सेनाको एक जवान एक बिरुवा रोपण अभियान

0
932

तुलसीप्रसाद निरौला / बिर्तामोड।

शान्ति सुरक्षा कायम राख्न विश्वमै अब्बल मानिएको नेपाली सेना पछिल्लो समय वातावरण संरक्षणमा समेत सक्रिय भएको छ ।

नेपाल सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियानलाई साकार रुप दिनका लागि नेपाली सेनाले पनि एक जवान एक बिरुवा (फलफूलको बोट) रोपण अभियान लागू गरेर वातावरण संरक्षणमा सक्रिय भएको हो ।
सोही अभियान बमोजिम गत असार १३ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले जंगीअड्डा हाताभित्र विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेर बिरुवा रोपण अभियानको शुभारम्भ गरेका थिए । प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन–२०७५ को लक्ष्य अनुसार गो ग्रीन क्याम्पियन अभियान अन्तर्गत विभिन्न जातका फलफूलका बिरुवा रोपण कार्यक्रम सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैक्रममा झापाको कमल गाउँपालिकामा रहेको सेनाको २१ नम्बर बाहिनी परिसरमा वृक्षरोपण गरिएको छ । प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन–२०७५ को लक्ष्य अनुसार सेनाको २१ नम्बर बाहिनीको संयोजनमा ‘एक सैनिक एक फलफूलको बिरुवा’ अभियान अन्तर्गत विभिन्न जातको फलफूलको बिरुवा बाहिनी परिसरमा रोपिएको हो । बृक्षरोपण कार्यक्रमको उद्घाटन प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले गरेका थिए ।

बाहिनी परिसरमा एक हजार चार सय आँप, आठ सय लिची, सात सय रुख कटहर, एक सय नरिवल, एक हजार पाँच सय सुपारी, एक सय एभोकाडो, पाँच सय केरालगायतका बिरुवा रोपिएको २१ नम्बर बाहिनी पति डा. आशबहादुर तामाङ (पीएचडी)ले जानकारी दिए । एक हजार बिरुवा डिभिजन वन कार्यालय झापाले प्रदान गरेको र बाँकी बाहिनीले नै खरिद गरेर रोपण गरिएको उनले बताए ।

प्रदेश नम्बर १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत, रक्षा मन्त्रालयका सचिव रेशमराज पाण्डे, पूर्वी पृतनापति उपरथी अनन्त कार्की, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले लगायत स्थानीयबासी समेतले बिरुवा रोपेका थिए ।

कार्यक्रममा प्रदेश नम्बर १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतले सरकारले प्रदेश नम्बर १ मा ४० लाख फलफूलसहित विभिन्न जातजातिका बिरुवा रोपण गर्ने कार्यक्रम रहेको बताए । उनले नेपाली सेनाले बिरुवा रोपण कार्यक्रम गरेर वातावरण संरक्षणमा मद्दत पु¥याएको बताए ।

यसैबीच नेपाली सेना र पूर्वी पृतनाको पहल तथा कोशिटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ शत्रुभञ्जन गुल्मको संयोजनमा श्रीपुर हरिपुरमध्यपूर्वी क्षेत्रमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश नम्बर १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत, प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, पूर्वी पृतनापति उपरथी अनन्त कार्की लगायत पाँच सय जनाभन्दा वढीको सहभागितामा विभिन्न जातका फलफूल तथा अन्य विरुवाहरु गरी करिब सात हजार पाँच सय वटा र श्रीलंका टप्पु क्षेत्रमा छ हजार वटा गरी करिब १३ हजार पाँच सय बिरुवा रोपिएको हो ।

मध्यवर्ती इलाकास्थित १३ विगाहमध्ये ११ विगाह क्षेत्रमा विभिन्न सात प्रजातिका फलफूल र दुई विगाह क्षेत्रमा अन्य आयमूलक जातका बिरुवाहरु रोप्ने गरी सञ्चालित बृक्षरोपण कार्यक्रममा आँप, कटहर, अम्वा, कागती, बेल, गुलमोहर, जात लगायतका बिरुवाहरु रोपिएको बताइएको छ । नेपाली सेनाले सञ्चालन गरेको गो ग्रीन क्याम्पियन अभियान अन्तर्गत सञ्चालित उक्त कार्यक्रमहरु उपलब्धिमूलक र परिणामुखी हुने विश्वास लिइएको प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here