इजरायली प्रविधिको वायो ग्यास जडान

0
696

लक्ष्मण ढकाल / अर्जुनधारा।

अर्जुनधारा नगरपालिका–७की ४७ वर्षीया कमला अधिकारी मंगलवार निक्कै खुशी देखिइन् । उनी खुशी देखिनुको एउटै मात्र कारण थियो खाना पकाउने नयाँ प्रविधिको ग्यास जडान ।

अधिकारीको घरमै पुगेर अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले इजराइली प्रविधिबाट निर्मित होम वायोग्यास प्लान्टमार्फत जडित ग्यास चुल्हा बाल्दा उनी निक्कै खुशी देखिएकी हुन् ।

२०६५ सालमा ३० हजार रुपैयाँ खर्च गर्दै गोवर ग्यास जडान गरिए पनि दुई महिना राम्रो नचलेको र पुनः रिपेयरिङ गर्दा समेत खाना पकाउन ग्यास नै नपुगेर आजित भएकी अधिकारीको घरमा होम ग्यास जडानसँगै कमला– होप्रकाश अधिकारी दम्पत्ति नै खुशी देखिएका थिए ।

नगरप्रमुख रानाले ग्यास चुल्ला बाल्दा कमला भन्दै थिइन्– अब बल्ल ढुक्क भयो । अर्काे गोबर ग्यासले वाक्क बनाएको थियो, चिसो शुरु हुने वित्तिकै ग्यास नै बल्दैन थियो, पटक– पटक विग्रिरहने गरेपछि सिलिन्डर ल्याइयो त्यो पनि बेला–बेलामा सर्टेज हुने हुँदा खाना पकाउन औधी समस्या थियो । नेपाल वायो ग्यास प्रवद्र्धन संघ प्रदेश नम्वर १ अन्तर्गत लोक कल्याण गोवर ग्यास कम्पनीले अर्जुनधारामा पहिलोपटक इजरायली मोडलको वायो ग्यास जडान शुरु गरेको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख रानाले नयाँ प्रविधिको गोवर ग्यास भएकाले यसलाई प्रयोग गरेर सफल भए नगरका सवै कृषकका घरमा यो प्रविधिको ग्यास जडानमा नगरले सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल वायो ग्यास प्रवद्र्धन संघ प्रदेश नम्वर १का सचिव सन्तोष उप्रेतीले विशेष कुकिङ स्टोभसहित २० हजार रुपैयाँको लागतमा बन्ने ७ घनमिटरको प्लान्टबाट उत्पादित ग्यासले ९ जना परिवारलाई पुग्ने बताए । अब निकट भविष्यमा ५ घनमिटर र २ घनमिटरका ग्यास प्लाण्ट पनि बनाइने बताइएको छ । कार्यक्रम नेपाल वायो ग्यास प्रवद्र्धन संघ प्रदेश नम्वर १ का अध्यक्ष शान्तिराम बराल (रुपेश)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

खाडल खन्नु नपर्ने, २ घण्टामा जडान गर्न सकिने, जडानका लागि गिटीबालुवा नचाहिने, शुद्ध मिथेन ग्यास उत्पादन हुने, १५ वर्षसम्म टिकाउ हुने यसका विशेषताहरु हुन्– संघका प्रदेश सचिव उप्रेतीले भने । सन् २०१२मा यो प्रविधिको अवधारणा विकास भए पनि २०१५ मा मात्र यो प्रविधिको शुरुवात भएको भन्दै उनले भने– इजरायली ऊर्जा विज्ञहरु ओसिक एफ्राती, याइर टेलर र एरेज लाञ्जेरले बायोग्यास प्रविधिलाई आधुनिकीकरण गर्ने क्रममा उपयोगी, मितव्ययी, वातावरणमैत्री यो होम बायोग्यास प्रविधिको आविष्कार गरेका हुन् । हाल यो संसारका ९९ सय वटा देशमा फैलिइसकेको छ ।

गोवर ग्यास उद्घाटन कार्यक्रममा संघीय समाजवादी फोरमका नेता सिर्जनलाल चौधरी, अर्जुनधारा पशु सेवा शाखाका प्रमुख पदम राई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत होमप्रकाश अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here