दमौली,
जिल्लाका चार ठाउँमा प्रहरी चौकी स्थापना गरिने भएको छ । स्थानीयवासीको माग र आवश्यकतालाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले जिल्लाका तीन स्थानीय तहका चार ठाउँमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो ।
भीमाद नगरपालिका–१ डुम्रेवेशी, घिरिङ गाउँपालिका–१ पुट्टार, घिरिङ गाउँपालिका–३ घिरिङ र व्यास नगरपालिका–७ कलेस्तीमा प्रहरी चौकी निर्माण गरिन लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक सिलवालका अनुसार व्यास नगरपालिका–७ कलेस्तीमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीको स्तरवृद्धि गरेर प्रहरीचौकी बनाउन लागिएको हो भने अन्य तीन ठाउँमा नयाँ प्रहरी चौकी निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ ।
कलेस्ती प्रहरी चौकीमा यसअघि पाँच प्रहरी कार्यरत छन् । नयाँ स्थापना हुने प्रहरी चौकीमा १५÷१५ जनाका दरले प्रहरी खटाइनेछ । नेपाल सरकार मन्त्रिपरिषद्को गत असोज ७ गतेको निर्णयअनुसार नेपाल प्रहरीका लागि स्वीकृत दरबन्दीअनुरुपका प्रहरी एकाइ भौतिक पूर्वाधारको उपलब्धता तथा स्थापनाका लागि आवश्यक साधनस्रोतको व्यवस्थापनलाई मध्यनजर गरी क्रमिकरुपमा गर्दै जाने नीति लिइएको थियो ।
प्रहरी चौकी स्थापनाका लागि भीमाद–१ डुम्रेबेँसीमा जग्गा व्यवस्थापन भइसकेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसहितको टोलीले उक्त वडाको ढड्यान तिवारीडाँडामा करीब १५ रोपनी सार्वजनिक जग्गाको व्यवस्थापन गरेको छ ।
प्रहरी उपरीक्षक सिलवालका अनुसार व्यास–७ मा पनि प्रहरी चौकी स्थापनाका लागि वडाध्यक्षसहितको टोलीले सम्भावित जग्गाको निरीक्षण गरिसकेको छ ।




























