेको बताइएको छ । त्यसैले आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका एक सदस्यले बीबीसीलाई बताए ।
असार पहिलो साता विप्लवको दलका सर्लाही जिल्लाका नेता पौडेल लालबन्दी नगरपालिकास्थित जंगलमा भएको भनिएको भिडन्तमा मारिएको प्रहरीले बताएको थियो । तर, प्रहरीले नियन्त्रणमा लिएर उनको हत्या गरेको भनी संसद्मा समेत कुरा उठेको थियो ।
उक्त घटनाबारे मानव अधिकार आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा आयोगले त्यस्तो निर्णय गरेको हो । अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाए पछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुवै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
गृहमन्त्रालयले दिएको प्रतिवेदनले पनि भिडन्तमै मारिएको देखाएको अधिकारीहरूले बताएका थिए । तर आयोगको ठहर सरकारको भनाइभन्दा विपरीत आएको छ । विप्लवको दलले पनि आफ्नो नेताको मृत्यु दोहोरो भीडन्तमा नभइ नियन्त्रणमा लिएर उनको हत्या गरिएको बताएको थियो । पौडेलका परिवारका सदस्यहरूले पनि त्यस्तै दाबी गरेका थिए ।


























