भद्रपुर।

नाडेप लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । नाडेप कर्मचारी संघ नेपाल र नेराकस नाडेपमा आवद्ध कर्मचारीहरु कात्तिक ३ गतेदेखि आन्दोलित बन्दा झापाका ६ वटासहित देशभरका ७८ वटा शाखाको कामकाज ठप्प भएको छ ।
संघद्वारा जारी विज्ञप्तिमा नाडेप लघुवित्त वित्तीय व्यवस्थापन पक्षबाट विभिन्न बहानाबाजीमा आ–आफ्नो स्वार्थ अनुरुप उच्च व्यवस्थापनहरु गुट–उपगुटको खेलमा लागि संस्थालाई बन्धक बनाई संस्था तथा कर्मचारीहरुको भविष्यमाथि कुठाराघात हुने गरी कार्य गर्न तल्लिन रहेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा संस्थाको काम कार्वाही व्यवस्थापकीय ढंगबाट छलफल गरी निर्णय गर्नुपर्ने प्रचलित नियमलाई उल्लंघन गरी सम्पूर्ण कार्य सञ्चालक समितिबाट हुने गरेको, संस्थामा भाखा नाघेको कर्जा बढिरहेको अवस्थामा त्यसलाई व्यवस्थित गर्नुपर्नेमा कर्मचारीहरुलाई सरुवा तथा खारेजीको योजना बनाई पत्र प्रेषित गरेको, कर्मचारीहरुको नियुक्ति प्रक्रियामा भेदभाव गरेको, नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत गैरकानूनी रुपमा सेवासुविधा तथा पारिश्रमिक हत्याएका कठपुतली प्रमुख कार्यकारी अधिकृतलाई पदीय मर्यादामा बसिरहन शोभनीय नभएको भन्दै तत्काल एक सूत्रीय राजीनामा माग राखिएको नाडेप कर्मचारी संघ नेपालका संयोजक केशवराज कार्की (विपीन)ले जानकारी दिए ।
कर्मचारीले माग उल्लेख गरिएको विज्ञप्तिको बोधार्थ नाडेप लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा सदस्यहरु, राष्ट्र बैंक, गर्भनर÷डेपुटी गर्भनरको कार्यालय बालुवाटार, राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभाग, श्रम कार्यालय, बंैक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल र पेशागत महासंघ नेपाललाई दिइएको छ ।
‘पटक–पटकको आन्दोलन पश्चात नाडेप कर्मचारी संघ नेपाल र नाडेप लघुवित्त वित्तीय संस्थाका व्यवस्थापन बीच २०७६ भदौ २ गते भएको सहमति हालसम्म कार्यान्वयनमा नलगिएको भन्दै हामी आन्दोलित बनेका हौ’– संयोजक कार्कीले भने– ‘हामीसंग गरिएको सहमति कार्यान्वयनमा नआएसम्म शान्तिपूर्ण आन्दोलन अनिश्चितकालसम्म जारी रहन्छ ।’































