झापाका सहकारी ः : सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाह

0
658

झापा,

झापाको बिर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो ।
सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आय आर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउन समेत सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप नगद उपहार थालिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दंगालले बताउनुभयो । उहाँले भन्नुभयो –‘ सुत्केरी अवस्थामा पोषिलो खानेकुराको आबश्यक पर्छ, तसर्थ हामीले यस्तो अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्य नजर गर्दै पौष्टिक आहारका लागि जसले महिनामा जति रुपैयाँ बचत गर्नुहुन्छ त्यत्तिनै रुपैयाँ सहकारीबाट दिन्छौं ।’
सहकारीमा आबद्ध महिलाहरुले सुत्केरी हुँदा न्यूनतम पाँचसय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म उपहार पाउनु भएको छ सहकारीका अध्यक्ष दंगालले भन्नुभयो –‘महिनामा पाँचसय बचत गर्ने महिलाले सुत्केरी हुँदा पाँच सय रुपैयाँ पाउनु हुन्छ भने मासिक पाँच हजार रुपैयाँ जम्मा गर्ने महिलाले सुत्केरी हुँदा पाँच हजार रुपैयाँ नै पाउनु हुन्छ ।
सहकारीले यो संगै नवजात शिशुको निःशुल्क खाता खोल्दै पाँचसय रुपैयाँ देखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दंगालको भनाई छ । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा आवद्ध ४१ जना महिला सुत्केरी भएको र उनीहरुलाई ७७ हजार रुपैयाँ सहकारीले सुत्केरी सुविधा प्रदान गरेको छ । त्यस्तै ४१ जना नवजात शिशुको निःशुल्क खाता खोल्दै ४९ हजार पाँच सयरुपैयाँ बचत गरिदिएको अध्यक्ष दंगालले बताउनुभयो ।
त्यसोत कुनैपनि गर्भबती महिलाको स्वास्थ्य संस्थामा प्रसुति गराए सरकारले प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्ने गरेको छ । तर, सहकारीले समेत आफ्ना शेयर सदस्यका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपछि ग्रामीणदेखि सहरसम्मका महिलालाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ ।
सहकारीमा आवद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाह गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाह गर्दै आएको सहकारीका अध्यक्ष दंगालले बताउनुभयो । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा आवद्ध ५ जनाको निधन हुँदा चार लाख २८ हजार ५ सय ९७ रुपैयाँ ऋण मिनाह भएको अध्यक्ष दंगालले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘ कनकाई नगरपालिका –७ निवासी पुजा दाहाल सापकोटाका श्रीमानको निधन हुँदा एक लाख १४ हजार ८ सय ४५ रुपैयाँ ऋण मिनाह भएको छ । त्यस्तै कनकाई – ३ कै आशिवा खातुनका श्रीमानको निधन हुँदा एक लाख ७५ हजार रुपैयाँ ऋण मिनाह गरिएको छ ।’
सहकारीले उनीहरुजस्तै बिर्तामोड – ५ निवासी लीला सिंहका श्रीमानको निधन हुँदा ४३ हजार सात सय १०रुपैया ँभद्रपुर – ७ निवासी भोटलाल गणेशको श्रीमतीको निधन हुँदा ६९ हजार ५ सय २३ रुपैयाँ ऋण मिनाह र शिवसताक्षी – ११ का चोले मेचेको श्रीमतीको निधन हुँदा २५ हजार ४ सय ९७ रुपैयाँ ऋण मिनाह गरेको बताइएको छ ।
जिल्लामा सञ्चालित अधिकांश सहकारीले सहकारीले सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत यस्तै खाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा विपन्न समुदायका महिलालाई सबैभन्दा बढी फाइदा पुग्ने गरेको जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताउनुभयो । उहाँले भन्नुभयो – झापाका सबैजसो महिला कुनै न कुनै सहकारीमा आवद्ध छन् । जसका कारण उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकारीबाट सेवा लिएका छन् ।’
यता बिर्तामोड नगरपालिका भित्रै रहेको अर्काे एक सहकारीले बिर्तामोड नगरभित्र भित्रिएका नब दुलहीलाई हजार उपहार प्रदान गर्दै आएको छ । तर, दुलाह वा उनको परिवार बिर्तामोडमा रहेको सृजनशील वचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएको हुनुपर्छ । सहकारीमा सबै दुलहीलाई आवद्ध गराउँदै स्वावलम्बी बनाउन सहकारीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ ।
विवहमा हुने फजुल खर्चलाई घटाउँदै बचत गर्ने बानीको विकासका लागि सहकारीले नव दुलहीलाई सहकारीमा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ बचत गर्ने कार्यक्रम अघि सारेको सहकारीका अध्यक्ष डम्वर विमलीले बताउनुभयो । त्यस्तै सहकारीमा आवद्ध शेयर सदस्य भएका घर भित्र सुत्केरी भएका नावालकको नाममा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रम समेत सहकारीले शुरु गरेको अध्यक्ष विमलीको भनाई छ । जसका कारण बालबालिकाको भविश्य सुरक्षित हुने र वचत गर्ने वानीको विकासले भावी दिनमा फाइदा पुग्ने सहकारीले लक्ष्य लिएको बिमलीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here